१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

फेवातालमा चालकबिना डुंगा चलाउन प्रतिबन्ध, दिउँसो साढे तीन बजेपछि चलाउन नपाइने

पोखरा फेवातालमा तैरिएका डुंगा। शनिबारको दुर्घटनापछि कास्की प्रशासनले चालकबाहेक अरुलाई डुंगा चलाउन रोक लगाएको छ। तस्बिरः नागरिक

शनिबार दिउँसो एकाएक हुरि चल्दा फेवातालमा डुंगा दुर्घटना भएर एकजनाको ज्यान गयो। ‘लाइफ ज्याकेट’ लगाएकोले दुर्घटनामा परेको एकै डुंगामा सवार अरु यात्रु भने सुरक्षित रहे। त्यसबाहेक कायकमा रमाईरहेका अरु थप चारजना युवायुवतीको पनि लाइफ ज्याकेटका कारण ज्यान जोगियो। लाइफ ज्याकेटले शनिबार मात्र डुंगामा सवार पाँच र अरु चारजना गरि नौजना यात्रुको ‘लाइफ’ जोगायो।

लाइफ ज्याकेटले मानवीय क्षति त कम ग¥यो नै, यात्रु आफैले जानी नजानी तालमा डुंगा सयर गराउँदा यो घटना घटेको डुंगा व्यवसायी र कास्की प्रशासनको ठहर छ। यात्रु आफैले डुंगा चलाउँदा जोखिम हुने निष्कर्ष निकाल्दै फेवातालमा अबदेखि डुंगा सयर गराउँदा चालक अनिवार्य गरिएको छ। यसअघि यात्रु आफैले डुंगा चलाउन जानेको भन्दै रिजर्भ गरेर लैजाने चलन थियो। तर, अब भने प्रशासनले चालक बिना डुंगा सयर गराउन नपाउने गरि कडाई गरेको छ।  

शनिबार दिँउसोको हावाको झोक्कामा परेर पोखरा महानगरपालिका–१ बगरको एकैपरिवार सवार डुंगा फेवातालमा घोप्टिएको थियो। एकाएक बेतोडले हावा चल्दा तालमा उठेको छालले डुंगा पल्टाउँदा आफै सवार डुंगाले च्यापिएर पोखरा–१ बगरकी ७० वर्षिया याममाया गिरीको मृत्यु भएको थियो। लाइफ ज्याकेट लगाएका कारण अरु यात्रु भने पानीमा तैरिएका थिए।  

डुंगा व्यवसायी संघका अध्यक्ष बलराम गिरीका अनुसार शनिबार दिउँसो दुर्घटनामा परेको डुंगा व्यवसायिक रुपमा रिजर्भ गरेर लगेको नभई साथीको डुंगा मागेर यात्रुहरु ताल सयरमा निस्केका थिए। साथीको डुंगा मागेका ती यात्रुले चालक पनि लगेका थिएनन, आफैले डुंगा खियाएका थिए। ‘चालक बिना नै यात्रुले डुंगा लिएर तालमा निस्केका रहेछन। रिजर्भमा पनि लगेको होइन, आफैले जानेको भन्दै डुंगा मागेर लगेका रहेछन,’ गिरीले भने।  

गिरीका अनुसार एकाएक बेतोडको हावा चलेपछि तालमा छाल उठेको थियो। पानी र हावाहुरी सहित तालमा छाल उठेपछिको बाछिटाबाट जोगिनका लागि डुंगामा सवार यात्रु एकापट्टि मात्र गएछन, त्यसो गर्दा सन्तुलन गुमाएर डुंगा ढल्किएर घोप्टिएको थियो। ‘छालको पानीले हुत्याउने र हावाहुरीले हल्लाएपछि सबै यात्रु एकैतिर थुप्रिँदा सन्तुलन बिग्रेर डुंगा घोप्टिएको रहेछ,’ उनले भने, ‘एकाएक हावापानी र छालको भूमरीमा पर्दा यात्रु अत्तालिँदा दुर्घटना भएको हो।’  

