२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

महमा शङ्का! मौरी नै लैजानुस्

खानपान

धेरैले मह मन पराउँछन्। तर, अधिकांशलाई महको शुद्धतामै शंका छ। गोठाटारका निरज पुडासैनी पनि तिनै मध्येका एक हुन्। शुद्ध महको खोजीमा उनी अन्ततः मौरीकै घारसम्म पुगे। शुद्ध मह खाने रहर मौरीको घार किनेपछि मात्र पूरा भएको उनले सुनाए। ‘अघिल्लो वर्ष एक घार मौरी किनेको थिए,’ उनले भने, ‘त्यसैबाट करिब दुई केजी मह निकालेको छु।’

राजधानीका चरन फाँटहरू साँघुरिँदै गए पनि शुद्ध महको रहर गर्नेहरूले राजधानीका विभिन्न ठाउँबाट मौरीका घार किन्न थालेका छन्। यहाँ व्यवसाय गर्नभन्दा पनि शुद्ध मह खाने रहर पूरा गर्न यसतर्फ आकर्षण बढेको देखिन्छ। ‘मैले पनि दुई घार मौरी ल्याएको छु,’ थलीका प्रदीप सिंखडाले भने, ‘सोचेजति मह त पारेको छैन, तर रहर भने पूरा भएको छ।’

निरज र प्रदीपले जस्तै धेरैले महको शुद्धतामा शंका गर्न थालेपछि मह व्यवसायी अफ्ठ्यारोमा परेका छन्। महबाट सोचेजति आम्दानी नभएपछि उनीहरूले ‘महमा शंका लागे मौरी नै लैजानुस्’ भन्न थालेका छन्। यस्तो भन्नेमा एक हुन्, ‘माउन्टेन वि कर्न्सन’की सरिता भट्टराई श्रेष्ठ। विगत १० वर्षदेखि मौरीपालनमा लागेकी उनले जतिसुकै शुद्ध मह तयार गरे पनि क्रेता विश्वस्त हुन नसकेको गुनासो पोख्छिन्।

‘बजारमा आकर्षक प्याकिङमा नक्कली मह देखिन थालेपछि किसानका शुद्ध महमा पनि शंका गर्न थालिएको छ,’ उनले भनिन्, ‘आम मानिसमा रहेको यो अविश्वास तोड्न निकै मुस्किल छ।’ सक्कली र नक्कली मह छुट्टयाउने क्षमता ग्राहकमा नदेखिएका कारण समस्या आएको सरिताको बुझाइ छ।

मौरीकी ‘रानी’

मौरीको घारमा रानी हुन्छ। त्यसैलाई घेरेर मौरीको संसार चल्छ। मौरीको घार बाहिर भने सरिता ‘रानी’ जस्तै देखिन्छिन्। धापाखेलमा रहेको उनको फार्म मौरी किन्नेदेखि मह किन्नेसम्मको भिडले उनी सधैंजसो घेरिन्छिन्।

विगत एक दशकदेखि प्रत्यक्ष रूपमा मौरीपालन व्यवसायमा लागेकी सरिताले विवाहपछि मौरी र मह दुवैमा उत्तिकै लागेको बताइन्। उनले वार्षिक ५ करोडसम्मको व्यापार गर्ने गरेको सुनाउँछिन्। मौरीपालन र मह व्यवसायमा दत्तचित्त उनी किसानलाई ज्ञान बाँड्न पनि उत्तिकै अग्रसर देखिन्छिन्।

धापाखेलमा रहेको कार्यालयबाट उनले अघिल्लो वर्ष ३ सयभन्दा बढी किसानलाई मौरीको आधारभूत तालिम दिएको सुनाइन्। ‘हामीलाई किसानले मह होइन माहुरी किनेर लैजाऊन् जस्तो लाग्छ,’ उनले भनिन्, ‘यसरी लगेका मौरीको महले उनीहरूको समृद्धि होस् भन्ने चाहन्छौं।’

सुरुमा आफू र परिवारका लागि काम गरेको ठान्ने उनी पछिल्लो समय समाजका लागि पनि काम गर्न अग्रसर भएको सुनाउँछिन्। ‘किसानको उत्पादन राम्रो भएपछि हाम्रो उद्देश्य पनि पूरा हुन्छ,’ उनले थपिन्, ‘त्यसैले धेरैभन्दा धेरै मह उत्पादन होस् भन्ने चाहन्छौं।’

मौरीले विदेश उडायो

मौरीपालनमै लागेका कारण सरिताले आधा दर्जनभन्दा बढी मुलुक घुम्न पाएको सुनाउँछिन्। विभिन्न देशमा हुने महमेलामा सहभागी भई नेपालको मह प्रचार गर्न पाएकोमा उनी खुसी छिन्। ‘यसै साता दिल्ली मेलामा जाँदै छु,’ उनले भनिन्, ‘चैतको पहिलो साता दुवई जाँदै छु।’

