९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

लोभ्यायो तामाङ परिकारले

काठमाडौं– ‘फापरको बाबर भनिने रोटी साँदेको गुन्द्रुकसँग खान असाध्यै मीठो लाग्यो,’ काठमाडौं बस्ने अनिशा चौधरीले भनिन् । उनलाई तामाङ परिकारको स्वादले निकै लोभ्यायो । उनी नुवाकोटकी तामाङ साथीसँग तामाङको मौलिक पहिरनमा टुँडिखेलको ल्होसार जमघटमा आएकी थिइन् ।

टुँडिखेलमा तामाङ जातिको मौलिक खानाका स्टल धेरैको आकर्षण बन्यो । तामाङ मात्र नभई गैरतामाङ पनि तामाङ खानाको स्वाद लिइरहेका देखिन्थे ।

फापरको बाबर (तेलमा पकाइने गोलो रोटी) र आलुम (पानीमा पकाइने गालो रोटी) धेरैले मन पराउने गरेको तामाङ खाना स्टल राखेकी चन्दा लामाले बताइन् । चार वर्षदेखि बर्सेनि टुँडिखेलमा हुने सोनाम ल्होसार कार्यक्रममा तामाङ खाना बेच्दै आएकी चन्दाले भनिन्, ‘तामाङले त खाने नै भए । अचेल त तामाङ खानेकुरा चाख्नुप¥यो भन्दै अरु नि आउँछन् ।’ तामाङ जातिको मौलिक परिकार मानिसलाई चखाउन पाउँदा खुसी लागेको उनले बताइन् । ‘आफ्नो हातले बनाएको खाना मीठो मान्दै खाएको देखेपछि खुसी लागिहाल्छ नि,’ उनले भनिन् ।  

पछिल्लो समय टुँडिखेलमा हुने ल्होसार कार्यक्रम सबैका लागि तामाङ जातिको मौलिक परिकार चाख्ने मौका बनेको छ । फापरको बाबर, आलुम, खाप्से, कन्दमूल लगायत खानामा धेरैको आकर्षण रहेको विक्रेता बताउँछन् ।

तामाङ जाति विशेषगरी पहाडमा बसोबास गर्ने भएकाले पहाडी भेकमा उत्पादन हुने अन्नबाट विभिन्न परिकार बनाउँछन् । मकै, फापर, कोदो, जौ, गहुँ, धान जस्ता अन्नबाट तामाङले मौलिक भोजन तयार गर्ने गरेको लेखक कुयाङ लामाले बताए । उनका अनुसार तरुल, सखरखण्ड, पिँडालु र आलुबाट बनेका परिकार पनि तामाङ जातिले खान्छन् । ढिँडो, च्याँख्लाको भात, आलुम, खाप्से, कोदोको बाबर रोटी, फापरको बाबर रोटी, कोदो तथा मकैको पुवा लगायत खाना तामाङको मौलिक परिकार रहेको उनले बताए ।

‘ट्वाक्क जिब्रोमा लाग्ने स्वाद हुँदो रैछ,’ तोङ्बा चाखेपछि कालिकोटका कर्णप्रसाद चौलागाईंले भने । तामाङ जातिले मनाउने सोनाम ल्होसार कार्यक्रममा आउँदा उनले पहिलोपटक तोङबा अर्थात् कोदोबाट बनाइने मादक पदार्थ चाखे ।
‘राज्यले राष्ट्रिय पर्व भनेर भनिसकेपछि सबैले मनाउन प¥यो नि,’ दैलेख घर भएका पदमबहादुर शाहीले भने, ‘यहाँ आउँदा नयाँ खानाको स्वाद पनि लिन पाइयो ।’
 

प्रकाशित: १६ माघ २०७३ ०३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App