९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

जाडो महिनाको न्यानो खुराक

काठमाडौं- थलीकी अम्बिका सिंखडालाई पुसको अन्तिम साताबाटै माघले छोएको छ। माघेसंक्रान्तिको तयारीमा जुटेकी उनले अघिल्लो साता नै आफ्नै बारीबाट तरुल निकालिन्। घरमै पालेको गाईको घिउ संगालेकी छिन्। साँखु पुगेर चाकु र घरनजिकै पसलबाट तिलको लड्डु किनेको सुनाइन्। माघ १ गते मासको दालको खिचडी पनि पकाउने उनको योजना छ। माघमा खाइने यी खान्कीले सालभर जिउ न्यानो हुने उनको बुझाइ छ। 'जिउमा गढेको चिसो, घिउ, चाकुले निकाल्छ रे,' उनले भनिन्, 'त्यसैले हरेक वर्ष जाडोमा घिउ, चाकु र तिलको लड्डु खाँदै आएका छौँ।' 

सिंखडाले भनेजस्तै घिउ, चाकु, तरुल र तिलको लड्डुजस्ता पोषिलो खाद्य पदार्थ खाएर शनिबार देशभर नै माघेसंक्रान्ति पर्व मनाइँदै छ। बजारमा पुसको अन्तिम साताबाटै चाकु, तरुल, घिउ, तिल लगायत कारोबार बढेको छ। माघे संक्रान्तिका दिन नुहाइधुवाई गरी जिउमा तेल घसेर घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल खानाले शरीरमा गर्मीको मात्रा बढ्ने हृष्टपुष्ट हुने धार्मिक मान्यता छ।

संस्कृतिविद्  ओम धौभडेल यो मान्यता सही भएको बताउँछन्। सांस्कृतिक रूपमा चल्दै आएका पर्वमा विभिन्न वैज्ञानिक कारण लुकेको सुनाउँछन्। चिसो याममा खाइने न्यानो खुराकले शरीरलाई फाइदा गर्ने उनले बताए। 'ऋतुअनुसारका खान्कीले हाम्रो संस्कृति धनी छ,' उनले भने, 'माघको जाडोमा खाइने घिउ, चाकु यसैका उदाहरण हुन्।' यसबाहेक तरुल, तिल, लसुन, माछा समेत खाइने गरेको उनले सुनाए। 'अन्य समुदायमा पनि उनीहरूको संस्कृतिअनुसार न्यानो खान्की खाने गर्छन्,' उनले थपे, 'सखर र तिलयुक्त खाद्यान्न त माघेसंक्रान्तिमा धेरै समुदायको साझा रोजाइ बन्ने गरेको छ।' संक्रान्तिका दिन विशेष गरी वनतरुल, सखरखण्ड, खुदो, चिउरा, घिउ, चाकु र विभिन्न परिकार तयार पारेर खाने गरिन्छ।

पोषणविद् डा. जया प्रधान  धौभडेलले भनेजस्तै परम्परादेखि चल्दै आएका सांस्कृतिक पर्वमा पोषणयुक्त खानेकुरामा विशेष ध्यान दिइएको बताउँछिन्। माघेसंक्रान्तिमा खाइने चाकु, घिउ, तिल तरुलजस्ता खाद्य पदार्थले जाडो याममा राम्रो ऊर्जा दिने बताउँछिन्। 'चिसो याममा हाम्रो शरीरलाई ऊर्जा चाहिन्छ,' उनले भनिन्, 'चाकु, घिउ, तिलजस्ता पदार्थले हाम्रो शरीरमा ऊर्जा दिने काम गर्छ।'

यति हुँदाहुँदै पनि आवश्यकभन्दा बढी घिउ, चाकु नखान उनको सुझाव छ। मुटु, मधुमेह र प्रेसरका बिरामीले भने यी चिज खाँदा ध्यान दिनुपर्ने उनी बताउँछिन्। 'सामान्य स्वस्थ मानिसले मिलाएर घिउ, चाकु खाए हुन्छ,' उनी भन्छिन्, 'घिउ, तिलमा कोलेस्टेरोलको मात्रा बढी हुने भएकाले थोरै खाँदा हुन्छ।'

माघेसंक्रान्तिमा अन्य परिकारसँगै चाकुको कारोबार बढी हुने गरेको छ। चाकु भन्नेबित्तिकै टोखाको नाम आइहाल्छ। यहाँका व्यवसायीलाई त मंसिरबाटै माघको चटाराले छोेएको सुनाउँछन्। गाउँमा यो पेसा हराउँदै गए पनि कतिपयले व्यवसायलाई आधुनिक रूप दिँदै धानेका छन्। बुद्ध स्टोरका टोखाका बुद्ध श्रेष्ठ दुई महिनादेखि नै चाकु बनाउन व्यस्त रहेको सुनाउँछन्। टोखाको चाकु, काठमाडौं, भक्तपुर, ललितपुर हुँदै मुलुकका विभिन्न भागसम्म पुग्ने गर्छ। 'चाकु त अन्त पनि बन्छ,' श्रेष्ठ भन्छन्, 'टोखाको चाकु भने पनि यसको माग बढेको छ।' उनले सादा चाकु, मसला चाकु, भित्री मसला चाकु, चाकु झोलको चाकु, तिलौरा, बनाएको सुनाए।

सद्भावको पर्व

नाम फरक भए पनि माघ १ लाई तराई पहाडका विभिन्न जातजातिले हर्षोल्लासपूर्वक मनाउने गरेका छन्। भौगोलिक, जातीय र सांस्कृतिक विविधताको यो पर्व रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढंगले मनाउने प्रचलन छ। थारु समुदायले नयाँ वर्षको माघी भनेर मनाउँदै छन् भने मगर समुदायले आफ्नो मुख्य पर्वको रुपमा मनाउँदै छन्। उपत्यकाका नेवार समुदायले पनि उत्साहका साथ मनाउने गरेको यो पर्व तराईका अन्य जातजातिले पनि मनाउँदै आएका छन्। उनीहरूले खाने गरेका खान्कीमा पोषिलो पदार्थ पर्याप्त मात्रामा रहेको हुन्छ। 

तिलमाधव नारायण

घिउ, चाकु, तरुल, तिलको लड्डु खाएर मनाइने यस पर्वका दिन शनिबार भक्तपुरको तौमढीस्थित तिलमाधव नारायण मन्दिरमा दर्शनार्थीको भीड लाग्ने छ। यी मन्दिरमा रहेका नारायणको मूर्तिमा घिउ र तिल दल्ने गरिन्छ। त्यस्तै, भक्तालुले घिउ, चाकु चढाउने गर्छन्।  मन्दिरका पूजारी बाबुराजा शर्मा मन्दिरमा दलिएको घिउ र तिल खाएमा मनोकामना पूरा हुने सुनाउँछन्। तिलको थुप्रोबाटै उत्पत्ति भएकाले तिलमाधव नारायणको नाम रहन गएको किंवदन्ती छ।

माघेसंक्रान्तिलाई नेवार भाषामा घिउ, चाकु सल्हुँका दिन भनिन्छ। यो दिन न भक्तपुरको अन्य मन्दिर चाँगु नारायण, आशापुरी महादेव, डोलेश्वर महादेव मन्दिरमा पनि ठूलो मेला लाग्छ। नेवार समुदायमा घिउ चाकुको अलावा, हरियो लसुन र सि›ा, माछा पनि खाने परम्परा छ।

प्रकाशित: १ माघ २०७३ ०३:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App