विदेशमा नेपाली महप्रति धेरैको आकर्षण रहेको उनले सुनाइन्। ‘विदेशी मात्र होइन, त्यहाँ बस्ने नेपाली पनि मह भनेपछि हुरुक्कै हुन्छन्, ‘उनले भनिन्, ‘विदेशमा महको बजार झनै राम्रो भेटिन्छ।’

सरकारले किसानको समस्यालाई सम्बोधन नगरेका कारण किसान निराश हुँदै गएको मौरीपालक महासंघको गुनासो छ। नेपाल मौरीपालक महासंघ चितवनमा पूर्व अध्यक्ष राजेन्द्र गौतम बाहिरबाट आएको महका कारण यहाँ उत्पादित मह खपत हुन नसकेको गुनासो गर्छन्।

‘नेपालमा अत्यधिक मात्रामा विदेशी मह आयात हुँदा स्वदेशी शुद्ध मह बजारमा खपत हुन सकेको छैन,’ उनले भने, ‘यस्तोमा किसान निराश हुने गरेका छन्।’ विदेशबाट आएको महले बजार लिनु तर यहाँका किसानले राम्रो बजार नपाउनु दुर्भाग्य भएको उनले बताए।

यही दुर्भाग्यका माझ सरिता आशावादी छिन्। नेपालका विभिन्न भूभागमा फुल्ने थरीथरीका महले संसारको मन जित्ने उनको विश्वास छ। ‘चेपाङ बस्तीका चिउरीदेखि राप्ती किनारको रुदिलोको स्वाद यहाँको महमा पाइन्छ,’ उनले भनिन्, ‘फूल र फूलजस्ता मान्छेको कथासँगै मह बेच्ने हो भने त्यो संसारकै सबैभन्दा स्वादिलो मह हुने छ।’

घारको मूल्य कति?

प्रतिघार मौरीको मूल्य १० हजारदेखि १२ हजारसम्म पर्छ। घारमा चारदेखि पाँच फ्रेम मौरी आउँछन्। सिजनअनुसार १५ दिनदेखि १ महिनामा त्यो संख्या दोब्बर हुने छ। यो अवस्थामा मोरी अर्को रित्तो घारमा आधा राख्न सकिन्छ। यसरी मौरीको घार बढाउँदै गइन्छ। मौरीपालन अगाडि आधारभूत जानकारी लिएमा यो निकै सहज रहेको किसानको अनुभव छ।

चरन क्षेत्र

मौरी दुई प्रकारका हुन्छन्। एक थरीलाई घरमै राखेर पालिन्छ। अर्का थरी विभिन्न ठाउँमा चराउँदै पालिन्छ। जस्तो दाङमा तोरी फुलेको समयमा दाङ पुर्‍याइन्छ। चितवनमा चिउरी फुलेको बेला चितवन पुर्‍याइन्छ। केही समय त्यहीं राखेर उत्पादिन मह बेचेर किसान फर्किने गरेका छन्।

जोखिम

पछिल्लो समय चरन क्षेत्रमा जोखिम बढ्न थालेको छ। किसानले उत्पादनका लागि किटनाशक औषधी प्रयोग गर्दा मौरी मर्ने सम्भावना बढेको छ। त्यसैले मौरीपालक किसानले सचेत हुँदै चरन क्षेत्रमा लैजानुपर्ने अवस्था आएको छ।

अन्य जानकारी

पहिला पहिला मौरीलाई काठको बाकस, काठको खोपा, काठको मुढा आदिमा राखेर पालन गरिन्थ्यो। अहिले आधुनिक तरिकाबाट मह निकाल्न मिल्ने चौकोस पे्रmम घारमा मौरी पाल्ने गरिन्छ।

नेपालमा मेलिफेरा र सेराना जातका मौरीपालन गर्ने गरेका छन्। मेलिफेरा जातको मौरीलाई तराई र भित्री मधेसमा पालन गर्न सकिन्छ भने सेराना जातको मौरीलाई उच्च पहाडी क्षेत्रमा पालन गर्न सकिने किसानको अनुभव छ।

मौरीको घार खोल्दा गर्मी मौसममा बिहान ९ बजेदेखि ११ बजे र दिउँसोमा २ देखि ४ बजेसम्म खोली सक्नुपर्छ। त्यसैगरी समय र मौसम अनुकूल छ-छैन हेर्नुपर्छ। घार खोल्दा जहिले पनि प्रवेशद्वारको विपरीत दिशातर्फ बसेर खोल्ने गर्नुपर्छ।

प्रकाशित: २० फाल्गुन २०७९ ००:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App