‘कम्तिमा चालकले छालको दिशा र गति थाहा पाउँथे, त्यसैले अनुसार जोगाउँथे, तर, यात्रुलाई त्यो जानकारी नै भएन, एकाएक हुत्यायो, अनि बाछिटा पनि आयो, सबैजना यात्रु एकातिर मात्र थुप्रिए, त्यसले गर्दा डुंगा ढल्कियो र पल्टिन पुग्यो,’ उनले भने।

उनका अनुमानमा यदि डुंगामा चालक हुन्थे भने शनिबार घटना घट्दैनथ्यो वा मानवीय क्षति नहुन सक्थ्यो। ‘चालकहरु छालमा कसरी जोगिने भनेर अनुभव बटुलेका छन्। अहिले मात्र छाल उठेको होइन, अरुबेला पनि यस्तो जोखिम निम्तिन्छ, त्यो बेला चालकले सुरक्षित उतार्छन,’ गिरीले भने, ‘तर, शनिबार चालक बिना यात्रु आफैले डुंगा लिएर सयरमा निस्केका रहेछन्। त्यसले गर्दा अप्ठेरो आउँदा सुरक्षित हुन सकेनन।’  

गिरीका अनुसार चालक रहेको भए चालकले यात्रुलाई सन्तुलन बिग्रन नदिनेगरि डुंगामै बस्न लगाएर सुरक्षित साथ पार लगाउँथे। तर, यात्रुहरु चालक बिना यात्रामा निस्कँदा अत्तालिन पुग्दा दुर्घटना भएको हो। लाइफ ज्याकेटका कारण धेरै यात्रुको ज्यान जोगिएको उनले बताए।  

आइतबार कास्की प्रशासनमा भएको छलफलमा अबदेखि चालकबिना डुंगा सयर गराउन नपाउने गरि कडाई गर्ने निर्णय भएको पनि गिरीले बताए। चैतदेखि जेठसम्मको तीनमहिना अवधिका लागि चालकबिना यात्रुले मात्र डुंगा चलाउन नपाउने उनले बताए। ‘जो कोहीले डुंगा चलाउन जान्दैनन, एकछिनका लागि मात्र भनेर पानीमाथि हेलचेक्रयाँइ गर्नु हुँदैन,’ उनले भने।  

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले शनिबारको घटनापनि प्रशासनले फेवातालमा डुंगा सयर गर्ने र गराउने तरिकाप्रति गम्भिर भएको बताए। उनका अनुसार अबका केही महिना दिउँसो साढे ३ बजेपछि तालमा डुंगा चलाउन नदिने निर्णय भएको छ। त्यस्तै चालक बाहेकलाई डुंगा चलाउन नदिनेगरि कडाई गर्न व्यवसायिलाई निर्देशन पनि दिइएको छ।

 ‘दिउँसो साढे ३ बजेपछि पोखरामा दिनहँुजसो हावाहुरी चल्ने र पानी पर्ने हुन्छ। त्यसले गर्दा सतर्क हुन जरुरी छ,’ प्रजिअ केसीले भने, ‘तालमा रमाउने भन्दैमा जोखिम मोल्नु हुँदैन। हावाहुरी आउने र पानी पर्ने भएकोले दिउँसो साढे ३ बजेपछि डुंगा चलाउन नपाउने गरि कडाई गर्ने निर्णय भएको छ।’  

प्रजिअ कोसीले पनि चालक बाहेकलाई डुंगा चलाउन नदिने निर्देशन व्यवसायीलाई दिएको बताए। ‘डुंगा संचालनमा मापदण्ड लगाएर कडाई गर्दैछौ। सर्वसाधारणको ज्यान जोखिममा पार्न पाइदैन। अहिलेसम्म डुंगा संचालनमा कुनैपनि मापदण्ड बनेको रहेनछ,’ प्रजिअ केसीले भने, ‘अब मापदण्ड बनाएर कस्ने तयारी भएको छ।’ पोखरा फेवातालमा मात्र विभिन्न आठवटा घाट छन्। ती घाटबाट डुंगा संचालन हुन्छन्। फेवा डुंगा व्यवसायी समितिमा सबैगरि ७६७ वटा डुंगा संचालनमा छन्। ती डुंगा आलोपालो प्रणालिमा संचालन हुन्छन्।

प्रकाशित: २१ फाल्गुन २०७९ ११:४७ आइतबार

डुंगा फेवाताल चालक