सर्लाहीमा नक्कली नेपाली रुपैयाको कारोबार फस्टाएको आशंका गरिएको समयमा नक्कली नोट बनाउने गिरोह नै सक्रिय रहेको खुलासा भएको छ। गत तीन महिनादेखि प्रहरीले निगरानी बढाउँदा विभिन्न नौ जनालाई नियन्त्रणमा लिइएको र रुपैया बनाउने कागजको बन्डल नै बरामद भएको घटनाले नक्कली रुपैया बनाउने गिरोह सक्रिय रहेको पुष्टि भएको हो।
सर्लाहीको बलरा नगरपालिका ६ गडहिया गाउँका विवेक कुर्मीको घरमा नक्कली नोट बनाउने मेसिन नै संचालन गरी नक्कली नोट बनाउने काम भइरहेको सूचना पाएको प्रहरीले छापामारी खानतलासी गर्दा पैसा छाप्ने कागज दुई पोका बरामद भएको छ। घर धनी विवेक कुर्मी फरार भएका छन्। नक्कली नोट बनाउने कार्यमा सहयोग गरिरहेको भनिएका अन्य चार जना पनि फरार भएका छन्। फरार पाँचै जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
यसअघि बलरा नपा वडा ५ अर्नाहा टोलका राम प्रसाद यादव नक्कली नेपाली रुपैया सहित पक्राउ परेका थिए। बिहिवार बेलुकी बरहथवा नगरपालिका १७ स्थित बागमती सिचाइ आयोजनाको नहरमा दुई लाख ६८ हजार नेपाली नक्कली रुपैया सहित मधेस प्रदेश जनकपुर र इप्रका बरहथवाको संयुक्त टोलीले यादवलाई चारैतिरबाट घेरा हाली पक्राउ गरेको हो। यादवलाई चेकजाँच गर्दा लाखौ रुपैयाँ नेपाली हजारको नक्कली नोट बरामद भएको हो।
प्रहरीले अहिलेसम्म राम प्रबेस राम, सुबन परियार, गोपाल खनालसहित नौ जनालाई नक्कली नेपाली रुपैया कारोबार गर्ने गरेको आरोपमा पक्राउ गरिसकेको छ। पछिल्लो समय प्रहरीले तीन लाख ३६ हजार रुपैया नक्कली नोट बरामद गर्नुका साथै २३७ बन्डल कागज र कागज काट्ने मेसिन बरामद गरिसकेको छ। यसै गरी नक्कली नोटको कारोबारमा प्रयोग गरिने भारतीय नम्बरका गाडीहरु पनि बरामद गरिसकेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको कमान्ड सम्हालेपछि एसपि नरेशराज सुवेदी लागू औषध नियन्त्रण, गाँजा फँडानी तथा नक्कली नेपाली नोटको कारोबारलाई नियन्त्रण गर्न निकै सक्रिय देखिएका छन्। पटक पटक गरी लाखौँ रुपैया नक्कली नोट बरामद गरिसकेको सर्लाही प्रहरीले नक्कली नोट छाप्ने मेसिन नै बरामद गर्न नसके पनि कारोबारीमा खैलाबैला मच्चाउन सफल भएको छ।
सर्लाही प्रहरी प्रमुख एसपि सुवेदीले सर्लाहीमा नक्कली नोट बनाउने गिरोह नै सक्रिय रहेको बताएका छन्। निकट भविष्यमा पूरा गिरोहको पर्दाफास हुने एसपि सुवेदीले बताएका छन्।
प्रकाशित: २४ चैत्र २०७९ ०९:०१ शुक्रबार