९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

ब्यवसायको आवरणमा अवैध हुण्डी कारोबार

काठमाडौं– काठमाडौंको मुख्य ब्यवसायीक केन्द्रलाई आधार बनाएर अवैध हुण्डी कारोबारमा संलग्न आठ ब्यवसायीलाई प्रहरीले पक्रेको छ। नयाँ सडक (न्युरोड)मा संचालित विभिन्न ब्यवसायको आवरणमा करौडौं रुपैयाँ नेपालबाट बाहिर पठाउन सक्रिय आठजनामध्ये पक्राउ परेका तीनजना मुख्य संचालक हुन। उनीहरुका साथबाट नेपाली रुपैयाँ १ करोड ७२ लाख ३७ हजार ५ सय र भारतीय रुपैयाँ १ लाख र ५९ थान विभिन्न ब्यक्तीका नाममा काटिएका विभिन्न बैंकका चेक समेत प्रहरीले बरामद गरेको छ।

महानगरीय अपराध अनुसन्धान महाशाखाले ब्यापारी पवन अग्रवाल सरावगी सहित अन्य सातजनालाई अवैध हुण्डी कारोबार गरेको आरोपमा कार्यक्षेत्रबाटै सोमबार नियन्त्रणमा लिएको हो।

महाशाखाले सरावगीलाई नयाँ सडकमा रहेको अनु ट्रेडिङबाट ६३ लाख ५० हजार रुपैयाँ सहित पक्रेको हो। भारत राजस्थानका सरावगी लामो समयदेखि नयाँ सडकमा ब्यवसायीको आवरणमा अवैध हुण्डी कारोबारमा संलग्न रहेको महाशाखाले जनाएको छ ।

महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले अवैध हुण्डीको कारोबार फेरि संचलानमा रहेको सूचनाका पाएपछि महाशाखाले अप्रेसन गरेको बताए। उनका अनुसार पक्राउ परेका कारोबारीले निश्चित कमिसन लिएर ठूलो परिमाणमा रकम नेपाल बाहिर पठाउँदै आएका थिए।

यस्तै प्युखामा रहेको  बिन्देश्वरी व्याग एण्ड रेडिमेड उद्योगका सन्चालक मोहनमान श्रेष्ठलाई १० लाख नेपाली र एकलाख भारतीय रुपैयाँ सहित नियन्त्रणमा लिएको हो । श्रेष्ठका साथबाट विभिन्न ब्यक्ती र बैंकका नाममा काटिएका ४९ थान चेक समेत बरामद भएको महाशाखाले जनाएको छ।

बिन्देश्वरी व्याग एण्ड रेडिमेड उद्योगमा कारोबार गर्न आएका कुमार राई समेत १८ लाख रुपैयाँ नगद सहित पक्राउ परेका हुन । प्युखामै रहेको माई पाथिभरा ट्रेडर्सका सन्चालक निर्दोष प्रसाई १९ लाख ७१ हजार र कारोबार गर्न आएका राजन पौडेल ३२ लाख ५० हजार रुपैयाँ सहित पक्राउ परेका हुन। यस्तै सोही ट्रेडर्समा कारोबार गर्न आएका अर्का टलबहादुर तामाङ,  अमित खरेल र  रोहित दुलाल समेत ११ लाख ५० हजार,  १२ लाख र पाँच लाख १६ हजार रुपैयाँ सहित पक्राउ परेका छन । महाशाखाले प्रसाईका साथबाट १० थान चेक समेत बरामद गरेको छ।

 

प्रकाशित: १३ भाद्र २०७३ १२:५० सोमबार

ब्यवसायको आवरणमा अवैध हुण्डी कारोबार