राजगढको लडाईंमा विरगती प्राप्त गर्ने सुब्बा नाथु गुरुङ र सुब्बा प्रल्हाद गुरुङलाई राष्ट्रिय विभूती घोषणा गर्न माग गरिएको छ।
सुब्बा नाथु प्रल्हाद प्रतिष्ठानले पोखरामा आईतबार पत्रकार सम्मेलन गरेर गुरुङ द्वयलाई राष्ट्रिय विभूती घोषणा गर्न माग गरेको हो।
अंग्रेजसँगको लडाईमा वि.स. १८७२ साल बैशाख ६ गते सुब्बा प्रल्हाद गुरुङले विरगती प्रप्त गरेका थिए भने सोहि लडाईंमा सामेल सुब्बा नाथु गुरुङको भने वि.स. १८७९ साल पुस २९ गते निधन भएको थियो।
राजगढको लडाईंमा विरगती प्राप्त गर्ने विर भक्ति थापालाई सरकारले राष्ट्रिय विभूती घोषणा गरेकाले सोहि लडाईंमा विरगती प्राप्त गर्ने सुब्बा प्रल्हाद र सोहि लडाईं लडेर पछि निधन भएका सुब्बा नाथुलाई पनि राष्ट्रिय विभूती घोषणा गर्नुपर्ने प्रतिष्ठानको माग छ।
प्रतिष्ठानका अध्यक्ष धर्मध्वज गुरुङले एउटै लडाईंमा विरगती प्राप्त गर्ने विर योद्धालाई राज्यले विभेद गरेकाले आवाज उठाउन बाध्य भएको बताए । 'अंग्रेजसँगको लडाईका क्रममा राजगढमा खटिएका हुन् तीनैजना। वि.स.१८७२ साल बैशाख ५ गते विर भक्ति थापाले विरगती प्राप्त गरे। त्यसको भोलिपल्ट बैशाख ६ गते नाथु प्रल्हाद गुरुङले विरगती प्राप्त गरे। तर राज्यले भक्ति थापालाई मात्र राष्ट्रिय विभूती घोषणा ग¥यो तर सुब्बा प्रल्हादलाई गरेन।’
उनले अंग्रेजसँगको लडाईंमा सुब्बा प्रल्हाद र नाथु दुबैको महत्वपूर्ण योगदान भएकाले दुबैलाई राष्ट्रिय विभूती घोषणा गर्नुपर्ने बताए। 'एउटै ठाउँ, एउटै मोर्चा, भक्ति थापा कमाण्डर र सुब्बा नाथु र प्रल्हाद उप–कमाण्डर भएर लडाईं लड्दा विरगती प्राप्त गर्दापनि किन विभेद? राज्यले समान व्यवहार गरोस् र राष्ट्रिय विभूती घोषणा गरोस्’,उनले भने।
क्याप्टेन डम्बरसिंह गुरुङलेपनि ईतिहासलाई सम्मान गरेर सुब्बा प्रल्हाद र नाथुलाई राष्ट्रिय विभूती घोषणा गर्नुपर्ने बताए। 'राज्यले अहिले कस्ता कस्ता व्यक्तिलाई त सहीद घोषणा गरिरहेको छ भने राष्ट्रको सपुत प्रल्हाद र नाथुलाई राष्ट्रिय विभूतीमा सूचीकरण गरोस्’–उनले भने।
प्रतिष्ठानका महासचिव यामबहादुर गुरुङले राज्यले राष्ट्रिय विभूती घोषणा नगरेपनि आफूहरुले भने सुब्बा नाथु र प्रल्हाद दुबैलाई राष्ट्रिय विभूती भन्ने गरेको बताए। 'अब राज्यलेपनि राष्ट्रिय विभूती घोषणा गरेर उहाँहरुको योगदानको कदर गरोस्’–उनले भने।
राष्ट्रिय विभूती घोषणा गर्न माग गरिएका सुब्बा नाथु र प्रल्हादको घर कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिका रिभानस्थित चौर हो। नाताले सुब्बा नाथु काका र सुब्बा प्रल्हाद भतिज हुन्।
विरगती प्राप्त गरेका सुब्बा प्रल्हादको सम्मानमा तत्कालीन सरकारले उनको पल्टनको हातहतियारसहित 'नगरा–निशान’ प्रदान गरेको थियो। सोहि 'नगरा–निशान’ लाई वर्षेनी पूजा गर्ने गरिएको छ भने सो पूजाका लागि खर्च गर्न भनेर सोहिबेला माछापुच्छ«े गाउँपालिकाको भराभरीमा ८० रोपनी र चौरमा २० रोपनी जग्गा गुठीका रुपमा प्रदान गरेकोपनि प्रतिष्ठानले जनाएको छ।
यसैबीच, प्रतिष्ठानले विर योद्धा सुब्बा प्रल्हादको स्मृति दिवसको दिन बैशाख ६ गते उनको जन्म थलो रिभानमा 'नेपालको एकीकरणमा सुब्बा प्रल्हाद र नाथुको योगदान’ विषयक अन्र्तक्रिया कार्यक्रम आयोजना गर्दैछ। सो कार्यक्रममा ईतिहासविद् प्रा.डा.जगमान गुरुङले उनीहरुको योगदानबारे चर्चा गर्ने महासचिव यामबहादुर गुरुङले जानकारी दिए। सो अवसरमा प्रतिष्ठानले हरेक वर्ष वितरण गर्दै आएको गरीव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्नुका साथै पृथ्वीनारायण क्याम्पसमा स्नातक तहमा इतिहास विषयमा सर्बाधिक नम्बर ल्याउने विद्यार्थीलाई नगदसहित पुरस्कृत गर्ने उनले बताए।
प्रकाशित: ३ वैशाख २०८० १२:०० आइतबार