१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

विवाहको सुइँको पाएपछि किशोरी प्रहरी शरणमा

लिबाङ (रोल्पा)—विवाहका लागि आफ्नो मञ्जुरी नभएपछि एक किशोरी प्रहरीमा उजुरी गर्न आएकी छिन् ।

गैरीगाउँ–८, गाङ, रोल्पाकी १७ वर्षीया सुनिता परियारको परिवारले जबर्जस्ती विवाहको टुङ्गो लगाएको सुइँको पाएपछि न्याय खोज्दै परियार शनिबार साँझ जिल्ला प्रहरी कार्यालय रोल्पामा आएकी हुन्। आर्थिक अभावका कारण कक्षा ५ उत्तीर्ण गरेर विद्यालय छोड्न बाध्य भएकी परियारले रुँदै भनिन्, 'गाउँकै १९ वर्षीय रमेश परियारसँग मेरो विवाहका बारेमा कुरा टुङ्गिएको रहेछ। मलाई यस विषयमा केही पनि थाहा थिएन। घरमा रोटी पकाउने काम भइरहेको छ। घर लिपपोत गर्न थालेपछि भाइबहिनीले मेरो विवाहका लागि तयारी हुँदैछ भन्ने जानकारी दिए।'

आफू सानै भएकाले बिहे नगर्ने भनेर रोइकराइ गरेको कसैले नसुनेको उनले बताइन्।

भदौ १६ गते विवाहको दिन तय भइसकेको छ रोक्न मिल्दैन भन्ने आमाको जवाफ पाएपछि नारायणगढमा भएकी दिदीलाई फोन गरेकी थिइन्। 'दिदीले यतै आइज भनेर बोलाएको हुँदा भागेर दिदीकहाँ जान लागेकी थिएँ। आफन्तले प्रहरीमा पुगे न्याय पाइन्छ भनेर सल्लाह दिएपछि प्रहरीमा आएँ। मलाई पटक्कै ऊसँग बिहे गर्न मन छैन। तपाईंहरुले बुबाआमालाई सम्झाइदिनुस्', उनले आँसु पुछ्दै भनिन् ।

यसरी न्याय खोज्दै प्रहरी कार्यालय रोल्पामा आएकी परियारलाई शनिबार राति महिला प्रहरीको संरक्षणमा राखिएको छ। प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तिमगरका अनुसार परियार गाउँबाट भागेर हिँडेपछि गाउँलेले थाहापाई खोजीका लागि प्रहरीमा खबर गरेका थिए। 'हामीले यस विषयमा आइतबार अभिभावकलाई जिप्रका, रोल्पामा बोलाएका छौँ', उनले भने, 'उहाँहरु आएपछि वास्तविक कुरा बुझेर अगाडि बढ्नेछौँ।'


जिल्लामा व्यापक बालविवाह हुने गर्छ। बालविवाह न्युन गर्न अभियान थालनी भएकै बेला सुनिताले केस सार्वजनिक भएको हो।

प्रकाशित: १२ भाद्र २०७३ ०९:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App