१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

सेखुवा-चखेवा भञ्ज्याङ सडकमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग

कालोपत्रको काम भइरहेको मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल-चखेवाभञ्ज्याङ सडक खण्डको सेखुवा-चखेवा भञ्ज्याङ सडक खण्डमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको पाइएको छ।

 जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई नेतृत्वको टोलीले गरेको निरीक्षणमा ठाउँठाउँमा कम गुणस्तरको सब-वेस तयारी अवस्थामा राखिएको र ढलानमा माटो मिसिएको बालुवा प्रयोग गरेको पाइएको हो।

सेखुवा-चखेवाभञ्ज्याङ (दश किलोमिटर) लामो सडकखण्ड ३२ करोड रुपैयाँको लागतमा कालोपत्र गर्ने जिम्मा कम्पनी भारत कन्स्ट्रक्सन-मैनाचुली-सिद्धिशाही जेभी काठमाडौंले पाएकामा निर्माण सुरु गरेको सात वर्षसम्म काम अलपत्र बनेको थियो।

कजवे निर्माणका क्रममा मापदण्ड विपरीत बालुवा प्रयोग गरिएको भेटिएको समन्वय समिति प्रमुख राईले बताए। ‘निर्माण कम्पनीलाई कम गुणस्तरको निर्माण सामग्री हटाउन तथा माटो मिसिएको बालुवा प्रयोग गरेर निर्माण गरिएको स्ट्रक्चर भत्काएर पुनः गुणस्तरीय बालुवा प्रयोग गर्न निर्देशन दिइएको छ’, उनले भने, ‘निर्माण कम्पनीलाई स्टयान्डर्ड स्पेसिफिकेसन फर रोड एन्ड ब्रिज वर्कस्, २०७३ अनुसार गुणस्तरीय निर्माण सामग्री प्रयोग गर्न कागज समेत गराइएको छ।’

२०७५ साल फागुन ३० सम्ममा सम्पन्न गर्ने गरी उक्त निर्माण कम्पनीले २०७२ साल चैत २ गते चखेवा भञ्ज्याङ–सेखुवा सडक खण्ड कालोपत्रका लागि सम्झौता गरे पनि सम्झौता अनुसार काम नगरेपछि थप भएको पहिलो म्याद २०७७ साल पुस १३, दोस्रो म्याद २०७८ साल असार १३ र तेस्रोपल्ट थप भएको म्याद २०७८ साल फागुन ३० गते सकिसकेको थियो।

नेपाल सरकारले जारी गरेको सार्वजनिक खरिद नियमावलीको बाह्रौं संशोधन अन्तर्गत सो आयोजनाको म्याद आगामी असार मसान्तसम्म थप भएकामा निर्माण कम्पनीको ढिलासुस्तीका कारण थप म्यादभित्र सडक कालोपत्रको काम सम्पन्न हुने अवस्था नदेखिएको समन्वय प्रमुख राईले बताए।

ढिलासुस्ती भएपछि मध्यपहाडी लोकमार्ग योजनाको कार्यालयले ठेक्का तोड्न गत मंसिर १८ गते सडक विभागसमक्ष सिफारिस गरेपछि काम गरेको ठेकेदार कम्पनीले चैत पहिलो सातादेखि डिबिएसटीको काम सुरु गर्ने र वैशाख मसान्तसम्ममा डिबिएसटीको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो तर ठेकेदारले आफ्नो ‘सेड्युल’ अनुसार काम नगरेको उनले बताए।

छिमेकी जिल्ला भोजपुरका  बासिन्दाले समेत राजधानी काठमाडौं आवतजावतमा प्रयोग गर्ने उक्त सडक कालोपत्रको काम ठेकेदारले अलपत्र पारेपछि मध्यपहाडी लोकमार्ग योजना कार्यालयले ठेक्का तोड्न सडक विभागसमक्ष सिफारिस गरेको थियो।

उक्त कार्यालयले ठेक्का तोड्न सिफारिस गरेको केही समयपछि खोटाङको साकेला गाउँपालिकाका प्रमुख रविप्रकाश राईको रोहवरमा मैनाचुली निर्माण सेवा कम्पनीका प्रतिनिधि मदनकुमार अधिकारीले कार्यतालिका बनाएर बाँकी काम आगामी असार मसान्तभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए।

यसैबीच मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको पंखुखोला पुल निर्माणको काम रोकिएको छ। म्याद नाघेको वर्षौं बितेपछि निर्माणको काम सुरु भएको पंखुखोला पक्की पुलको काम पुनः रोकिएको हो।

पंखु खोलामा अबुटमेन्ट र लिफ्ट ढलान गरिएकामा हाल निर्माणस्थलमा निर्माण सामग्री डण्डी, गिट्टी, बालुवा र सिमेन्ट नदेखिएकाले  निर्माण कार्य रोकिएको पाइएको जिसस प्रमुख राईले बताए। निर्माण कम्पनीलाई तत्काल आवश्यक निर्माण सामग्री ल्याएर उक्त निर्माणाधीन पक्की पुलको काम पुनः गर्न निर्देशन दिइएको बताइएको छ। रासस

प्रकाशित: २९ फाल्गुन २०७९ ०७:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App