१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

८ हजार रुपैयाँ बोकेर देशव्यापी पैदल यात्रामा निस्किए देवराज

सुदूरपश्चिम र साबिक कर्णालीका धार्मिक तथा पर्यटकीय स्थल प्रचारप्रसार गर्ने उद्देश्य बोकेर ३५ वर्षीय देवराज उपाध्यायले देशका ७७ वटै जिल्ला सदरमुकाममा पुग्ने गरी यात्रा सुरु गरेका छन्। 

बाजुरामा जन्मिएर हाल कैलालीको गौरीगंगा नगरपालिका–४ को राजीवपुरमा बसोबास गर्दै आएका देवराज राष्ट्रिय झण्डा, सिरमा नेपाल लेखिएको कालो ढाका टोपी, सानो झोला र पानीको बोतल भिरेर आफ्नो यात्रामा निस्किएका हुन्।

उनी यात्राको क्रममा जुम्लाको कनकासुन्दरी गाउँपालिका -१ मा भुलभुले बजारमा भेटिएका थिए। उनले मुगु, हुम्ला र डोल्पा जिल्ला पुगेर जुम्ला आइपुगेका सुनाए।

सुदूरपश्चिम प्रदेश र साबिक कर्णालीका जिल्लामा रहेका पर्यटकीय र धार्मिक स्थलको प्रचार प्रसारका लागि पैदल यात्रामा निस्केको उनी बताउँछन्।

'सुदूरपश्चिममा रहेका पर्यटकीय तथा धार्मिक स्थल गोदावरी, बढी मालिका, पादुका, बैजनाथ, परशुधाम, अपि सैपाल, खप्तड र साबिक कर्णालीमा रहेका चंखेली, पञ्चमुखी, रलिङ, खार्पुनाथ, रारा, छायानाथ, त्रिपुरासुन्दरी, से फोक्सुन्डो,जुम्लाको चन्दननाथ, तातोपानी  धारा, गिडिदह, सिंजाको सभ्यता, कनकासुन्दरी मन्दिर,विराट दरबारलगायत पर्यटकीय स्थलको प्रचारका लागि यात्रामा निस्किएको हुँ।' उनी भन्छन्।

उनले यी पर्यटकीय र ऐतिहासिक धार्मिक स्थल भएता पनि तिनको प्रचार प्रसार हुन नसक्दा त्यसको प्रवर्द्धन हुन नसकेको गुनासो गर्दै देशै भरबाट पर्यटन भित्राउने हेतुले पैदल यात्रामा निस्किएको सुनाए।

'मेरो उद्देश्य भनेकै यहाँका महत्त्वपूर्ण पर्यटकीय स्थलको विकासमा टेवा पुर्‍याउने हो।' उनले भने। 

हालसम्म उनले ९ जिल्लामा पैदल भ्रमण गरिसकेका छन्। उनी डडेलधुरा जिल्लाबाट चैत १ गते निस्किएका थिए, २९ ओैँ दिनमा उनी जुम्लामा आइपुगेका हुन्। त्यसयता उनी बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम, बाजुरा, हुम्ला, डोल्पा र मुगु पुगिसकेका छन्। अब उनी मुगुबाट जुम्ला सदरमुकाम तर्फ लाग्नेछन्।

उनले जिल्ला सदरमुकाम पुग्ने र पर्यटकीय स्थलबारे जिल्लाका प्रबुद्ध व्यक्तिहरूसँग छलफल तथा जानकारीसमेत गराउने गर्दै आएका छन्। त्यससँगै उनले स्थानीय प्रशासनसँग आफू जिल्ला सदरमुकाम पुगेको सिफारिससमेत लिने गरेका छन्।

देशका ७७ वटै जिल्ला सदरमुकाम पुग्न बाह्रै महिना समय लाग्ने उनको अनुमान छ। सबै जिल्ला पुगे पश्चात् पैदल यात्री उपाध्यायले एक ज्ञापन पत्र तयार पार्ने र सो ज्ञापन पत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई बुझाउने तयारी रहेको बताए।

उनले सम्भव भए मन्त्रीलाई एक पटक ती पर्यटकीय स्थल अवलोकन गर्न निम्तोसमेत दिने बताए। यात्राका लागि लाग्ने खर्च उनले घरबाट ८ हजार रुपैयाँ बोकेको बताए, बाँकी रकम ठाउँ–ठाउँमा स्थानीयले व्यक्तिगत रुपमा सहयोग गर्दै आएको उनले सुनाए।

प्रकाशित: ३ वैशाख २०८० १३:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App