४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

चर्कँदै कोशी नामकरणविरुद्धको आन्दोलन: ‘पालिकामा तालाबन्दी’

धरान उपमहानगरपालिकाको कोशी प्रदेश लेखिएको स्टाम्प र कागजात जलाउँदै आन्दोलनकारीहरु। तस्बिर: रोहित राई

कोशी प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधरहरुको आन्दोलन चर्कँदै गएको छ।

एक आन्दोलनकारीको ज्यानसमेत गुमिसकेको कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनरत पक्षले प्रदेशका विभिन्न पालिका र वडा कार्यालयहरुमा तालाबन्दी गर्ने, कोशी प्रदेश लेखिएको कागजपत्र र स्टाम्प जफत गरेर जलाउने कार्य गर्दै आएको छ। आज (बिहीबार) आन्दोलनकारीहरुले धरान उपमहानगरपालिका र विभिन्न वडा कार्यालयहरुमा पनि तालाबन्दी गरेका छन्।

धरान उपमहानगरपालिकामा तालाबन्दी गर्न पुगेका आन्दोलनकारीहरु ।

पूर्वघोषित कार्यक्रम अनुसार नै वडा कार्यालयहरु र उपमहानगरपालिकामा ताला लगाएको संघीय लिम्बुवान मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजमले जानकारी दिए। उनका अनुसार आन्दोलन शान्तिपूर्ण नै रहेको र पुर्वघोषणा अनुरूप भएकोले जनप्रतिनिधि, कर्मचारीहरुलाई पनि सहयोगको लागी आग्रह गरिएको बताए। सुरक्षाकर्मीहरु परिचालित भएपनि धरान उपमहानगरपालिकाको मेन गेट र वडा कार्यालयहरुमा ताला लगाउँदा अवरोध भने गरेनन्।

पूर्व जानकारी भएको कारण वडा कार्यालय बन्द गरेर जनप्रतिनिधि र कर्मचारीहरुबाहिरिसकेका थिए। उपमहानगरपालिकामा भने आन्दोलनरत पक्ष प्रवेश गरेर कर्मचारीहरुलाई बाहिरिन आग्रह गरेका थिए। कर्मचारीहरु बाहिरिएपछि मेनगेटमा आन्दोलनकारीहरुले ताला लगाइदिएका थिए। आन्दोलनकारीहरुले उपमहानगरको दर्ता चलानी फाँटबाट कोशी प्रदेश लेखिएको स्टाम्प जफत गरेर जलाइदिएका थिए।

किरात राई यायोक्खा सुनसरीका सल्लाहकार अशोक राईले आन्दोलनको माग सुनुवाई नभए युद्ध हुने स्थिति आउने भन्दै राजनीतिक दल, सरकार, सांसदहरुले समयमै विचार पुर्‍याउन आग्रह गरे। पहिचानको मुद्दालाई जातीय मुद्दा भनेर प्रदेशको नाम कोशी बनाएको तर त्यो स्वीकार्य नभएको उनले बताए।

पहिचानको लडाई निरन्तर भइरहने र ठुला दलहरुले सम्बोधन नगरे पार्टीहरु कार्यकर्ताविहीन हुने अवस्था आउने पनि उनले बताए।

 धरान उपमहानगरपालिकाको गेटमा कालो झण्डा राख्दै आन्दोलनकारी ।

आन्दोलनमा घाइते भई उपचारको क्रममा निधन भएको पदम लिम्बु (लाजेहाङ) लाई सहिद घोषणा गर्नुपर्ने माग पनि उनले सरकारसँग राखे।

किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष कमल तिगेलाले पनि कोशी प्रदेश नामकरण खारेज हुनै पर्ने र लाजेहाङलाई सहिद घोषणा गर्नै पर्ने बताए। सांसदहरुले जनताले दिएको मतको अवमुल्यांकन गरेको र साम्प्रदायिकरण गरेको पनि उनले बताए। आन्दोलनरत पहिचान पक्षधरहरुले कोशी प्रदेश नाम खारेज गर्नुपर्ने माग गर्दै आएका छन्। 

आन्दोलनको क्रममा चैत ५ गते विराटनगरमा भएको प्रहरीसँगको झडपमा परि घाइते भएर उपचारको क्रममा निधन भएका पदम लिम्बु (लाजेहाङ) लाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने माग गर्दै आएका छन्।

उपचारको क्रममा चैत १० गते निधन भएका मृतक लिम्बुको शव अझै पनि पोष्टमार्टम भएको छैन। मृतकका परिवार र आन्दोलनरत पक्षले राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने, कोशी प्रदेश खारेज हुनुपर्ने माग राख्दै शव जिम्मा नलिने अडान राखेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा रहेको छ।

सरकारले चैत ५ गते भएको घटनाको छानबिन गर्न एक समिति गठन गरिसकेको छ। उक्त समितिले छानबिनको काम थालिसके पनि आन्दोलनरत पक्ष भने समिति गठनप्रति पनि सन्तुष्ट छैन। प्रहरीसँगको झडपमा लिम्बुको निधन भएकोले छानबिन समिति गृह मन्त्रालयको कर्मचारीको नेतृत्वमा नभै मन्त्री वा स्वतन्त्र व्यक्तिबाट हुनुपर्ने आन्दोलनकारीहरुको माग छ । साथै, प्रदेश सरकारले मृतक लिम्बुको परिवारलाई ३ लाख राहत दिने निर्णय गरेकोप्रति पनि आन्दोलनकारीहरु असन्तुष्ट रहेका छन्।

प्रकाशित: १६ चैत्र २०७९ १०:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App