५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

संकटमा जुम्लाको गणेश गुफा

गणेश गुफाको । तस्बिर: गोल्डेन बुढा जुम्ला

धार्मिक पर्यटनको धरोहर मानिएको गणेश गुफा संकटमा परेको छ। जुम्लाको सदरमुकाम खलंगा नजिकैको गुफा भए पनि संरक्षण अभावमा संकटमा पर्दै गएको हो। गुफामा पूजा गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ।चन्दननाथ नगरपालिका १० का ६० वर्षकी पुन्ची रावलले गुफाको संरक्षणका लागि खासै पहल हुन नसकेको बताइन्।

अहिलेसम्म मागेको वर र इच्छाएको मनोकामना पूरा भएको स्थानीय उमा विकले सुनाइन्। उनले गुफामा रहेको धर्मशाला जीर्ण भएकोले दर्शनार्थीलाई बस्न समस्या भएको गुनासो गरिन्। उनका अनुसार घेरावार नहुँदा गुफा क्षेत्र सुरक्षित छैन।२० वर्षदेखि गुफामै बसेका बाबा योगीराज त्यागीले गणेश भगवानको पूजा गर्नेको भीड बढ्दै गएको बताए। 

चन्दननाथ नगरपालिका (१० बोहोरा गाउँका ५७ वर्षका खड्ग रावलले गणेश मन्दिर गुफा जिल्लाकै प्रमुख धार्मिक स्थल भएकाले संरक्षण जरुरी रहेको बताए। उनले सरकारी निकायले संरक्षणमा ध्यान नदिएको गुनासो गरे। उनका अनुसार ठाकुरज्यू हुँदै गणेश जीलाई बोहोरागाउँको जंगलमा ल्याइएको किंवदन्ती छ। प्रत्येक हरितालिका तिजको अघिल्लो दिन गुफामा रातभर पूजा गरिने उनको भनाइ छ।जिल्लाका सातै स्थानीय तहका साथै सुर्खेत, नेपालगन्ज, कालिकोट, हुम्ला, मुगु, डोल्पाबाट दर्शनका लागि भक्तजन पुग्ने गर्छन्। 

वर्षमा करिब हजार जनाले गुफाको अवलोकन र पूजा गर्ने गरेको पुजारीको भनाइ छ। मन्दिर वरिपरि घेराबार नहुँदा समस्या भएको स्थानीयले जनाएका छन्। मन्दिर वरिपरि छाडा पशु वस्तु छाड्दा फोहोर बढ्नुका साथै मन्दिरको सुरक्षा गर्न समस्या भएको छ।मन्दिरसँगै एथलेटिक्स धावक हरि रोकायाले आफ्ना प्रशिक्षार्थी खटाएर धर्मशाला बनाइदिएको पुजारीले जनाए।उनले भने धावककै अगुवाइमा खानेपानी ट्याङ्की र धारा निर्माण गरिएको छ।धर्मशाला निर्माण भएपछि प्रसाद बनाउन र खानेपानी उपभोग गर्न सजिलो छ।शौचालय नहुँदा ठुला समस्या छ।रातिको समयमा बाहिर निस्कन कठिनाइ हुने गरेको छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले १ सोलहारको व्यवस्था गरिदिएको जनाए।

प्रजिअ थापा जुम्लाका स्थानीय बासिन्दा हुन्। उनको स्थायी ठेगान चना नगरपालिका ९ जातिभिड गाउँ पर्छ। उनका अनुसार गुफाको धार्मिक महत्त्व भएकाले आन्तरिक पर्यटक आउने गरेका छन्।भने रमणीय दृश्य कैद गर्ने बाह्य पर्यटकको संख्या पनि बढिरहेको छ। गणेश गुफासम्म जाने पैदल मार्ग निर्माण गर्नसके जिल्लाकै प्रमुख धार्मिक पर्यटनको केन्द्र हुने उनले बताए।सामान्य रुपमा बाटो भएपनि राम्रोसँग व्यवस्थापन नभएको स्थानीय बताउँछन्।

चन्दननाथ नगरपालिकास्थित बोहोरागाउँको मध्य जंगलमा गणेश गुफा छ। गुफाभित्र ढुंगामा गणेश भगवानको मूर्तिको आकृति छ। गुफाको माथितिर गाईको कल्चौडाजस्ता ढुंगाबाट निरन्तर पानी बगिरहन्छ। गुफाको पत्थरमा हान्दा सुन्दर बाजा बजेजस्तो अनुभव हुन्छ। गुफाभित्र प्रवेश गर्दा कोल्टे भएर पस्नुपर्छ।अहिले गणेश भगवानको नयाँ मूर्ति राखेर पूजापाठ गर्ने गरिएको छ। गुराँस फुल्ने र हिमपात हुने क्षेत्र भएकाले पनि गुफा जाने पर्यटकको संख्या बढ्दै गएको स्थानीयको भनाइ छ।

प्रकाशित: ६ वैशाख २०८० १४:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App