७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

सामुदायिक वन समूह खोटो संकलन गर्दै

दाङमा दश सामुदायिक वन समूहबाट सल्लाको खोटो संकलन गरिंदैछ। वन समूहबाट यस वर्ष करिब नौ लाख ३९ हजार रुपैयाँ बराबरको ७८ हजार दुई सय ५६ किलो खोटो संकलन गरिएको छ।

डिभिजन वन कार्यालय घोराहीका सहायक वन अधिकृत खिमबहादुर केसीका अनुसार खरिद गर्ने कम्पनीले समूहबाट प्रतिकिलो १२ रुपैयाँ र निकासी कर प्रतिकिलो  १२ रुपैयाँ राजस्व तिर्ने गरेका छन्। ‘वन समूहबाट वार्षिक रूपमा सल्लाको खोटो निकाल्ने काम भइरहेको छ’, उनले भने।

जिल्लाका पहाडी क्षेत्रमा रहेका सामुदायिक वन समूहले खोटो बेचेर वार्षिक लाखौं आम्दानी गर्दै आएका छन्। तर, बोक्रा ताछेर सल्लाको रुखबाट खोटो निकाल्दा रुख गर्न थालेका स्थानीयले बताएका छन्। वन समूहले खोटो बेचेर भएको आम्दानीबाट सामाजिक कार्यमा खर्च गर्ने गरेका बङ्गलाचुली गाउँपालिका–८ स्थित ओखलढुङ्गा सामुदायिक वन समूहका सचिव लोकबहादुर गाहामगरले बताए। सो वन समूहले यस वर्ष करिब दुई लाख ५० हजार रुपैयाँको खोटो बिक्री गरेको छ।

उक्त वन समूहबाट दीपमाला रोजिन टर्पिनटाइन कम्पनी, बाँकेले प्रतिकिलो  १२ रुपैयाँका दरले खोटो खरिद गर्दै आएको छ। वन समूहका सचिव गाहामगरका अनुसार ओखलढुङ्गा सामुदायिक वन समूहले यस वर्ष करिव २२ हजार पाँच सय किलो खोटो बेचेको छ।

वन समूहले अनुमति दिएपछि कम्पनीले खोटो संकलन गर्छ। खोटो मात्र निकाल्दा रुखलाई फरक नपर्ने भए पनि सुक्खा समयमा डढेलो लाग्दा रुखलाई असर गर्ने गरेको छ।

‘रुखबाट कम्तीमा आठ-नौ वर्षसम्म निरन्तर खोटो निकाल्न सकिन्छ। आगोले भेटे रुख मर्छ’, उनले भने, ‘खोटो निकाल्दैमा रूख केही हुँदैन, आगोबाट भने बँचाउनुपर्छ।’

त्यसैगरी वडा नं ८ कै गोगनपानी समुदायिक वन समूहले खोटो बेचेर आम्दानी गर्ने गरेको वन समूहका अध्यक्ष मुक्तिराम गाहामगर बताउँछन्। सल्लाको रुखबाट वैशाख-जेठदेखि मंसिर-पुससम्म खोटो संकलन गर्ने गरिन्छ। ‘चिसो मौसममा खोटो कम निस्किन्छ, गर्मी याममा खोटो संकलन गरिन्छ’,उनले भने।

बङ्गलाचुली-८ मा ओखलढुङ्गा, गोगनपानी र दैलेढुङ्गा सामुदायिक वन समूहले खोटो सङ्कलन गर्दै आएका छन्। रासस

प्रकाशित: १६ चैत्र २०७९ ०४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App