काठमाडौं– उपत्यकाका नौ विद्यालयमा विस्फोटक पर्दाथ राखेको र बिस्फोट गराएको आरोपमा पक्राउ परेका दुईजना बिरुद्ध प्रहरीले बिस्फोटक तथा संगठित अपराध अन्तर्गत कारवाही अघि बढाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार पक्राउ गरेका शंकर लाखे र चन्द्रबहादुर तामाङ्गलाई पाँच दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट म्याद लिएको हो।
उपत्यकाका दुई बिद्यालयमा विहान तीनबजेर ४० र तीनबजेर ५० मिनेटमा बम बिस्फोट भएको थियो। बौद्धक्षेत्रमा रहेका दुई बिद्यालयमा बम बिस्फोट भएको हो। यस्तै काठमाडौंका आठ र ललितपुरका एक विद्यालयमा शंकास्पद वस्तु राखिएको थियो। प्रहरीले शंकास्पद वस्तुमा बिस्फोटक पर्दाथ नभएको दाबी गरेको छ। महानगरीय प्रहरी कार्यालयका अनुसार माओवादी कम्युनिष्ट केन्द्र, नेपाल नामक संगठनको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी केन्द्र र योङ्ग कम्युनिष्ट फोर्सले शैक्षिक संस्थामा बम राख्ने र बिस्फोट गराएको हो।
प्रहरीका अनुसार काठमाडौं नारायणटारमा रहेको एम्बेस्डर,राई स्कुल र इष्ट पोल, बौद्धमा रहेको बाल संचार, मनकामना उ.मा.वि, आकाश दिप इंग्लिस बोर्डिङ स्कुल, डल्लुमा रहेको कंचनजंघा र ललितपुर सानेपमा रहेको रेडियन्ट रिडर्स एकेडेमीमा बिस्फोट र शंकास्पद वस्तु राखिएको हो । प्रहरीका अनुसार आकाशदिप र मनकामना बौद्धमा विहानै बम बिस्फोट भएको हो।
प्रहरीले राजनीतिक आवरणमा संगठित रुपमा आपराधीक कृयाकलापमा सक्रिय समूहले काठमाडौं र ललितपुरका बिद्यालयमा शंकास्पद वस्तु राखेको र बम बिस्फोट गराएको दाबी गरेको छ। चोरी र लुटपाट मुद्दामा कारवाही भोगेका दुई ब्यक्तीले संचालन गरेको कथित राजनीतिक दलले मंगलबार सिंगो काठमाडौं उपत्यकालाई विहानैदेखि त्रसित बनाएको प्रहरीले दाबी गरेको हो।
प्रहरीका अनुसार २०७१ साल कार्तिकमा कंलङ्कीबाट मान बहादुर चदाराको यार्सागुम्वा लुटने कार्यमा संलग्न रहेको अभियोगमा जवरजस्ती चोरी मुद्दामा कारवाही भोगेका देबेन्द्र महत अध्यक्ष र केशव दाहाल महासचिव रहेको माओवादी कम्यूनिष्ट केन्द्रकै भातृ संगठनले मंगलबारको घटना गराएको हो।
प्रहरीले संगठनका दुई कार्यकर्ता शंकर लाखे र चन्द्रबहादुर तामाङ्गलाई पक्राउ गरेको छ । लाखे ललितपुरमा रहेको आईडियल मोडल स्कुलको बा.२ ख. ४६९ नम्बरको भ्यानलाई साउन ६ गते डल्लुमा जलाएको घटनामा संलग्न थिए। प्रहरी वृत्त स्वयम्भूले लाखे सहित ८ जनालाई पक्राउ गरि आगजनी मुद्दामा पेश गरेकोमा काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा छाडने आदेश दिएको थियो।
मुख्य योजनाकार फरार
प्रहरीका अनुसार मंगलबारको घटनाका मुख्य योजनाकार दाबी गरिएका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रका संयोजक मीन देवकोटा र योङ्ग कम्यूनिष्ट फोर्स नेपालका संयोजक सुमन श्रेष्ठ फरार रहेका छन । प्रहरीले केन्द्रका अध्यक्ष र महासचिव बिरुद्ध भने केही बताउन चाहेन।
नाममात्र राजनीतिक, काम आपराधिक
तत्कालिन बिद्रोही नेकपा माओवादी शान्ति प्रक्रियमा आउनु पूर्व नै २०६२ सालमा हतियार सहित भागेका पूर्व लडाकुहरुले माओवादी कम्यूनिष्ट केन्द्र नामक दल गठन गरेका थिए। २०६२ साल देखि २०६९ साल सम्म राजनीतिक दलको आवरणमा बिभिन्न अपराधिक कृयाकलापमा संलग्न रहेका र २०६९ सालमा सरकारसँग वार्ता गरे पनि वार्ता असफल भएको थियो। २०७१ भदौमा नेपालगंजमा आन्नद प्रसाद ढुङगानाको नेतृत्वमा गठित वार्ता समिति समक्ष हतियार बुझाए पनि बिभिन्न कलेज तथा विद्यालयमा अनियमिता भएको वहानामा धम्काउने र चन्दा माग्दै आएका थिए। पार्टीका अध्यक्ष र महासचिव नै चोरीमा कारवाही भोगेका र निर्वाचन आयोगमा दर्ता समेत नभएकाले मंगलबारको गतिविधी बिशुद्ध संगठित अपराध भएको दाबी प्रहरीले गरेको हो।
प्रकाशित: ५ आश्विन २०७३ १२:३५ बुधबार