१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

कुपोषणले बालिकाको मृत्यु

बैतडी- कुपोषणको उपचार नहुँदा चौखाम–९ की मुना धामीकी पाँच वर्षीया छोरी बिनाको मृत्यु भयो। पाँच किलोमात्रै तौल भएकी बिनाको समयमै उपचार नहुँदा गत सोमबार राति १० बजे मृत्यु भएको स्थानीय जनकसिंह धामीले बताए। जन्मँदै सुकेनासले सताइएकी बिनालाई उपचारका लागि गत महिना उपक्षेत्रीय अस्पताल डँडेल्धुरा लगिएको थियो। डँडेल्धुरालेे धनगढी रिफर गरे पनि आर्थिक अभावले लैजान नसक्दा घरमै मृत्यु भएको हो।

‘मैले नै आफ्नै खर्चमा आमाछोरीलार्ई डँडेल्धुरा लगेको थिए, धनगढी लगेर उपचार गराउन खर्च जुटाउन नसक्दा बच्चीको मृत्यु भयो', धामीले भने। चिकित्सकले धनगढीमा रहेको पोषण पुनर्स्थापना गृहमा उपचारका लागि जान सल्लाह दिए पनि खर्च नहुदाँ जान नसकेको उनले बताए।

४० वर्षीया मुनाका अरु सन्तान दुई छोरी र एक छोरा भने स्वस्थ छन्। कान्छी छोरीमा जन्मँदै कुपोषण भएको धेरै पछि थाहा भएको हो। कुपोषण भएको थाहा पाएपछि पनि समयमै उपचार हुन नसक्दा ज्यान गुमाउनुपरेको हो।

पोषणयुक्त खानेकुरा समयमा नख्वाएकै कारण बच्चामा कुपोषण भएको तीन महिना अघि मात्रै स्वास्थ्य चौकीबाट थाहा पाइन्। मुनाका पति क्षयरोगका बिरामी छन् र पनि उनी मजदुरीका लागि भारतको दिल्लीमा छन्। घरको आर्थिक अवस्था कमजोर भएपछि उपचार गराउन नसकेको मुनाले बताइन्।

आर्थिक कमजोरीकै कारण समयमै उपचार नपाउँदा बिनाजस्ता धेरै बालबालिका अकालमै ज्यान गुमाउन बाध्य छन्। बैतडीको ग्रामीण क्षेत्रका अधिकांश बालबालिका कुपोषणबाट पीडित छन्। चौखाम–८ की कलावती धामीकी दुई वर्षीया छोरीको तौल आठ किलो छ। पोषिलो खानाकै अभावमा गाउँका अधिकांश बालबालिका कुपोषित छन्। जिल्लाकै विकट क्षेत्र चौखामका वडा नम्बर ७, ८ र ९ मा मात्रै १० भन्दा बढी बालबालिका कुपोषणग्रस्त भएको स्थानीय बताउँछन्।

जनचेतनाको कमी र गरिबीले चौखामलगायत च्वागड क्षेत्रका गाविसका बालबालिकामा कुपोषण समस्या रहेको चौखामका नरेन्द्रबहादुर चन्दले बताए। गर्भवती अवस्थादेखि नै स्वास्थ्य संस्थामा पहुँच नपुग्नु र पोषिलो खाना नपाउँदा यस्तो समस्या आएको हो।

घरमै उपलब्ध हुने पोषिलो खाना पनि नखाएकै काण शारीरिक विकास हुन नसकेको हो। 'घरमा पाक्ने दाल, भात, तरकारीमात्रै ख्वाउँथें', कलावतीले भनिन्, 'बच्चालाई त्यतिले मात्रै पुग्दो रहेनछ, पोषणयुक्त खानेकुरा समयमा नखुवाएकै कारण यस्तो भएको अहिले आएर थाहा भयो।’

विकट क्षेत्रका बालबालिकामा धेरै कुपोषण हुनुमा गरिबी नै मुख्य कारण देखिएको छ। बिहान बेलुकाको छाक टार्नसमेत समस्या भएपछि बालबालिकालाई पोषिलो खानेकुरा खुवाउन समस्या भएको स्थानीय बताउँछन्। बिहानदेखि बेलुका अबेरसम्म खेतबारीमा काम गर्न जानुपर्छ। बालबालिकालाई रोटी र बासी भात दिएर घरमै छोड्नुपर्ने बाध्यताले यस्तो भएको थालाँकाडा–८ का हरीश रोकायाले बताए।

