१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

खाेलामा मनपरीले भयावह अवस्था

बढीमा डेढ मिटर मात्रै गहिरो खन्ने सम्झौता गरेको ठेकेदारले पारेको ३ मिटर गहिरो खाल्डो । यस्ता खाडल बगरैभरी छन् ।

झापा–खोलाको बगर लगातार खोतल्ने र गहिर्याउने ठेकेदारको लापरबाहीलाई जिल्ला विकास समितिले देखेको नदेख्यै गरिदिँदा पूर्वोत्तर झापाको खुदुनाबारीमा खानेपानी र सिँचाईको स्रोत नै सुकेको छ। प्राकृतिक स्रोत दोहनकै कारण  भयावह अवस्था आइसक्दासम्म सरकारी निकाय रमिते बनेपछि पीडित सर्वसाधारण आन्दोलित बनेका छन्।

खुदुनाबारी आसापासको विरिङ खोलाको बगरबाट निर्माण सामग्री निकाल्ने ठेकेदारहरुले जथाभावी गर्दा हजारौं सर्वसाधारण विस्थापनको खतरामा पुगेका छन्।  खोलाको भाग लगातार गहिरिएर गएपछि गाउँमा चल्दै आएका चार वटा सिँचाई आयोजनाका पैनी दुई वर्षदेखि बन्द भएका छन्।

गाउँका सयौं सर्वसाधारणको इनार र ट्युबेल सुकेका छन्। खानेपानी आयोजना बन्द हुने अवस्थामा पुगेको छ। खानेपानी र सिँचाईको स्रोत नै सुक्न थालेपछि स्थानीयबासीको दैनिकी नै बिथोलिएको छ।
 ‘खेतमा लगाउने पानी छैन, आँफैले खाने पानी आउन छाड्यो अब यहाँ बस्नु कि छाड्नु दोधारमा छौं’,  खुदुनाबारी क्षेत्रका अधिकांश सर्वसाधारणको साझा आवाज अहिले यही छ।’

तर, यत्ति ठूलो सामाजिक असर आइसक्दासमेत नियमनकारी निकायहरु भने आँखा चिम्लेर बसेका छन्। पानीको सबैखाले स्रोत सुकेपछि पीडित बनेका स्थानीयबासीले दर्जनौंपटक जिल्ला विकास समिति गुहारेर ठेकेदारको मनपरी रोकिदिन माग गरेका छन्। 

खोलाको बगरमा नियमित अनुगमन गरेर सम्झौता अनुसारको काम गराइदिन भनेका छन्। तर, जिविसका कर्मचारीले गाउँलेको माग पूरा गर्नेभन्दा ठेकेदार जोगाउने बाटो राजेपछि सर्वसाधारण आक्रोशित बनेका छन्। जिविस कर्मचारीको यस्तो बद्नियतप्रति आक्रोशित स्थानीयले पाँच दिनदेखि खोलामा निर्माण सामग्री निकाल्न रोक लगाएका छन् । हजारौं गाउँलेको बाँच्ने आधार खोसिएको भन्दै उनीहरुले अबदेखि निर्माण सामग्री निकाल्न नदिने चेतावनीसमेत दिएका छन् ।

 ‘ठेकेदारहरुले खोला लगातार खोतलेर गहिरो पारेका छन्’, खुदुनाबारी –१ का पूर्व जनप्रतिनिधि राम निरौलाले भने, ‘अहिले गाउँतिर आउने पैनीमा पानी उठाउनै सकिँदैन । पैनीमा पानी नचलेपछि गाउँका इनार र ट्युबेलहरु सुक्न थालेका छन् । यसले हामीलाई उठिबास लगाउने अवस्था आएको छ।’ 

२०४६ पछिको दुईवटै स्थानीय निर्वाचनमा वडा अध्यक्ष बनेका निरौलाका अनुसार गाउँ आसपासको दुई मिलोमिटरभन्दा लामो बगर क्षेत्रमा अहिले गहिरो खाल्डैखाल्डा छन्। जसका कारण गाउँतिर खोलाको पानी सोझ्याउन असम्भव भएको छ। शनि अर्जुनको पाँग्रे बाँधदेखि बिन्दुली बाँधसम्मको बगरमा  ३ मिटर गहिराइसम्म खोतलिएको छ । यसले यी दुवै पुराना बाँधसमेत भत्काउने जोखिम बढाएको छ । खोला गाउँ पस्ने त्रास बर्सेनि बढिरहेको छ ।

जिल्ला विकास समितिका कर्मचारी र ठेकेदारको मिलेमतोमा भइरहेको प्राकृतिक स्रोत दोहनको सिलसिला विरिङमा  वर्षौं अघिदेखि जारी छ । जिल्लाका प्रमुख क्रसर उद्योगीका लागि निर्माण सामग्रीको सबैभन्दा भरपर्दो स्रोत मानिने विरिङ खोलाको बगर त्यही कारण लगातार गहिरिँदै गएको छ । बगर  खोतल्दा बढीमा १ मिटर भाग मात्रै खोतल्ने  सम्झौतामा जिविससँग कबोल गरेका ठेकेदारले अहिले ३ मिटरभन्दा गहिरो खनेका छन् ।

