मध्यरातमा प्रहरीले स्वर्गीय राजा वीरेन्द्रको शालिक हटाएपछि नेपालगन्जमा तनाव
नेपालगन्ज–नेपालगन्जको धम्बोझी चोकमा पुनःस्थापना गरिएको स्वर्गीय राजा वीरेन्द्रको शालिक २४ घण्टा नबित्दै प्रहरीले बिहीबार राती हटाएको छ । राजतन्त्र समर्थित राष्ट्रवादी युवा शक्तिको अगुवाईमा बिहीबार बिहान ९ बजेतिर ८७ किलो तौलको ढलोटबाट निर्मित अर्धकधको शालिक राखिएको थियो ।
जनआन्दोलन २०६२-६३ मा हटाइएको शालिक पुनःस्थापना गरिएपछि राप्रपा नेपाल बाहेक जिल्लाका अन्य राजनीतिक दलले बिरोध जनाउँदै हटाउन सरकारलाई अल्टिमेटम दिएपछि स्थानीय प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर राती हटाएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले शालिक राख्ने निर्णय सरकारले नगरेकाले हटाउनु परेको बताए । ‘शालिक स्थापना भएपछि जिल्लाका राजनीतिक दलले असहमती जनाउनु भयो, सरकारले पनि राख्ने निर्णय गरेको थिएन, राख्ने÷नराख्ने विषयमा सरकारले निर्णय गरेपछि उचित व्यवस्थापन हुन्छ,’ उनले नागरिकन्युजसँग भने ।
शालिक हटाएको विषयमा प्रहरीका उच्च अधिकारीहरुले प्रतिक्रिया दिन चाहेनन् । जिल्ला प्रहरी प्रमुख टेकप्रसाद राई र प्रवक्ता (डिएसपी) भिमकिरण बोगटीको मोबाईल अफ छ ।
बलपूर्वक शालिक हटाउन खोज्दा राजतन्त्र समर्थित युवा र प्रहरीबीच राती केहीबेर झडप समेत भएको बताइएको छ ।
शालिक हटाएपछि शान्ति सुरक्षा खल्बलिन सक्ने शंकामा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । धम्बोझी चोक लगायत आसपासका क्षेत्रमा उल्लेख्य संख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले राप्रपा नेपालका नेता सहित १० जना राजतन्त्र पक्षधरलाई नियन्त्रणमा लिएको प्रजिअ पन्थले जानकारी दिए । उनीहरुलाई प्रहरी गुल्ममा राखिएको स्रोतले जनाएको छ ।
राजनीतिक दलको दवावमा प्रहरी प्रशासनले शालिक हटाएपछि स्थानीय तहमा असन्तुष्टी बढेको थियो।
दशवर्षसम्म कुरुप अवस्थामा रहेको चोकमा स्वार्गीय राजा बिरेन्द्रको शालिक राखेको २४ घण्टा बित्न नपाउँदै प्रहरीले हटाएको हो ।
‘सरकारले १० वर्षसम्म यो ठाउँमा अरु कसैको शालिक राख्न सकेन, कुरुप बनेको चोकमा शालिक राख्दा हटाएरै छाड्यो, यसबाट इतिहास मेटाउने गलत नजिर बस्यो,’ एक सर्वसाधारणले गुनासो गरे ।
शालिक हटाएपछि शान्ति सुरक्षा खल्बलिन सक्ने शंकामा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । धम्बोझी चोक लगायत आसपासका क्षेत्रमा उल्लेख्य संख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
युवाहरुले बिहीबार बिहान चोकमा राष्ट्रिय झण्डा मात्रै गाड्ने बताएपछि प्रहरीले स्वीकृति दिएको थियो । उनीहरुले स्वर्गीय राजा वीरेन्द्रको शालिक अचानक निकालेर पुनःस्थापना गरिसकेपछि प्रहरीले हस्ताक्षेप गरेको थियो । सो क्रममा राप्रपा नेपाल, शिवसेना, राजतन्त्र समर्थित युवा, धम्बोझी आसपासका सर्वसाधारणहरु ठूलो संख्यामा भेला भएका थिए । त्यसक्रममा प्रहरी र युवाहरुबीच केहीबेर झडप समेत भएको थियो । सो क्षेत्रमा बिहीबार पनि दिनभर ठूलो संख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।