२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

पशुपतिमा भारतीय राष्ट्रपतिले लाखबत्ती बाल्ने

काठमाडौँ- पशुपतिनाथ मन्दिरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले लाखबत्ती र पञ्चामृत अभिषेकसहितको विशेष पूजा गर्ने भएका छन्।

बिहीबार बिहान राष्ट्रपति मुखर्जीले पशुपतिमा विशेष पूजा गर्ने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए।

बिहीबार बिहान पशुपतिको पश्चिम मूलद्वारबाट भारतीय राष्ट्रपति मुखर्जी प्रवेश गरेपछि नेपाल वेद विद्याश्रमका १०८ जना वटुकले उनको स्वागतमा विशेष स्वस्ति वाचन गर्ने कार्यक्रम छ। गार्गी कन्या गुरुकुलका छात्राले पनि पशुपति परिसरको दायाँबायाँ बसी उनको स्वागत गर्नेछन्।

राष्ट्रपति मुखर्जी गौशाला चोकबाट पशुपति परिसरमा प्रवेश गरेपछि उनको स्वागतमा धिमे बाजा, पञ्चेबाजालगायत बाजागाजा एवम् मौलिक धुन प्रस्तुत गरिने पनि कोषले जनाएको छ। स्थानीयवासी एवम् दर्शनार्थीले पशुपति परिसरमा उभिएर राष्ट्रपति मुखर्जीको स्वागत गर्नेछन्। पशुपतिमा विशेष पूजाको तयारीस्वरुप प्रवेशद्वारको निर्माण, सरसफाइलगायत काम सम्पन्न भएको छ।

बिहीबार बिहानको विशेष पूजालाई मध्यनजर गरी पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ । मित्रराष्ट्र भारतका राष्ट्राध्यक्षको विशेष पूजालाई अविस्मरणीय बनाउने गरी तयारी भएको सदस्य सचिव डा. टण्डनले बताए।

राष्ट्रपति मुखर्जी पशुपति दर्शन विधिअनुसार पशुपति परिक्रमा गरी गर्भगृहमा प्रवेश गरेर विशेष पूजा सकी फर्केपछि आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम छ। त्यसपछि कोषकातर्फबाट उनलाई उपहारस्वरुप मायाको चिनो प्रदान गरिनेछ।

भारतीय राष्ट्राध्यक्षले १८ वर्षपछि पशुपति दर्शन गर्न लागेका हुन्। यसअघि पूर्वराष्ट्रपति के आर नारायणन्ले विसं २०५५ जेठमा पशुपतिमा फर्माइसी पूजा गरेका थिए।

पशुपतिनाथ मन्दिरलाई द्वादश ज्योतिर्लिङ्गको पनि शिर मानिने भएकाले भारत एवम् विश्वभरका हिन्दू धर्मावलम्बीको विशेष आकर्षणको केन्द्र भन्ने गरिएको छ। रासस

 

प्रकाशित: १७ कार्तिक २०७३ १२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App