भेरीगंगा नगरपालिकाको जहरेबाट गुर्भाकोट नगरपालिकाको गुमी जाने सडकको भेरी किनार नजिकै सडक किनारको दायाँ र बायाँ लहरै ३२ वटा घरहरु बनेका छन्। मुक्त हलियाका लागि राज्यले बनाइदिएका ३२ मध्ये ३० घरहरु सात वर्षदेखि रित्तै छन्। बनेका घरमा मुक्त हलियाहरु नबस्दा जीर्ण हुँदै गएका छन्। केही घरका छाना उडेका छन्। घरभित्र मानिसहरु नबस्दा झाडी उम्रिएको छ।
सरकारी तथ्याङ्कमा सुर्खेतमा ४५६ परिवार मुक्त हलियाहरु देखिन्छन्। ती मध्ये भेरीगंगा नगरपालिका अन्तर्गत पर्ने साबिकको मैनतडा गाविसका ३२ मुक्त हलिया परिवारका लागि सरकारले जग्गा खरिद गरेर गुर्भाकोटको गुमीस्थित भेरी किनारको समथर फाँटमा घर बनाइ दिएको हो। ‘मुक्त हलियाहरुका लागि जग्गा खोज्दै जाँदा गुमीमा सस्तोमा फेला पा¥यौं, त्यहीँ जग्गा किनेर घर बनाइदिएका हौं,’ मुक्त हलिया समाज सुर्खेतका अध्यक्ष यामराज मल्लले भने, ‘घर बनाइदियौं, बस्न कोही नआउँदा अहिले ती घरहरु जीर्ण बन्दै गएका छन्, केही घरका त छानासमेत हावाहुरीले उडाएको छ।’
खासमा जसका लागि घर बनाइएको हो उनीहरुको साबिकको मैनतडा गाविसमै आवश्यक जमिन र घरहरु छन्। उनीहरु बस्दै आएको जमिनको पुर्जा नहुँदा दर्तावाला जमिन खोजेर घर बनाइएको मल्लले जानकारी दिए। ‘उनीहरुसँग जमिनको पुर्जा नभएकाले राज्यको नीति अनुसार दर्तावाला जग्गा किनेर घर बनाउनुपर्ने बाध्यता हामीसँग थियो,’ अध्यक्ष मल्लले भने, ‘घर मात्रै भयो, त्यहाँ बसेर जीविकोपार्जन गर्ने माध्यम नभएकाले बनेका घरमा मुक्त हलियाहरु नबसेका हुन्।’
मुक्त हलियाहरुका लागि आर्थिक २०७२ सालमा यी घरहरु बनेका हुन्। राज्यले यी घर बनाउन र जग्गा खरिद गर्नका लागि एक करोड ३६ हजार रुपैयाँ खर्चिएको छ। जिल्ला मालपोत कार्यालयका अनुसार जग्गा खरिदका लागि प्रति घर दुई लाख र घर बनाउनका लागि दुई लाख २५ हजार रुपैयाँ खर्च भएको थियो। ‘हलियामुक्त कार्यक्रमनै अहिले निष्क्रिय रहेकाले पछिल्लो अवस्था के छ भन्ने हामीलाई जानकारी छैन्,’ मालपोत कार्यालय सुर्खेतका प्रमुख चेतनकुमार खत्रीले भने, ‘तथ्याङ्क हेर्दा प्रति परिवारलाई जग्गा खरिद गरेर घर बनाइदिँदा चार लाख २५ हजार रुपैयाँ खर्च भएको देखिन्छ।’
३२ घर मध्ये दुई वटा घरमा मात्रै मुक्त हलिया छन्। झुपे कामी र लोगे कामी दुई घरमा बसेका छन्। ७० वर्ष कटेका झुपे हिँडडुल गर्न सक्दैनन्। ‘यहाँ जसका लागि घर बनाइएको हो उनीहरु सबै कमाउन कालापहाड जान्छन्,’ झुपेले भने, ‘कमाउने ठाउँ भइदिएको भए आएर बस्थे, तरकारी लगाउनेसमेत जमिन नभएकाले कोही नआएका हुन्।’ ३२ मध्ये १७ घर जहरेदेखि गुमी जाने सडकको उत्तरतर्फ छन् भने बाँकी घर दक्षिणतर्फ छन्।
स्थानीय लोगे कामीले बनाएका घरमा बसौं भन्दा कोही पनि मैनतडाबाट गुमी जान नमानेको बताए। ‘यहाँ जमिन र घर भएपनि त्यो ऐलानीमा बनेका छन्, सरकारले हाम्रा लागि बनाइदिएको घरमा गएर बसौं भनेर धेरै पटक सल्लाह गरेँ,’ उनले भने, ‘सागपात लाउनेसमेत ठाउँ नभएकाले त्यहाँ ९गुमी०मा कोही पनि जान मान्दैनन्।’
गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुन २०७४ मा आफूहरु निर्वाचित भएर आउनुअघिनै ती घरहरु बनेको बताए। ‘घर बनेपनि त्यहाँ मुक्त हलियाहरु बस्दैनन्,’ उनले भने, ‘हलियाहरुका लागि बनाइएका घर स्थानीय सरकारले अरु प्रयोजनमा लगाउन पनि मिल्दैन्।’ उनले जुन उद्देश्यका लागि घरहरु बनाइएका हुन् सोही अनुसार कार्यान्वयन गर्नका लागि सरोकारवाला निकायमा देखि पठाइएको बताए। ‘हलियाहरु नबस्ने भए ती घरहरु अरु प्रयोजनमा प्रयोग गर्न सकिन्थ्यो,’ उनले भने, ‘सरोकारवाला कार्यालयहरुबाट पत्रको जवाफ आएको छैन्।’
प्रकाशित: ४ चैत्र २०७९ ०८:२० शनिबार