१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

गोरखामा २० औँ सवालाख रोट महोत्सव हुने

रोट महोत्सवको बारेमा जानकारी दिन शनिवार आयोजना गरिएको पत्रकार सम्मेलन।

वैशाख पूर्णिमाको दिन २२ गतेदेखि गोरखामा सवालाख रोट महोत्सव सुरु हुने भएको छ। गोरखनाथ गुफामा सिद्धाश्रम शक्ति केन्द्रले वैशाख २२ देखि जेठ १ गतेसम्म २० औँ रोट महोत्सव गर्ने केन्द्रका केन्द्रीय अध्यक्ष रामजी अर्यालले बताए।

पहिलो दिन बाजागाजा सहित गोरखा बजारबाट दरबार सम्म रथ यात्रा गरिने छ। यात्रामा शक्ति केन्द्रका साधक, साधिका, स्थानीय, भक्तजनहरु  गरी सयौँको उपस्थिति रहने शनिवार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गरी जानकारी दिइयो।

राजा पृथ्वी नारायण शाहका गुरु गोरखनाथ प्रकट भएको दिनको रुपमा हरेक वर्ष सिद्धाश्रम शक्ति केन्द्रले वैशाख पूर्णिमादेखि ११ दिन सम्म महोत्सव गरेर रोट अर्पण गर्दै आएको छ। यो पटक ३० हजार भक्तजन रोट महोत्सवमा सहभागी हुने र २५ लाख भन्दा बढि खर्च हुने अनुमान आयोजकको छ।

गोरखनाथ र गोरखकाली मन्दिर परिसरमा नियमित भजन, कृतन, पूजापाठ गरेर सयौँ भक्तजनको उपस्थितिमा रोट महोत्सव ११ दिन सम्म चल्ने सिद्धाश्रम शक्ति केन्द्र सम्पर्क कार्यालय गोरखाका संयोजक किशोरकुमार अकेलाले बताए।

रोट महोत्सवमा आउने भक्तजनलाई सिद्धाश्रम शक्ति केन्द्रले खान बस्न निःशुल्क व्यवस्था समेत गरेको छ। देशका विभिन्न ठाउँबाट भक्तजनहरु गोरखा आउने अपेक्षा गरिएको केन्द्रकी साधिका विन्देश्वरी बरालले बताईन।

गोरखनाथलाई सबैभन्दा बढी मन पर्ने भएकाले रोट चढाएर खुसी बनाउन सकेमा कुनै संकट आई नपर्ने धार्मिक मान्यता छ। नियमित पूजाको साथै गोरखा दरबार परिसरमा भजन कृतनको कार्यक्रम पनि संचालन गरिने शक्ति केन्द्रको सम्पर्क कार्यालय गोरखाका नवीन श्रेष्ठले बताए।

गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण रानाले महोत्सवले गोरखालाई धार्मिक पर्यटन प्रर्वद्धन गर्नमा धेरै सहयोग पुग्ने बताउँदै नगरपालिकाले पनि सहयोग गर्ने आश्वासन दिए। गोरखनाथ मन्दिरका मुख्य पुजारी प्रदिपनाथ योगीले रोट महोत्सव गोरखाको उत्सव भएको बताउँदै यसले मानिसमा आध्यात्मिक चिन्तनको विकास भएको बताए। पत्रकार सम्मेलनमा सरोकारवालाहरुले रोट महोत्सवलाई गोरखाका स्थानीयले आफ्नो एउटा महत्त्वपूर्ण उत्सवको रुपमा लिनुपर्नेमा जोड दिएका थिए।

गहुँ, जौ र धेरैजसो चामलको पिठो रोट बनाउन प्रयोग गरिन्छ। विभिन्न ५२ थरीका शक्तिबर्दका मसला मिसाएर रोट बनाईन्छ। रोटमा जाईफल, काजु, ल्वाङ, सुकुमेल, दाख, चिनी, खुदो, नरिवल जस्ता किसमिस मिसाइन्छ। नाथहरु शुद्ध भई पिठोमा किसमिस मिसाएर रोटलाई स–साना गोली बनाउँदै घ्यू मा पोल्ने गर्छन। प्रसादको रुपमा भक्तजनले ग्रहण गर्ने रोट गोरखनाथको प्रसादको रुपमा लिइन्छ। देश विदेशमा पनि रोट प्रसादको रुपमा पुग्ने गर्छ।

प्रकाशित: २ वैशाख २०८० १३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App