१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

घटस्थापनासँगै भक्तपुरमा नौराते मेला सुरु

भक्तपुर- शनिबार दसैं सुरु भएसँगै भक्तपुरमा नौराते मेला पनि सुरु भएको छ। पहिलो दिन भक्तपुरको ब्रह्मायणीको मेला लागेको छ। भक्तपुरको पूर्वमा अवस्थित ब्रम्हायणीमा मेला भर्न आउने श्रद्धालु भक्तजनको शनिबार दिनभर भीड लाग्यो।

वर्षेनी आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनादेखि भक्तपुरमा नौराते मेला लाग्ने गर्छ। नौ वटा बेग्लाबेग्लै शक्तिपीठमा नौ दिन र रात मेला लाग्ने भए पनि स्थानीयबी नौराते मेलाका रुपमा प्रचलित छ। मेला भर्न आउनेको संख्या विशेषगरी राति धेरै हुने भएकाले यसलाई नौराते मेला भनिन्छ।

पहिलो दिन घटस्थापनामा मेलामा सहभागी रामकृष्ण कोजूका अनुसार मेलामा केटाकेटीदेखि बुढाबुढी सबै सराबरी सहभागी भए पनि युवायुवतीको संख्या उल्लेख्य हुन्छ। मेला भर्न आउनेहरू उनीहरु बाजागाजासहित आउँछन्। भक्तपुरका टोलटोलबाट बाजागाजाका साथ हजारौं जात्रालु उल्लासका साथ मेला भर्न आउँछन्।

परम्परा अनुसार पहिलो दिन ब्रम्हायणी र दोश्रो दिन महेश्वरी मेला लाग्छ। यसरी नौ दिनसम्म कुमारी, भद्रकाली, महाकाली, महालक्ष्मी, इन्द्रनयणी, त्रिपुरासुन्दरी र बाराहीस्थानमा गरी नौ दिन नौ शक्तिपीठमा मेला लाग्छ। पहिलो दिन ब्रम्हायणीबाट सुरु भएको मेला दसौं अर्थात् अन्तिम दिन ब्रम्हायणीमै अन्त्य हुन्छ। पहिलो र अन्तिम दिन गरी ब्रम्हायणीमा दुई दिन विशेष मेला लाग्छ।

नवमी साँझ भक्तपुर नगरपालिका–३ गछेंमा राखिएको महिषासुरको प्रतीक खम्ये (राँगो) जात्रा हुन्छ। यो दसैंको मुख्य आकर्षण पनि हो। त्यही रात ब्रह्मायणीमा राँगो वध गरिन्छ र भोलिपल्ट विशेष मेला लाग्छ। सोही रात भक्तपुर दरबार स्क्वायरबाट तलेजु भवानीको वाहन सेतो घोडा पायोजात्रा (खडगजात्रा) गरी नगर परिक्रमा गराइन्छ। यसलाई स्थानीय भाषामा पायो न्हयाकेगू जात्रा भनिन्छ।

इतिहास एव संस्कृतिविद् ओमप्रसाद धौभडेलका अनुसार यो जात्रा नवदुर्गाको उत्पत्तिसँग सम्बन्धित छ। नवदुर्गाका नौ स्वरुप जीवित हुने परम्पराको रुपमा यो जात्रा चलिआएको छ। उनका अनुसार यसअघि मृत्युवरण गरेका नवदुर्गा नाचका गण दसैं सुरु भएसँगै जीवित हुने विश्वास गरिन्छ। असत्यमाथि सत्यको विजयका रुपमा दसैं मनाइने उनले जनाए।

यसैगरी भक्तपुरको तलेजु भवानी मन्दिरमा शनिबार बडा दसैं सुरु भएको छ। बिहान शुभसाइतमा तलेजु भवानीलाई मूलघरबाट दसैंघरमा भिœयाइएपछि दसैं सुरु भएको मानिन्छ। तलेजुका मूल नाइके नरेन्›प्रसाद जोशीले खड्ग बोकी तलेजुलाई विधिवत दसैंघर पुर्‍याएपछि दसैं सुरु हुन्छ। घटस्थापनादेखि विजयादशमीका दिनसम्म तलेजुलाई दसैंघरमा राखेर पूजा गर्ने परम्परा छ। सप्तमीदेखि महानवमीसम्म ५४ वटा बोका, ३२ वटा राँगा र २४ वटा हाँस बली दिई जात्रा मनाइने परम्परा छ। जात्राका अवसरमा तलेजुमा मूल पुरोहितले मांसाहुती होम सम्पन्न गरेपछि तलेजुमा बली दिने परम्परा छ।

सेतोघोडा अर्पण

तलेजु भवानीको वाहनका लागि सेता घोडा फेला परेको छ। भक्तपुर नगरपालिका–२ जेंला निवासी कृष्णगोपाल प्याठले आफूसँग भएको घोडा तलेजुका नाममा शनिबार अर्पण गरेका छन्। शनिबार प्याठको घरबाट बाजागाजासहित नगर परिक्रमा गराई घोडा दरबार स्क्वायरस्थित तलेजु मन्दिर पुर्‍याएर हस्तान्तरण गरियो। यसअघिको तलेजुको वाहन सेतो घोडाको गत वर्ष मृत्यु भएको थियो। नवमीमा भक्तपुर दरबार स्क्वायरबाट तलेजुको वाहन सेता घोडालाई पायोजात्रा (खडगजात्रा) सहित नगर परिक्रमा गराइन्छ।

प्रकाशित: १६ आश्विन २०७३ ०२:१७ आइतबार

घटस्थापनासँगै भक्तपुरमा नौराते मेला सुरु