घाँटी छिनाइएको अवस्थामा सर्लाहीमा एक जना पुरुषको शव भेटिएको छ । घटना सर्लाहीको हरिपुर्वा नगरपालिकाको भएको प्रहरीले जनाएको छ।
हरिपुर्वा नगरपालिका १ पथरा पुलभन्दा करिब पाँच सय मिटर पर मसलाको रुख भएको झाडीमा घाँटी छिनाइएको शव एकातिर र टाउको अर्कोतिर फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। जिउ र टाउको दुरी बिसदेखि पच्चीस मिटर भएको प्रहरीको भनाइ छ।
घटनाबारे थाहा पाउनासाथ घटनास्थल पुगेको प्रहरीको टोलीले अनुसन्धान गर्दा मृत भारत बिहारको सीतामढी जिल्ला सोनबरसा ग्राम पंचायत वडा नम्बर ९ का रामबाबु महताको करिब २८ वर्षको छोरा शेखर सुमन भन्ने सिकु महतो भएको खुलेको छ। घटनाको मुचुल्का पश्चात मृतक लासलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत डिएसपि कैलाश राईले जानकारी गराएका छन्।
प्रकाशित: २८ वैशाख २०८० ०५:४९ बिहीबार