शारीरिक शक्ति, वृद्धि विकास र सुरक्षाका लागि आवश्यक पोषक तŒवको कमी वा बढी हुनुलाई कुपोषण भनिन्छ। बच्चाको वृद्धि विकास नहुनु, सजिलै रोगको संक्रमण हुनु, रोग निको हुन लामो समय लाग्नु, छाला तथा कपाल सुक्खा देखिनु कुपोषणका प्रमुख चिह्न र लक्षण हुन्।

बानी परिवर्तन नहुँदा समस्या

जिल्लामा पोषणको क्षेत्रका कार्यरत सुआहाराले पहिलो चरणमा हजार दिनका आमा र बच्चाको पोषण सुधारका लागि जनचेतनात्मक क्रियाकलाप एवं कुखुरालगायत तरकारीको बीउसमेत वितरण गर्‍यो। जिल्लाका सबै गाविसमा सञ्चालित कार्यक्रमले पोषणबारे चेतना जगाए पनि स्थानीयको बानीव्यवहारमा सुधार आउन सकेको छैन। अहिले सुआहारा दोस्रो चरण सञ्चालनमा छ। पहिलो चरणमा कुखुरा वितरणदेखि पोषण सुधार्न स्थानीय स्तरमा उपलब्ध गेडागुडी, सागतरकारी मिसाएर खुवाउन सिकाए पनि व्यवहारमा थोरैले मात्र उतार्ने गरेको सुआहाराका कार्यक्रम संयोजक नगेन्द्र धामीले बताए। पोषणबारे जानकारी पाएकाले नै व्यवहार परिवर्तन गर्न नसकेको उनको अनुभव छ।

गर्भावस्थामा आमाले प्रशस्त पोषिलो खाना खाने, शिशुलाई ६ महिनासम्म आमाको मात्रै दूध खुवाउने र त्यसपछि घरमा उपलब्ध खानेकुरालाई मिसाएर सर्वोतम जाउलो (लिटो) बनाउन सकिने अवस्था भए पनि धेरैले यस्तो नगरेको जिल्ला स्वास्थ्य कार्यालयका पोषण सम्पर्क व्यक्ति सन्तोष पाण्डेयले बताए। दुई भाग अन्न र एक भाग गेडागुडी छुट्टाछुट्टै भुट्ने र त्यसलाई एकै ठाउँमा मिसाई घरमै पोषिलो पीठो बनाई त्यसको लिटो खुवाएमा बच्चालाई शारीरिक तथा मानसिक वृद्धि विकासका लागि चाहिने पोषण पुग्छ। यो लिटोले कुपोषणबाट सजिलै बचाउन सकिने पाण्डेयले बताए।

भौगोलिक रूपमा विकट जिल्लाका अधिकांश क्षेत्रमा खान नपुग्ने र खान पुगे पनि खाना खाने बानीमा सुधार नआएसम्म बालबालिकामा लाग्ने कुपोषणले जरा गाडिरहने पाण्डेयको भनाइ छ। ग्रामीण क्षेत्रमा खाना पोषिलोभन्दा पनि छाक टार्नका लागि खाने गरेका छन्। बालबालिकालाई कुपोषण र शीघ्र कुपोषणबाट बचाउन सरकारले विभिन्न नीति तथा कार्यक्रम बनाए पनि ती प्रभावकारी नहँुदा लक्षित वर्गसम्म पुग्न सकेका छैनन्।

जिल्ला स्वास्थ्य कार्यालय बैतडीको तथ्यांकअनुसार जिल्लामा ५ वर्षमुनिका २३ हजार ८ सय ९१ बालबालिका छन्। तीमध्ये ६ महिनाभित्रका ३ हजार १ बालबालिका छन्। तीमध्ये  ३ दशमलब ७ प्रतिशत बालबालिका कुपोषणको सिकार भएकोे तथ्यांकले देखाएको छ।

जिल्लामा स्वास्थ्य कार्यालयले शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमसमेत लागू गरेको छ। कडा खालको कुपोषण देखिएका बालबालिकामध्ये ८ सयभन्दा बढीलाई बहीरंग उपचार केन्›मा भर्ना गरेर उपचार भइरहेको  छ। जिल्लाका १२ स्वास्थ्य संस्थामा बहीरंग उपचार केन्› (ओटिसी) मा कडा कुपोषण भएका बालबालिकाको निःशुल्क उपचार गर्ने गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लाका सबै ठाँउमा उपचार केन्द्र नहुँदा समस्या छ। रौलेश्वर गाविसमा १५ जना कुपोषित बालबालिका छन्। नजिकै उपचार केन्द्र छैन। टाढा लगेर उपचार गराउने आर्थिक हैसियत नहुँदा तिनको उपचार हुन सकेको छैन।

प्रकाशित: २५ माघ २०७३ ०५:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App