४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

वरिष्ठलाई रोक्न डिन कार्यालयमै तालाबन्दी

काठमाडौं- वरिष्ठताका आधारमा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा डिन नियुक्त हुनुपर्नेलगायत माग राखेर वरिष्ठ चिकित्सक डा. गोविन्द केसी चार दिनदेखि नवौं अनशनमा छन्। यही माग अवरोध पार्न र वरिष्ठलाई पाखा लगाई पार्टी निकटकालाई डिन बनाउन दलनिकटका केही चिकित्सक भने बिहीबारदेखि संगठित रुपमै विरोधमा उत्रिएका छन्।

वरिष्ठताका आधारमा नियुक्त भए स्वतन्त्र र आफूप्रतिकूलको व्यक्ति पर्ने भएपछि पार्टीनिकटकालाई डिन बनाउन दबाबका लागि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का कांग्रेसनिकट चिकित्सकले आन्दोलन थालेका हुन्।

उनीहरुले बुधबार त्रिवि उपकुलपति तीर्थ खनियाँसमक्ष ज्ञापनपत्र बुझाए भने बिहीबारबाट आइओएम डिन कार्यालयमै तालाबन्दी गरेका छन्। उनीहरुले वरिष्ठताभन्दा कार्यक्षमता र सबैलाई मान्य व्यक्तिलाई डिन बनाउनुपर्ने प्रमुख माग गरेका छन्।

डा. केसीले भनेअनुसार डिन नियुक्त भए चिकित्सा शिक्षाविद् एवं वरिष्ठ चिकित्सक डा.जगदीशप्रसाद अग्रवाल आउने अवस्था बनेपछि प्रमुख तीन दलनिकटका चिकित्सक उनीविरुद्ध खनिएका हुन्।

बिहीबार बस्ने कार्यकारी परिषद्ले अग्रवाललाई डिन बनाउने सुइँको पाएलगत्तै उनीहरुले डिन कार्यालयमै ताला लगाए। लामो समयदेखि नयाँ कलेजलाई सम्बन्धन दिन नहुने र कलेजको मापदण्डसमेत कडा बनाउनुपर्ने लबिङ गर्ने भएकाले अग्रवाल आए आफूअनुकूल नहुने त्रास निजी कलेज र आइओएमका चिकित्सकलाई समेत छ।

सोही आधारमा उनीहरु वरिष्ठता सूची पन्छाएर कांग्रेस निकट डा. करवीरनाथ योगीको पक्षमा उभिएका हुन्। योगीलाई बनाउन एमाले र माओवादी निकट विवादित चिकित्सकको समेत साथ छ। फ्याकल्टीको रुपमा प्रवेश गरेका आधारमा हालका निमित्त डिन विमल सिन्हाको समेत नाम चर्चामा रहेपछि पछिल्लोपटक एक कलेजलाई सम्बन्धन दिने गरिएको प्रयास, सिट निर्धारण विवादपछि उनको प्रतिस्पर्धाबाट बाहिर परेको आइओएम स्रोतको छ।

डा. योगीले समेत सबै दलनिकटका प्राध्यापक, नर्स र विद्यार्थीको समर्थन आफूलाई रहेको बुझेको बताए। 'उहाँहरुको म नै डिन हुनुपर्छ भन्ने मत छ, सबैलाई मान्य हुने त मै हुँ नि,' उनले भने।

निजी कलेजलाई सम्बन्धन पक्षमा रहेको कारण पनि नयाँ कलेजलाई सम्बन्धन पक्षधर चिकित्सकसमेत अग्रवालविरुद्ध र योगीको समर्थनमा छन्। यसअघि अनशनकै कारण बर्खास्त भएका डिन डा. शशि शर्मा र पदवहालीबिनै अनशनकै कारण हटाइएका निर्देशक डा. रतिन्द्र श्रेष्ठसमेत योगीकै पक्षमा देखिएका छन्।

योगीजस्तै शर्मा र श्रेष्ठसमेत आइओएमलाई बाइपास गरेर तीन वर्षअघि त्रिविले थालेको सम्बन्धन प्रक्रियामा साथ दिने व्यक्ति हुन्। योगीले काठमाडौं नेसनलमा पूर्वाधार नै नभए पनि सम्पूर्ण पूर्वाधार पुगेको प्रतिवेदन बुझाएका थिए।

