१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

तीनकुने क्षेत्रमा अनधिकृत पार्किङले सास्ती

तीनकुनेको सडकपेटीमा पार्किङ गरिएका सवारीसाधन। तस्बिरः हिमाल लम्साल

काठमाडौं– काठमाडौंको तीनकुने–गैरीगाउँ सडकपेटीमा हुने अनधिकृत पार्किङका कारण सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । सडकपेटी नै छेकेर अस्तव्यस्त पार्किङले आउजाउ गर्न निकै समस्या भएको तीनकुनेका स्थानीय श्याम श्रेष्ठले बताए ।
‘सडकपेटी गाडी नै गाडीले भरिएका हुन्छन्,’ उनले भने, ‘कहिलेकाहीँ त खुट्टा टेक्ने ठाउँ समेत हुँदैन ।’ निषेध गरिएको तिनकुने–गैरीगाउँको सडकपेटीमा बाटो नै छेकेर मोटरसाइकल, स्कुटर, निजी कार तथा अन्य सवारीसाधन पार्किङ हुँदै आएका छन् ।
तिनकुनेदेखि–गैरीगाउँ जाने सडकपेटीमा पार्किङ गरिएका सवारीसाधनले हिँडडुल गर्न निकै अप्ठेरो भएको पैदलयात्री अनिल नेपाल बताउँछन् । ‘कतै ग्यारेजमा आउने सवारीसाधन, कतै पार्टी प्यालेसमा र कतै मार्बल कम्पनीका गाडीले सडकपेटी ढपक्कै ढाकिएका हुन्छन्,’ उनले भने, ‘यो नो पार्किङ एरिया हो । तर पार्किङ एरियाजस्तै देखिन्छ ।’
यस क्षेत्रमा रहेका आधा दर्जन मार्बल कम्पनी, रोयल ब्यांक्वेट, मोटरसाइकलका ग्यारेज तथा ड्राइभिङ सेन्टरअघिका सडकपेटी रोकिराखेका सवारीसाधनले छेकिएका हुन्छन् ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरीक्षक भगिरथ रेग्मीले तीनकुने–गैरीगाउँ क्षेत्रमा जथाभावी पार्किङविरुद्ध अभियान चलाइरहेको बताए ।
‘सडकपेटीमा पार्किङ नगर्न बारम्बार अनुरोध गर्छाैं । तर, सवारीचालकले टेर्दैनन् । आज हटायो, फेरि भोलि उस्तै हुन्छ,’ उनले भने, ‘ट्राफिक नियम नमान्ने चालकलाई कारबाही गरिरहेका छौँ ।’
उनले ‘नो पार्किङ एरिया’मा सवारीसाधन राख्नेलाई पाँच सय रुपैयाँ जरिवाना गर्दै आएको बताए ।
‘पार्किङ चिह्न नभएको सबै ठाउँ नो पार्किङ हो,’ उनले भने, ‘चालकहरू अटेर गरेर फुटपाथ तथा पेटीमा पार्किङ गरिरहन्छन्, । अटेर गर्नेलाई महानगरपालिकासँग समन्वय गरेर कारबाही गरिरहेका छौँ ।’ महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार जरिवानाबाट दैनिक ३० देखि ४५ हजार रुपैयाँ राजस्व उठेको छ ।
काठमाडौं महानगरपालिकासँग अनधिकृत रुपमा पार्क गरेका मोटरसाइकल उठाउने दुई वटा मात्रै गाडी छन् । एकपटकमा सात मोटरसाइकल अटाउँछन् ।
नगरप्रहरी प्रमुख धनपति सापकोटाले तिनकुने–एयरपोर्ट क्षेत्रमा रहेको अनधिकृत सवारी पार्किङ छिटै हटाउने दाबी गरे । ‘नगरप्रहरीले नो पार्किङ एरियाका मोटरसाइकल उठाउने मात्रै हो,’ उनले भने, ‘चारपांग्रे सवारीको ट्राफिकसँग समन्वय गरेर चिट काटेर कारबाही गर्छाैं ।’ उनका अनुसार अनधिकृत पार्किङ गरेका ५० मोटरसाइकललाई दिनहुँ कारबाही गरेको बताए ।
‘पार्किङ निषेध गरेका ठाउँका सवारीसाधन समात्न दुई गाडी कुदाइरहेका छौँ,’ उनले भने, ‘जहाँको सडक अवरोध ज्यादा हुन्छ । त्यही क्षेत्रमा खटिएका हुन्छौँ । दुई मात्रै सवारी भएकाले सबै ठाउँमा समात्न नसकिएको होला ।’
हाल नगर प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले पार्किङ निषेध गरिएका ठाउँबाट सवारी उठाउँदै आएको छ ।

 

प्रकाशित: ३ माघ २०७३ ०४:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App