४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

गोरखाको पुष्कर तीर्थमा ‘गोरक्षआरती’सुरु

महाशिवरात्रिको दिनदेखि गोरखा सदरमुकामको रानीपोखरीमा सुरु भएको आरती। तस्बिरः नरहरि सापकोटा / नागरिक

गोरखा सदरमुकामको पँदेलीस्थित पुष्करतीर्थ (रानीपोखरी) मा महाशिवरात्रिको दिन शनिबारदेखि ‘गोरक्षआरती’ सुरु भएको छ। पुष्करतीर्थ आरती समितिले गोरखनाथलाई समर्पण गरी ‘गोरक्षआरती’ सुरु गरेको हो। 

शनिबार एक कार्यक्रमका बिच नेपाली काँग्रेसका गण्डकी प्रदेश प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले उक्त आरतीको शुभारम्भ गरेका हुन्। आरतीको सुरुवात गर्दै उनले स्थानीयको अगुवाइमा आरती सुरु हुनुले धार्मिक, सांस्कृतिक सहर गोरखामा पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने बताए।

 ‘आरतीलाई निरन्तरता दिन हामी सबै जाग्नुपर्छ’ उनले भने ‘यसले समाजमा धार्मिक सद्भाव पनि बढाउँछ।’ आरती नियमित सञ्चालन गर्न अक्षयकोषकालागि स्वर्गीय पिता कृष्णराज पाण्डे र माता देबेन्द्रकुमारी पाण्डेको सम्झनामा ५१ हजार एक सय ५१ रुपैयाँ सहयोग गर्ने काँग्रेस केन्द्रीय सदस्य समेत रहेका पाण्डेले घोषणा गरे।

आरती संचालनकालागि ५० भन्दाबढि व्यक्ति र विभिन्न संघ संस्थाले सहयोग गरेको पुष्करतिर्थ आरती समितिका सचिव अयोध्या जोशीले बताए। ‘हामीलाई विभिन्न ठाउँबाट पूजा सञ्चालन गर्न सहयोग जुटिरहेको छ’ उनले भने ‘यसलाई अक्षयकोष बनाएर निरन्तर सञ्चालन गछौँ।’

‘यो हाम्रो ऐतिहासिक र धार्मिक परम्परा पनि हो’, समितिका अध्यक्ष भगवानबाबु मास्केले भने, ‘गोरखामा पर्यटन भित्र्याउन र आएका पर्यटक टिकाउनका लागि पनि आरती एउटा माध्यम हुन सक्छ।’गोरखा देवी देवताको पवित्र ठाउँ, ऐतिहासिक पुण्य भूमि, गोरखकाली, गोरखानाथ मन्दिर रहेको ठाउँ भएकाले पनि यहाँ नियमित आरती गर्दा जिल्लाबासीलाई पनि फाइदा पुग्ने मास्केले बताए।

 नियमित आरती गर्न गोरक्षनाथ वैद्धिक गुरुकुलसँग सहकार्य गरिएको छ। गुरुकुलका बटुकहरुले नियमित आरती गर्नेछन्। पशुपतिमा जस्तै गरी आरती नियमित सञ्चालन गर्ने योजना अनुसार त्यहाँबाट आएका प्रशिक्षकले सिकाए अनुसार आरती सुरु भएको हो। शनिवार आरती शुभारम्भको अवसरमा पुष्करतिर्थमा सयौँ स्थानीय भेला भएका थिए। 

दैनिक आरती सञ्चालन गर्नु खर्चिलो रहेकाले यसलाई निरन्तरता दिन सबै पक्षले होस्टेमा हैँसे गर्नुपर्ने समितिका सल्लाहकार मोहनलाल श्रेष्ठले बताए।प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले आरतीले भक्तजन र मानिसहरुमा सकारात्मक भाव पैदा गर्ने बताउँदै यसले समाजलाई पनि निर्देशित गर्ने बताए। 

गोरखा नगरपालिकाका पूर्व मेयर राजनराज पन्तले स्थानीयको अगुवाइमा सुरु भएको आरती स्थानीयको अग्रसरतामा भएका महत्त्वपूर्ण काम मध्येको एक रहेको बताउँदै निरन्तरताकालागि सबै लाग्नुपर्नेमा जोड दिए। 

पितृको सम्झना, जन्मोत्सवमा वा अन्य विभिन्न समयमा व्यक्ति वा संघ संस्थाले पनि निश्चित शुल्क तिरेर आरती गर्न सकिनेछ। त्यसकालागि न्यूनतम आरती गर्दा लाग्ने शुल्क लिएर सञ्चालन गर्ने योजना समितिको छ। सबैले सहजै हेर्न सक्ने गरी पुष्करतीर्थबाट गोरखनाथ गुफा तथा गोरखकाली मन्दिरतर्फ फर्किएर आरती गरिएको छ। हरेक साँझ आरती गर्न आधा घण्टा समय लाग्छ। अहिले तीनसेट आरती घुमाइने समितिका सचिव अयोध्या जोशीले बताए।

प्रकाशित: ६ फाल्गुन २०७९ १४:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App