योगीपक्षीय चिकित्सकले वरिष्ठतालाई आधार बनाएर नियुक्त गरे नयाँ डिनलाई नमान्ने चेतावनी दिँदै उपकुलपतिसमक्ष ज्ञापनपत्र बुझाएका थिए। ३ सयभन्दा बढी चिकित्सक कार्यरत त्रिविमा यसरी हस्ताक्षर गर्नेमा जम्मा ११ जना छन्।

वरिष्ठताविरुद्ध आन्दोलन गर्नेमा प्राध्यापक संघका सचिव सहायक प्राडा सुरेश उप्रेती, एप्किडए अध्यक्ष प्राडा. रामेश्वर प्र. पोखरेल, प्राध्यापक संघ नर्सिङ क्याम्पस एकाइ सभापति प्राडा. मनकुमारी राई, कांग्रेसनिकट प्राध्यापकको संस्था आइओएम प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष डा. दिनेशविनोद पोखरेल, प्रजातान्त्रिक प्राध्यापक संघ नर्सिङ एकाइ अध्यक्ष प्राडा. मन्दिरा वन्त, आयुर्वेद एकाइ सचिव पुष्पमान श्रेष्ठ, उपसभापति गणपति चौधरीसमेत छन्।

स्वतन्त्र र वरिष्ठताका आधारमा एक नम्बरमा रहेका डा. जगदीश अग्रवाललाई आउन नदिने मूल्यमा कांग्रेसनिकटका चिकित्सकलाई बनाउन विभिन्न मेडिकल कलेजनिकटका एमाले चिकित्सक डा. ऋतुराज गड्तौला र माओवादी केन्द्रनिकट चिकित्सक रतिन्द्र श्रेष्ठसमेत छन्।

ज्ञापनपत्रमा डा. केसीको नाम नलिई कसैको एकल दबाबमा कुनै अमूक व्यक्तिलाई डिन बनाइए त्यसविरुद्ध सशक्त विरोध गर्नेसमेत चेतावनी दिइएको छ। उनीहरुले त्रिवि स्वायत्त संस्था भएको भन्दै योगी नभए गीता सायमीको नाम तेस्रो उम्मेदवारका रुपमा अघि सारेका छन्।

वरिष्ठता सूचीमा हालका निमित्त डिन डा. विमल सिन्हासमेत भए पनि पछिल्लोपटक उनले काठमाडांै नेसनललाई भविष्यमा सम्बन्धन दिनसक्ने गरी फ्याकल्टी बोर्डबाट निर्णय गराएका थिए। सिन्हाले त्रिविअन्तर्गतका कलेजको सिट निर्धारण गर्दासमेत गण्डकी  मेडिकल कलेज र युनिभर्सल कलेजको डेन्टल सिट निर्धारणमा माथेमा प्रतिवेदनविपरीत बढी सिट सिफारिस गरेका छन्।

पछिल्लोपटक नेपाल मेडिकल काउन्सिलबाट समेत स्वीकृति नदिँदै सिन्हाकै साथ लिएर कलेजहरुले धमाधम विद्यार्थी भर्ना थालेका छन्। आइओएमअन्तर्गतका कलेज भर्नामा समेत मेरिट सूची लागू नगर्न सक्रिय देखिएका कारण पनि डा. केसी सिन्हाको विरोधमा देखिएका थिए।

अनशनमा रेजिडेन्टको ऐक्यबद्धता

चार दिनदेखि आमरण अनशनमा रहेका त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीको मागप्रति अस्पतालमा कार्यरत रेजिडेन्ट चिकित्सकले ऐक्यबद्धता जनाएका छन्।

अनशनको चौथो दिन नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसनले विज्ञप्तिमार्फत मागप्रति ऐक्यबद्धता जनाएको हो। अध्यक्ष डा. लिजन महर्जन र सचिव डा. सचित शर्माले विज्ञप्ति जारी गर्दै विहीबारदेखि हातमा कालोपट्टी बाँधेर काम गर्ने जानकारी गराएका छन्। अस्पतालमा २ सय ५० भन्दा बढी रेजिडेन्टहरु कार्यरत छन्।

प्रकाशित: १४ आश्विन २०७३ ०१:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App