रत्ननगर (चितवन)- गिठा र भ्याकुर खोजेर खाने तथा खोरिया फाँडेर मकै कोदो लगाएर बस्ने विकट गाउँका चेपाङको दिनचर्या फेरिन थालेको छ।
अहिले कतिपय चेपाङ बाख्रा पालनमा सक्रिय छन् भने कतिपय तरकारी खेतीबाट मनग्य आम्दानी लिन थालेको शक्तिखोरका दलबहादुर चेपाङको भनाइ छ ।
केही चेपाङ अझै छ महिना अनिकाल र छ महिना सहकालमा जीवन गुजार्दै आए पनि धेरैजसो भने व्यावसायिक हुन थालेका छन् । चन्डिभञ्याङका कुमार चेपाङले अहिले तीन कट्टा जग्गामा तरकारी खेती गरेका छन्।
उनको बारीमा धनिया, केराउ, टमाटो र साग खेती छ । अघिल्लो वर्ष १० धुरमै १४ क्विन्टल टमाटो बेचेका उनले अहिले सोही क्षेत्रमा गोलभेँडा लगाएका छन्।
बनु चेपाङले पनि डेढ कट्ठा जमिनमा गोलभेडा र डेढ कट्ठामा केराउ छ । दसैँको मुखमा दुई क्विन्टल तरकारी बेचेर खर्चको जोहो भएको उनको भनाइ छ । अघिल्लो वर्ष १५ देखि २० रुपैयाँ प्रति किलो रहेको गोलभेडा अहिले प्रतिकिलो रु ४५ का दरले बेच्दा निकै फाइदा भएको बताए।
“दस–पन्ध्र हजार रुपौयाँ लगानी भएको थियो, अहिले झण्डै रु ६० हजार आम्दानी भएको छ। बनुले भने, यो पाली युवा लक्षित कार्यक्रमले र रु ४० हजार अनुदान पनि पाइयो ।”
चन्डिभञ्याङको आदमारा गाउँमा ४५ घर चेपाङ छन् तीमध्ये ३० घरले व्यवसायिक रुपमा तरकारी खेती गरेका हुन् ।
उनीहरु जस्तै दीपा चेपाङले समेत घरमा तरकारी खेती गरेका छन्। उनको आठ कट्ठामा केराउ छ । दुई कट्ठामा धनियाँ, एक कट्ठामा सागलगागत गरेर १४ कट्ठामा तरकारी खेती गरेको दीपा बताउछन्।
अघिल्लो वर्ष तरकारी खेतीबाट रु एक लाख ७५ हजार कमाइ गर्नुभएकी दीपा यो वर्ष रु दुई लाख कमाउने योजनामा छन्। यसपालि दसैँमा रु दुई लाख बढीको त उनले खसी पनि बेचे।
उनीहरुजस्तै विकट गाविस दारेचोक, कोराक, लोथर, सिद्धि, काउलेलगायत क्षेत्रमा अहिले आदिवासी जनजाति र अतिसीमान्तकृत चेपाङ विभिन्न पेसामा व्यावसायिक रुपमा लागेका छन् ।
युवा लक्षित कार्यक्रममा समेत चेपाङको सहभागिता बढ्न थालेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख सोमनाथ घिमिरे बताउँछन्।
उनको अनुसार कृषि कार्यालयले अघिल्लो वर्षदेखि गाउँमा व्यावसायिक तरकारी खेतीका लागि सहयोग गर्दै आएको छ। रासस
प्रकाशित: २७ आश्विन २०७३ ०८:४७ बिहीबार