८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

स्वदेशमा श्रम गरेर बाँच्न सक्ने अवस्था छैन

श्रम गर्न भारत जान रूपैडिया पुगेका नेपाली युवा। तस्बिर: गणेश/नागरिक

रुकुम पश्चिमस्थित बाफिकोट गाउँपालिका–२, पीपलका कर्णबहादुर गोसाई आइतबार जमुनाह नाका हुँदै भारतीय बजार छिरे।

परिवारको लालनपालन र जीविकोपार्जनका लागि ज्यालादारी काम नपाउँदा उनी श्रमकै लागि भारत पसेका हुन्। उनीसँगै गाउँका करिब ८/१० जना युवा बिदेसिए। कारण उही हो, ‘स्वदेशमै श्रम गर्ने ठाउँ नपाउनु ।’

दिउँसो करिब ३ बजेतिर जुम्लाका लक्षिराम बुढा पनि साथीहरूसँगै श्रम गर्न नेपाल–भारत सीमा क्षेत्र जमुनाहबाट भारतको कालापहाड हिँडे। उनीहरू मात्र होइन, पश्चिम नेपालका कयौं महिला तथा पुरुष स्वदेशमा श्रम गर्ने ठाउँको अभावमा भारतीय बजार पस्छन्। यसमा पुरुषको संख्या अझ ठूलो छ। भारतमै श्रम गर्छन्, अनि केही पैसा कमाएर घर पठाउँछन्।

रुकुम पश्चिमस्थित बाफिकोट गाउँपालिका–२, पीपलका कर्णबहादुर गोसाई आइतबार जमुनाह नाका हुँदै भारतीय बजार छिरे।

विदेशको कमाइले परिवारमा क्षणिक खुसी त आउँछ तर बिछोडिएको मनमा भने घाउ खिल बनेर पिरोलिन्छ। पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी जिल्लाबाट ठूलो संख्यामा जनशक्ति भारत जान्छ।

यतिबेला गाउँघर सुनसानजस्तै छन्। पहाडी घरगाउँमा महिला, बालबालिका, वृद्धवृद्धा, बिरामीको ठूलो संख्या छ। कतिपय गाउँमा त मर्दा मलामी र पर्दा साथ दिने युवा भेटाउनै मुस्किल हुने जुम्लाका लक्षिरामले जनाए।

‘यहाँ (स्वदेश) मा बस्दा महिनामा मुस्किलले ८/१० दिन काम पाइन्छ’, उनी भन्छन्, ‘त्यसले घर खर्च नै चलाउन सकिने अवस्था छैन ।’ उनको घरमा पाँचजनाको परिवार छ। उनी दैनिक एक हजार रूपैयाँ ज्याला पाउँछन्। काम भएको दिन दिनगन्तीले हिसाब गर्दा उनको मासिक आठदेखि १० हजार रूपैयाँ कमाइ हुन्छ। छोराछोरीको शिक्षादीक्षा, स्वास्थ्योचार र खानपिन गरेर उनको घरमा मासिक खर्च कम्तीमा २० हजार रूपैयाँ हुन्छ। यस हिसाबले उनलाई नाफा होइन, घाटा छ। घाटाको रकम ऋणको जोह गरेर चलाउनुपर्ने बाध्यता छ। यो बाध्यता लक्षिरामको मात्र होइन, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका नागरिकको अवस्था हो। महिनामा खर्चबराबरको कमाइ हुन नसक्दा अर्काको देशमा श्रम गर्नुपर्ने बाध्यता भएको मुगुबाट जमुनाह नाका पुगेका हर्कवीर शाहीले बताए।

काम भएको दिन दिनगन्तीले हिसाब गर्दा उनको मासिक आठदेखि १० हजार रूपैयाँ कमाइ हुन्छ। छोराछोरीको शिक्षादीक्षा, स्वास्थ्योचार र खानपिन गरेर उनको घरमा मासिक खर्च कम्तीमा २० हजार रूपैयाँ हुन्छ।

‘गाउँघरमा काम पाइँदैन’, उनी भन्छन्, ‘जुनसुकै सरकार आए पनि हाम्रा पाखुराले श्रम पाएनन् ।’ उमेर हुँदा हाम्रा पाखुरा विदेशको विकासका लागि खिइने र बुढेसकाल लाग्दा स्वदेशमा थन्किने अवस्था अन्त्य हुनुपर्ने उनी बताउँछन्।

सरकारले श्रम बजार व्यवस्थापन गर्न नसक्दा कयौं व्यक्तिले घरपरिवार छाडेर बिदेसिनुपर्ने उनको भनाइ छ। ‘गाउँघरमा श्रम गरेर बाँच्न सक्ने अवस्था छैन’, हर्कवीरसँगै भारत जान जमुनाह पुगेका काले मल्लले भने, ‘यहाँ श्रम गर्ने ठाउँ नहुँदा घरपरिवार छाडेर हिँड्नुपर्‍यो।’

महिनामा खर्चबराबरको कमाइ हुन नसक्दा अर्काको देशमा श्रम गर्नुपर्ने बाध्यता भएको मुगुबाट जमुनाह नाका पुगेका हर्कवीर शाहीले बताए।

आफ्नो सन्तानले यस्तो अवस्था भोग्नु नपरोस् भन्दै उनले भने, ‘सरकारले श्रमको उचित व्यवस्थापन गर्न नसक्दा हामीले दुःख पाइरहेका छौं। अब हाम्रा सन्तानले त्यस्तो दुःख भोग्नु नपरोस्।’ बिदेसिएको ठूलो जनशक्तिले यहीं श्रम गरे यहाँको विकासले ठूलो फट्को मार्ने उनको भनाइ छ।

‘यहाँ श्रम गर्दा बाँच्ने सक्ने अवस्था भए धेरै जनशक्ति बिदेसिनुपर्ने थिएन’, उनले भने, ‘यही श्रम गरेर बाँच्ने अवस्था आउने हो भने बाहिर जाने जनशक्ति यहीं रोकिन्छ र यहाँको विकासले गति लिन्छ।’

प्रकाशित: १८ वैशाख २०८० ०२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App