सात वर्षको अवधिमा घोराहीका विभिन्न वडामा ४३ जलाशय निर्माण गरिएका छन्। यी जलाशयले घोराहीको विकास र समृद्धिका लागि सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
जलाशयका माध्यमबाट पर्यावरण जोगाउनुका साथै कृषि क्षेत्रको विकासका लागि खेतबारीमा सिँचाइ सुविधा पुर्याउने उद्देश्य छ। यस अवधिमा घोराही उपमहानगरसँगै प्रदेश र संघीय सरकारको करिब २० करोड २१ लख रुपैयाँको लागतमा करिब ९० बिघा क्षेत्रफलमा जलाशय निर्माण गरिएका छन्। बढ्दो जनसंख्यासँगै पानीको मुहान सुक्दै जान थालेकाले कृत्रिम जलाशयका माध्यमबाट पानी संरक्षणमा उपमहानगरले चालेको यो कदमलाई सकारात्मक प्रयासका रूपमा लिइएको छ।
घोराही उपमहानगरका १९ वडामध्ये १४ वडामा ३४ जलाशय निर्माण गरिएका छन्। वडागत रूपमा सबैभन्दा धेरै जलाशय वडा नं १७ मा निर्माण गरिएका छन्। उक्त वडामा आठ जलाशय बनेका छन्। वडा नं १ मा चरिङे, भोटे, चेपे, गवरे र चुरे जलाशयमा जलाशय बनाइएका छन्।
त्यसैगरी वडा नं २ मा चेपे, बलरामपुर र शहरेमा जलाशय निर्माण गरिएको छ। चेपे जलाशय सुुर्केडाँगी, बाहुुनटारी, राइटारी लगायतका ठाउँका लागि सिँचाइसँगै जल विहारका लागि आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको स्थानीय महेश चौधरी बताउँछन्।
यस्तै वडा नं ४ मा अमारे, चरीखुट्टे, छरछरे, रोहिणी र सुकी दह, वडा नंं ५ मा धारापानी र भमकी सिमसार जलाशय, वडा नं ६ मा लख्वारे, पिपल–छहारी, फचकपुर तल्लो र फचकपुुर माथिल्लो जलाशय, वडा नं ८ मा लरैना जलाशय, वडा नं १० मा ठाँटी गाउँ जलाशय र वडा नं ११ मा सिरुगैरा जलाशय निर्माण गरिएको घोराही उपमहानगरपालिकाले जनाएको छ।
त्यसैगरी वडा नं १२ मा जंगखोली, वनवाटिका र साततले, वडा नं १३ मा ज्यामिरे र बाह्रकुने, वडा नं १६ मा गंगटिया तल्लो र माथिल्लो गरी दुई जलाशय, वडा नं १७ मा कटही, ढिकपुर, आरोग्य, कर्जाही, डबरी, गुलरिया, ओखरा, कमलपोखरी गरी आठ तथा वडा नं १८ मा अम्बापुर, गिठेपानी तल्लो जलाशय, गिठेपानी उपल्लो जलाशय, सुँगुरे, रानीजरुवा र काभ्रेखोला जलाशय निर्माण गरिएका छन्।
जलाशय निर्माणपछि अहिले कृषि, माछापालन, पर्यटन जस्ता व्यवसायमा टेवा पुग्नुका साथै स्थानीयका लागि रोजीरोटीको माध्यम बनेपछि उपमहानगरले जलाशय निर्माणलाई पहिलो प्राथमिकतामा राखेको हो।
सुरुमा यहाँका केही क्षेत्रमा जलाशय निर्माणपछि स्थानीयको दिनचर्यामा समेत परिर्वतन तथा रोजगारी सिर्जना भएपछि उपमहानगरले जलाशय निर्माणमा लगानी बढाइएको उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरभित्र पालिका र वडाको आफ्नै स्रोत व्यवस्थापनबाट र केही प्रदेश सरकार, केन्द्र सरकारसँगको समन्वयमा बजेट व्यवस्थापन गरी कतै नयाँ जलाशय निर्माण र कुनै ठाउँमा साना पोखरीका रूपमा रहेका जलाशयलाई विस्तार गरिएको हो। निर्माण गरिएका जलाशयको बहुउपयोगितासँगै दिगो व्यवस्थापनका लागि थप बजेट आवश्यक पर्ने घोराही उपमहानगरपालिकाका पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर युवराज पौडेल बताउँछन्।
‘बनिसकेका जलाशयको स्तरवृद्धि र थप बन्न लागेको जलाशयका लागि पालिकास्तर, वडास्तर तथा प्रदेश र संघबाट पनि समन्वय गरी बजेट व्यवस्थापनको काम भएको छ, केही गर्ने तयारी छ’, उनले भने, ‘कृत्रिम जलाशयले पानीको संरक्षणसँगै सिँचाइ र पर्यटन प्रवद्र्धनको काम भइहेको छ।’
उपमहानगरले सुरुवाती वर्षमा १२ जलाशय निर्माण गरेको थियो। त्यसयता थप ३१ जलाशय निर्माण गरेको पौडेलले बताए। जलाशय निर्माणसँगै स्थानीयले सिँचाइ सुविधा लिएर कृषि पेसाबाट पर्याप्त आम्दानी लिन थालेपछि उत्साहित भएका छन्। उपमहानगरपालिकाले कृषि र पानीको स्रोत बढाउन यो अभियानले सुक्खा हुँदै गएको जमिनमा सिँचाइसँगै कृषिमा लाग्न प्रेरित गर्ने काम गरेको घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी बताउँछन्। जलाशयमा जम्मा भएको पानीको सहयोगबाट स्थानीयवासीले सिँचाइ, माछापालन, तरकारी खेती तथा फलफूल खेती गरिरहेका छन्। रासस
प्रकाशित: १९ माघ २०७९ ०४:५७ बिहीबार