चितवन राष्ट्रिय निकुञ्जमा गएको दुई दिनमा दुईवटा गैँडा मृतावस्थामा भेटिएका छन्। वैशाख २६ र २७ गते ती गैँडा मृत भेटिएका हुन्।
निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार २६ गते कसरा क्षेत्रको तमोर ताल क्षेत्रमा चार महिनाको पोथी गैँडा र २७ गते सौराहाको पटना क्षेत्र राप्ती नदी किनारमा भाले गैँडा मृतावस्थामा भेटिएको हो। भाले गैँडा दुई वर्ष छ महिनाको रहेको उनले जानकारी दिए।
उनका अनुसार दुवै गैँडा प्राकृतिक कारणले मरेका हुन्। मृत भेटिएका गैँडाको खाग र खुर दुवै सुरक्षित अवस्थामा रहेको उनले बताए। उनका अनुसार चालु आर्थिक वर्षको हालसम्म चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा मृत भेटिएको गैँडाको सङ्ख्या १८ पुगेको छ। रासस
प्रकाशित: २८ वैशाख २०८० १२:५३ बिहीबार