१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पाँच लाख लिएर तिब्बती शरणार्थीलाई नागरिकता बनाइदिने गिरोह पक्राउ

नेपाल प्रहरीले तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिएर ठूलो रकम असुल्ने गिरोहलाई पक्राउ गरेको छ। चैत ५ गते तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिइरहेको अवस्थामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको गिरोहलाई बुधबार सार्वजनिक गरेको हो।

‘काठमाडौं जिल्ला प्रशासन कार्यालय आसपास सक्रिय रहेर सरकारी कार्यालयहरूको कागजात, छाप तथा कर्मचारीको दस्तखतसमेत किर्ते गरी झुट्टा लिखत तथा नक्कली सिफारिस तयार गरी तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिएर ठूलो रकम असुल्ने पाँच जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले चैत ५ गते पक्राउ गरेको हो,’ कार्यालयका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले भने, ‘बाँकी अनुसन्धान गरेर थप कारबाहीका गर्न अनुसन्धान गरिरहेका छौं।’

उनका अनुसार तिब्बती शरणार्थीहरूलाई नेपाली नागरिकता बनाइदिने काममा सक्रिय रहेको आरोपमा झापाको कचनकबलका कृष्णबहादुर कटवाल, भक्तपुरको मध्यपुर थिमिका न्युल्केश श्रेष्ठ, मोरङको सुन्दरहरैचाका हिरालाल शिवाकोटी, तनहुँ शुक्लागण्डकी नगरपालिकास्थित तिब्बती शरणार्थी क्याम्पका लोब्साङ ठिन्ले र ललितपुर गोदावरीका विजय लामा रहेका छन्।

प्रहरीले पक्राउ परेकामध्ये कटवालले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट तिब्बती शरणार्थीहरूको सक्कली नेपाली नागरिकता बनाउने क्रममा विभिन्न व्यक्तिहरूलाई नक्कली बाबुका रूपमा उपस्थित गराई सनाखत गराउने गरेको खुलासा प्रहरीले गरेको थियो। उनी १० वर्षदेखि लेखापढी व्यवसायमा संलग्न रही विभिन्न व्यक्तिहरूको नक्कली नागरिकता, विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, बसाइँसराइ, विवाह दर्ता र सम्बन्धविच्छेद लगायत वडा कार्यालयको सिफारिसलगायतका महत्वपूर्ण कागजात बरामद भएको जनाएको थियो। सो गिरोहबाट किर्ते गर्न प्रयोग हुने वडा कार्यालयहरूको छाप तथा दस्तखत र नक्कली कागजात पेस गरी बनाइएको गैरनेपालीले प्राप्त गरेको नागरिकताको सक्कल कपि समेत फेला परेको थियो।

त्यस्तै पक्राउ पर्ने अर्का न्युल्केश श्रेष्ठलाई समेत कटवालले मिङछुङ शेर्पा नामको नक्कली नेपाली नागरिकता बनाई हरेक पटक १० हजार रूपैयाँ दिई भाडामा नक्कली बाबुको रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराई सनाखत गर्ने गराएको प्रहरीले जनाएको थियो। श्रेष्ठले तिब्बती शरनार्थीहरू सोनाम छोडेन, टासी शेर्पा, यशोदा शेर्पा र नाम्से शेर्पालगायतको सक्कली नेपाली नागरिकता बनाउन नक्कली बाबु बनेको खुलेको थियो।

‘सो गिरोहले तिब्बती शरणार्थीको नागरिकता बनाउन प्रतिव्यक्ति ३ देखि ५ लाख रूपैयाँसम्म असुल्ने गरेको अनुसन्धानबाट खुलेको छ,’ उनले भने, ‘पक्राउ परेका लोब्साङ ठिन्ले तिब्बती शरणार्थी क्याम्पमा बस्दै आएका र उनले गत फागुन ३० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लोब्साङ ठिन्ले गुरुङको नामबाट स्थायी ठेगाना कामनपा–१७ राखी नागरिकता प्रमाणपत्र नम्बर २७–०१–७९–१५९०१ को नेपाली नागरिकता लिएको देखिएको छ।

त्यस्तै नेपाली नागरिकता लिएका अन्य ३० जनामाथि थप अनुसन्धान भइरहेको छ।’ प्रहरीका अनुसार तिब्बती शरणार्थीसहित अन्य नेपालमा रहेका विदेशी नागरिकलाई सक्कली नेपाली नागरिकताको प्रमाणपत्र दिलाउने काममा सक्रिय रहेको गिरोहसँग मिलेमतो गरेका काठमाडौं जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कार्यरत पूर्व तथा बहालवाला कर्मचारीहरूमाथि समेत अनुसन्धान भइरहेको छ। 

प्रकाशित: ९ चैत्र २०७९ ०३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App