सुमन मल्ल
कात्तिक–पछिल्ला केही वर्ष प्राकृतिक विपत्तिका कारण अन्नबालीमा क्षति पुग्दा मुगुमा खाद्यान्न अभाव हुँदै आएको छ । दुई वर्षअघि किसानले लगाएको बर्खेबाली पाकेर भिœयाउन लागेका बेला कात्तिकको पहिलो साता परेको असिनापानीले नष्ट गर्दा जिल्लाभरि खाद्यान्न अभाव भएको थियो । त्यतिबेला धान, कोदो, सिमी, फापर लगायत अन्नबाली नष्ट भएको थियो । असिनापीडितका लागि सरकारले दिएको राहत खाद्यान्न खत्याड भेगका केही पीडितले अहिलेसम्म पाउन सकेका छैनन् । खाद्यान्न हिनामिना भएको विषयमा जिल्लास्तरीय छानबिन समिति गठन भई प्रतिवेदन समेत पेस गरिएको थियो । त्यतिबेला ३० लाख रुपैयाँ बराबरको खाद्यान्न हिनामिना गरिएको प्रतिवेदनमा उल्लेख थियो । तर, त्यो प्रक्रियाबीचमै अलपत्र परेको छ ।
गत वर्ष पनि लामो खडेरीका कारण जिल्लाभरि खाद्यान्न अभाव भयो । सरकारले खडेरीपीडितका लागि पठाएको राहत खाद्यान्न जिल्लाका ग्रामीण क्षेत्रमा अझैसम्म पुग्न सकेको छैन । यो वर्ष पनि असारदेखि लगातार वर्षाका कारण जिल्लाभरि खाद्यान्न उत्पादनमा गिरावट आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाको अनुमानित कुल उत्पादन आठ हजार आठ सय ४५ मेट्रिक टनमध्ये पाँच प्रतिशत भण्डारणपूर्व नै क्षति हुने अनुमान कार्यालयको छ । बढी वर्षा, कीरा–फट्यांग्राका कारण पाँच प्रतिशत ह्रास हुने अनुमान कार्यालयको हो ।
यस वर्ष जिल्लामा आठ हजार चार सय पाँच दशमलव ७५ मेट्रिक टन उत्पादन हुने र नेपाल खाद्य संस्थानले सहुलियत दरमा जिल्लाभर उपलब्ध गराउने १५ सय मेट्रिक टन हिसाब गर्दा पनि १३ सय ७५ मेट्रिक टन खाद्यान्न अपुग हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख तेजविक्रम मल्लले जानकारी दिए ।
मल्ल भन्छन्, ‘राष्ट्रिय जनगणना ०६८ अनुसार जिल्लाको कुल जनसंख्या ५५ हजार दुई सय ८६ छ । यसअनुसार प्रतिव्यक्ति वार्षिक एक सय ९१ केजी खाद्यान्न आवश्यक पर्ने र यही हिसाबले कुल जनसंख्यालाई वार्षिक ११ हजार दुई सय ५२ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ ।’
जिल्लाको कुल क्षेत्रफल तीन लाख १० हजार तीन सय १० हेक्टर रहेको छ भने यसमा खेतीयोग्य जमिन १९ हजार तीन सय ४० हेक्टर छ । कुल खेतीयोग्य जमिनको ९५ प्रतिशत अर्थात् १८ हजार चार सय २१ हेक्टर क्षेत्रफल जमिनमा खेती हुन्छ । कुल खेतीयोग्य जमिनमध्ये सिँचाइ हुने क्षेत्रफल एक हजार नौ सय २९ हेक्टर रहेको छ भने बाह्रैमास सिँचाइ हुने एक हजार ६९ हेक्टर रहेको छ । त्यस्तै, आंशिक रूपमा सिँचाइ हुने जमिन आठ सय ६० हेक्टर रहेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकले देखाउँछ ।
जलवायु परिवर्तनका कारण कहिले लामो खडेरी, कहिले धेरै वर्षा हुने तथा सिँचाइयोग्य जमिन भए पनि पर्याप्त सिँचाइका लागि पानीको स्रोत नहुँदा अकासेपानीको भरमा खेती गर्नुपर्ने भएकाले जिल्लाले हरेक वर्ष खाद्यान्न अभाव झेल्नुपरिरहेको कार्यालयको भनाइ छ । पछिल्ला केही वर्ष जलवायु परिवर्तनको ठूलो मार कृषक तथा कृषि क्षेत्रले भोग्नुपरिरहेकाले अब जलवायु परिवर्तनसँग जुध्ने खालका कृषि रणनीति तयार गरिनुपर्ने र यसतर्फ सरोकारवाला निकायको ध्यान केन्द्रित हुनुपर्ने कार्यालयको बुझाइ छ ।
प्रकाशित: २१ कार्तिक २०७३ ०२:१५ आइतबार