४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

निर्दाेष बालक कैदी जीवन बिताउँछन्

कुनै पनि कसुर नगरी बालकले पनि कैदी जीवन बिताइरहेका छन् भन्ने कुरा जिल्ला कारागार कालिकोटबाट थाहा पाउन सकिन्छ। आमाले अपराधको सजाय भोगिरहँदा बालबालिकाले समेत परोक्ष भोग्नुपर्दाको पीडा कसले बुझ्ने? जिल्ला कारागार कालिकोटमा निर्दोष एक बालक कैदीझैं जीवन बिताउन बाध्य छन्।

कारागारमा विभिन्न आरोपमा जेल सजाय पाएकासँग ती बालकको दिनचर्या बित्ने गरेको छ। कर्तव्य ज्यान सजायमा कारागारमा परेकी नरहरिनाथ गाउँपालिका लालुकी २७ वर्षीया आमा राजिन्द्रा शाही नै ती बालकको सबै संसार हुन्। जेल प्रशासनका अनुसार चार वर्षका एक बालक आमासँगै कारागारमा छन्। तोते बोल्ने साना बालक जेलभित्रको सानो कोठामा उकुसमुकुस जीवन बाँच्दैछन्। आमा राजिन्द्रा शाही कर्तव्य ज्यान मुद्दामा कैदी जीवन बिताउँदै छिन्।

तोते बोलीमा कखरा सिक्ने उमेरमा यो पीडा कसले पो बुझिदेला? उनीले संसार बुझ्नै सकेका छैनन्। उनले भेट्न जाने सबैलाई हेर्ने गरेका छन्। उनी आफूलाई कसैले लगे कारागारबाट बाहिर जाने आशा देखाउँछन्। शिक्षा लिने चाहनामा जेल जीवन बिताइरहेका बालकका अभिभावक नभएको होइन। लामो समयसम्म छोरालाई सँगै राख्दा भविष्यमा गम्भीर असर गर्ने भएकाले उचित हेरचाहसहित शिक्षादीक्षाको व्यवस्था गरिदिनसमेत अनुरोध धेरै त्यहाँ पुगे पनि कारागार प्रशासन र आमाले बाहिर पठाउन मनाही गर्ने गरेका छन्। कारागार प्रशासन उल्टै बच्चालाई खेलौना नपुगेकाले तर्सिने गरेको अनौठो तर्क गर्छन्।

‘सिकाइका केही सामग्री त विभिन्न संस्थाले दिएका छन्’, जिल्ला कारागार कालिकोटका निमित्त जेलर कर्णप्रसाद पण्डित भन्छिन्, ‘अब यिनको पढ्ने उमेर सुरु भयो, त्यसका लागि सहयोगको पहल गर्न अन्य निकायलाई आग्रह गरेका छौं।’

जेल प्रशासनले समेत प्राथमिकता दिएर केही खेलौना समेत दिने गरेको आमाले बताइन्। उनले भनिन्, ‘बालबालिकालाई कारागारमा राखेदेखि केहीले सहयोग गरेका छन् त कसैले खेलौना दिने गरेका छन्।

कानुनी व्यवस्थामा आश्रित बालबालिकालाई कैदीबन्दीसँगै थुनामा नराखेर बालसुधार गृहमा राख्नुपर्छ। कारागारभित्र क्षमताभन्दा दोब्बर कैदीबन्दी रहेका छन्। ४८ जना पुरुष, ४ महिला र १ नाबालक गरी ५३ जना रहेको कारागार प्रशासनले जनाएको छ।

जेलभित्र रहेका बालकलाई उद्धारका लागि बालबालिका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायले कुनै चासो देखाएका छैनन्। बालबालिकालाई नकारात्मक प्रभाव पार्न नदिन सरोकारवाला निकायले बेलैमा ध्यान दिन आवश्यक छ।

यो उमेरमा कारागारमा रहँदा बालअधिकार र मानव अधिकार हनन भइरहेको प्रहरी प्रमुख जयश्वर रिमालले बताए। उनले भने, ‘सुरक्षाको हिसाबले पनि बालबालिकालाई कारागारमा राख्न मिल्दैन। कानुनमा बालबालिकालाई कसुरै गरे पनि कारागारमा राख्न नपाइने व्यवस्था छ। यसरी कारागारमा बालक राख्दा हामीलाई पनि पछि समस्या हुन सक्छ।’

अझ त कसुरै नगरी कारागारमा राख्न त झनै पाइन्न। यो आफैंमा बालअधिकारको हनन हो। अचम्म त के भने यी नाबालकलाई जेल बाहिर पुनस्र्थापना गर्ने सुरसारसम्म गरिएको छैन।

प्रकाशित: २७ चैत्र २०७९ ०२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App