६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बुढेसकालको दुःख बिसाउने चौतारी

काठमाडौं- 'मखन चोरी, हाँडी फोरी साह्रै सतायौ

हे ईश्वर कृष्णलाई किन मतायौ?'

स्पिकरमा भजन बज्यो, कीर्तिपुर पाँगाकी ९२ वर्षीया न्हुच्छेमाया महर्जन ताली बजाउँदै छमछम नाचिन्। उमेरसँगैको अशक्तताले उनको आत्मबललाई कति पनि थिचेजस्तो लाग्दैन। 'घर बस्दा अक्सिजन लगाएर बस्नुपर्थ्याे, यहाँ आएपछि फूर्तिली भएकी छु,' बुधबार बिहान कम्मरमा हात राखेर नाच्दै गरेकी उनले भनिन्। पाँगास्थित नित्यनाथ मन्दिरसँगैको सामुदायिक भवन पहिलो तलामा नाचगान गर्नु उनको दैनिकी हो।

ज्येष्ठ नागरिकका लागि यहाँको सामुदायिक भवन थकान मेट्ने चौतारी बनेको छ, दैनिक ५० देखि ६० ज्येष्ठ नागरिक नाचगान गर्न आउँछन्।

उनीजस्तै ६० वर्ष नाघेका ज्येष्ठ नागरिकका लागि यहाँको सामुदायिक भवन थकान मेट्ने चौतारी बनेको छ। भवनमा आफूसहित दैनिक ५० देखि ६० ज्येष्ठ नागरिक नाचगान गर्न आउने अर्जुन महर्जन बताउँछन्।  पाँगाको ज्येष्ठ नागरिक सेवा केन्द्रले उनीहरुलाई हरेक दिन भेला गर्दै आएको छ।

पाँगाकै सरस्वती महर्जन पति बितेपछि ६ वर्षदेखि एक्लो जीवन बिताइरहेकी छन्। उनले ३५ वर्षपहिले राणाको दरबारमा काम गर्थिन्। सँगै काम गर्ने नेवारसँग उनको प्रेमविवाह भयो। उनी भने अर्यालकी छोरी हुन्। माइतीघर धादिङ बताउने उनले भनिन्, 'आफ्नो कोखमा सन्तान भएन, पति स्वर्गवास भएपछि एक्लो जीवन बिताउनुपर्‍यो। जीवन नै खल्लो लाग्न थालेको थियो।'

गएको वैशाखदेखि ज्येष्ठ नागरिकका लागि दैनिक भेला हुने कार्यक्रम थालेपछि उनको खल्लोपन मेटिएको छ। 'भेलामा आफूजस्तै दिदीबहिनी भेटिने भएकाले दुःख सबैको उस्तै हो भनेर चित्त बुझाउन पाइएकी छ,' उनले भनिन्।

कीर्तिपुर दथलकी ८० वर्षीया जगतमाया महर्जन पनि १२ वर्षदेखि एक्ली छन्। आफन्तको घरमा बस्दै आएकी उनका लागि ज्येष्ठ नागरिकको भेला खुसी मनाउने थलो हो। उनी भन्छिन्, 'खुसी पनि सबैको उस्तै त हो नि।' जगतमायाको कुरामा सही थाप्दै सरस्वती भन्छिन्, 'दुःखमा सबैको आँखामा आँसु आउँछ, खुशीमा सबैको ओठमा हाँसो।'

हरेक दिन हुने भजन र प्रवचनले दुःख बिर्सेर बाँच्न सिकाएको सरस्वतीको अनुभव छ।

ज्येष्ठ नागरिक भेलामा सहभागी हुँदा रमाइलो लाग्ने पानबहादुर महर्जन बताउँछन्। एउटा खुट्टामा प्यारालाइसिस भएका उनी भन्छन्, 'घरमा बसिरहँदा छोरानातिलाई कचकच गरेजस्तो लाग्छ। यहाँ आउँदा आफू शारीरिक रुपमा अशक्त भएको पनि बिर्सन्छु।'

पाँगाका ज्येष्ठ नागरिकले ०६५ मा गठन गरेको ज्येष्ठ नागरिक क्लबले दिवा सेवाको रुपमा ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गरेको हो। केन्द्र बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म ज्येष्ठ नागरिकका लागि खुला रहने अर्जुन महर्जनले जानकारी दिए। ज्येष्ठ नागरिक भेलालाई समुदायका मानिस स्वेच्छालेसहयोग गर्छन्। महर्जन भन्छन्, 'दैनिक चार–पाँच स्थानीय आएर खाना बनाउने, सरसफाइ गरिदिने गर्छन्।'

दैनिक भेला हुँदा शारीरिक र मानसिक रुपमा समेत स्वस्थ महसुस हुने गरेको ज्येष्ठ नागरिक बताउँछन्। केन्द्रमार्फत ज्येष्ठ नागरिकले हरेक महिना विभिन्न धार्मिक तथा ऐतिहासिक स्थल समेत भ्रमण गर्ने गरेको महर्जनले बताए।

'उमेरमा घुम्न–डुल्न पाइएन। अहिले छोरानातिलाई फुर्सद हुन्न। त्यसैले साथीभाइसँगै मठमन्दिर लगायत ठाउँमा घुम्न पाएकी छु,' ७८ वर्षीया नन्दमाया महर्जनले सुनाइन्। ज्येष्ठ नागरिक भ्रमणका लागि उनीहरुकै परिवारले स्वेच्छाले खर्च जुटाउँछन्। 

प्रकाशित: ५ फाल्गुन २०७३ ०२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App