विरिङको बगरमा अहिले निर्माण सामग्री निकालेको हो कि कुनै भवन बनाउन जग खनिएको हो छुट्याउनै गाह्रो हुने अवस्था छ। जिविसका वातावरण अधिकृत ज्ञानेन्द्र चौधरीका अनुसार  सम्झौतामा बढीमा डेढ मिटरसम्म खोतल्न सकिने उल्लेख छ। तर, सम्झौता र वातावरणीय प्रभाव मुल्यांकनको खिल्ली उडाउँदै ठेकेदारले तेब्बरभन्दा बढी भाग खोतलेका छन् । सम्झौतामा दिनभरी मात्रै निर्माण सामग्री निकाल्न पाइने उल्लेख छ। तर, विरिङको बगरमा मध्यरातसम्म पनि ट्रक, ट्रयाक्टर , ट्रिपर र एक्जाभेटरको भीड लाग्ने गरेको छ।

चुरे पर्वतको काखैमा रहेको खुदुनाबारी सुख्खाग्रस्त क्षेत्र हो । यहाँका हजारौं विघा जमिनका लागि विरिङ खोलाको पानी नै सिँचाईको मुख्य स्रोत हो । त्यसबाहेक बुधबारे, शनिअर्जुन नगरका धेरै किसानको खेतमा यहीँबाटै पानी पुग्ने हो । तर, क्रसर उद्योगीले लगातार खोला गहिर्याएपछि दुई वर्षयता चार वटा पैनी बन्द भएका छन् ।

‘बुधबारेको जयपुरतिर लगिएको दुई वटा र खुदुनाबारीकै प्रयोजनका लागि बनाइएका दुई गरी चार वटा पैनी दुई वर्षदेखि बन्द छन्’, स्थानीयबासी भेषराज खतिवडाले भने, ‘बगर ज्यादै गहिरो भयो, गाउँ क्षेत्र अग्लो हुँदै गयो। पहिला पैनीमा सजिलै उठ्ने पानी अहिले  उठ्नै छाड्यो ।’ यसका कारण शनिअर्जुन नगरपालिका , खुदुनाबारी  र बुधबारे गाविसका हजारौं विघा जमिन बाँझिएका छन्। उनका अनुसार गाउँका चारवटा पैनीमा पानी चल्दा अन्यत्र पनि रसाएर इनार ट्युबेल चल्थे । तर, पैनी बन्द भएपछि खानेपानीका ती स्रोत पनि सुक्न थालेका हुन्।

सिँचाई मात्रै होइन, खोला दोहनको दुष्परिणामले सर्वसाधारणको खानेपानीको स्रोत पनि बन्द भएको छ । गाउँतिर खोलाको पानी चढ्न बन्द भएपछि गाउँको खानेपानी आयोजना पनि बन्द हुने स्थितिमा पुगेको छ। खुदुनाबारी १, २ तथा शनि अर्जुन नगरका थप दुई वटा वडामा दुई हजार परिवारले उपभोग गर्दै आएको खानेपानी आयोजना सुक्ने अवस्थामा पुगेको छ । केही वर्षअघिसम्म पर्याप्त आपूर्ति हुने खानेपानी अहिले आधा पनि उपलब्ध छैन ।

‘गाउँमा पानीको स्रोत सुकेपछि खानेपानी पनि अभाव हुन थालेको हो’, शनि अर्जुन नगरका बासिन्दासमेत रहेका काँग्रेस झापाका सभापति उद्धव थापाले भने, ‘ठेकेदारहरुले गरेको मनपरीले भयावह सामाजिक असर निम्तिएको छ ।’

यस्तो भयावह अवस्थाबारे पटक–पटक स्थानीयले जिविसलाई अवगत गराउने, ज्ञापन दिने काम गरेका थिए । स्थानीयको तीव्र दबाब आएपछि झापाका स्थानीय विकास अधिकारी खेमराज ओझा र वातावरण अधिकृत ज्ञानेन्द्र चौधरी मंगलबार विरिङ निरीक्षणमा गएका थिए ।

तर, उनीहरु आउने अघिल्लो राती नै ठेकेदारले वरिपरिको डिल भत्काएर बगरमा पारेको खाल्डो पुर्ने प्रयास गरेका थिए । मध्यरातमा खोलाको बगरमा एक्जाभेटरको आवाज सुनेपछि त्यतै लागेका गाउँलेले सबै साधन नियन्त्रणमा लिएर जिविसलाई बोलाएका थिए । मंगलबार दिउँसो बगर निरीक्षणका लागि गएको जिविस टोली परैबाट फर्केको थियो ।

प्रकाशित: ६ माघ २०७३ ०६:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App