१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

दुई वर्षभित्र भेरीको पानी सुर्खेतमा

सुर्खेत- सुर्खेत उपत्यकाको खानेपानीको दीर्घकालिन समस्या समाधानका लागि भेरीको पानी ल्याउने प्रक्रिया सुरु भएको छ। खानेपानी तथा ढल निकास विभागले झुप्राखोला र भेरीको दोभानबाट ‘मल्टीपम्प’ सिष्टमबाट १४ किलोमिटर दूरीमा रहेको सुब्बाकुनामा पानी झारेर उपत्यकामा वितरण गर्ने तयारी गरेको हो।

‘प्रारम्भीक सर्भे सम्पन्न गरेर ठेक्का प्रक्रियामा जाँदैछौं’ खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले भने, ‘दुई वर्षभित्र सबै उपत्यकाबासीका घरघरमा भेरीको पानी पुर्‍याउने हाम्रो लक्ष्य छ।’ उनले चालू आर्थिक वर्षमा भेरीमा मल्टीपम्प जडान र सुब्बाकुनामा इन्टेक निर्माणको काम सम्पन्न हुने बताए। अर्को वर्षको अन्त्यसम्ममा उपत्यकाबासीका घरघरमा पानी पुर्‍याइने बताए।

भावी संघीय राज्यको राजधानीका रुपमा रहेको सुर्खेत उपत्यकाको खानेपानीको दीर्घकालिन समाधानका लागि आयोजना तोकिएकै समयमा सम्पन्न गर्नका लागि मन्त्रालयस्तरबाटै संयन्त्र परिचालन गरिने उनको भनाई छ । आयोजनाले पूर्णता पाएमा सुर्खेत उपत्यकामा ३० वर्षसम्म खानेपानीको समस्या नहुने उनको भनाई छ । ९० करोड रुपियाँको लागतमा निर्माण सम्पन्न हुने आयोजनाबाट भेरी नदीबाट दैनिक दुई करोड लिटर पानी उपत्यकामा भित्रिने छ । अहिले नै उपत्यकामा पानीको माग दैनिक एक करोड लिटर छ ।

उपत्यकामा खानेपानीको आपूर्ति गर्दै आएको झुप्रा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अनुसार उपत्यकामा अहिले झुप्रा खोलालगायतका विभिन्न स्रोतबाट दैनिक ८६ लाख लिटर पानी वितरण भइरहेको छ । ‘अहिले नै उपत्यकाका ३५ हजार घरधूरीका लागि एक करोड लिटर पानी आवश्यक छ’ संस्थाका अध्यक्ष कुलमणि देवकोटाले भने, ‘हामीले १४ हजार घरधूरीलाई दैनिक ८६ लाख लिटर पानी मात्रै पुर्‍याउन सकेका छौं ।’ झुप्राले भेरीको पानीलाई दीर्घकालिन समस्या समाधानको उपाय बताएको छ । भेरीको पानी उपत्यकामा आइनपुग्दासम्मका लागि झुप्राले मध्यकालिन आयोजनाका रुपमा खरीबोरी खोलाको काम अघि बढाएको छ । खरीबोरी खोलाबाट असारभित्रमा प्रतिसेकेण्ड ३५ लिटर पानी उपत्यकामा भित्रिने छ ।

खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्टले पम्पिङमार्फत सुरु हुन लागेको यो आयोजना नेपालकै ठूलो हुने बताए । उनले इन्टेक, पम्पिङ र रिर्जववायरको काम असार मसान्तभित्र सम्पन्न हुने बताए । ‘पम्पिङमार्फत पानी तानेर देशका अन्य ठाउँमा पनि वितरण गरेका छौं’ उनले भने, ‘यो आयोजना अहिलेसम्मकै ठूलो हो ।’ उनले विभागसँग दक्ष जनशक्ति र प्रविधि रहेको भन्दै तोकिएकै समयमा उपत्यकामा भेरीको पानी आउने दावी गरे ।

प्रकाशित: १४ फाल्गुन २०७३ १४:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App