२ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

राणाको हत्या प्रयासमा 'चरीको रिसइबी'

काठमाडौं- प्रहरी मुठभेडमा मारिएको दाबी गरिएका गुन्डा नाइके दिनेश अधिकारी चरीको घटनाको रिसइबी साँध्न चलचित्र निर्माता रोज राणा भनिने सरोज थापाउपर आक्रमण भएको खुलेको छ।

गुन्डा नाइके चरीको व्यावसायिक साझेदार रहेका रोजले कारोबार अन्तर्गत दिनुपर्ने रकम नदिएको र चरीको मुठभेड गराउन सहयोगी भूमिका खेलेको आरोपमा आक्रमण भएको खुलेको हो।

रोजलाई आक्रमण गर्ने दुईजना पक्राउ परेपछि प्रहरी अनुसन्धानमा चरीको मुठभेडपछि फरार रहेका गुन्डा नाइकेको नाम बाहिर आएको हो। महानगरीय प्रहरी अपराध महाशाखाले पक्रेका दुवैले आक्रमणकारीलाई भारतमा बस्दै आएका जोधा भन्ने रत्नबहादुर लामाको निर्देशनमा घटना भएको बयान दिएका हुन्।

महाशाखाका अनुसार जोधाकै योजनामा भक्तपुरका मोटे भन्ने विवेचन प्रजापति र कटुन्जे भन्ने सूर्य लामाले दिनभर रोजको पिछा गर्दै सोमबार मध्यबानेश्वरमा खुकुरी प्रहार गरेका हुन्। प्रहरी हिरासतमा रहेका दुवै चरीको समूहमा रहेका व्यक्ति हुन्। चरीसँगै नयाँबजार क्षेत्रमा सक्रिय दुवैलाई भारतको पश्चिम बंगाल सिलगुडीमा बस्दै आएका जोधाले आक्रमणका लागि रकमसमेत उपलब्ध गराएको महाशाखाले जनाएको छ।

महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले रोज र जोधाका बीच विगतमा रहेको कारोबारका कारण आक्रमण भएको अनुसन्धानमा देखिएको बताए। उनका अनुसार आक्रमणकारीलाई रोजको हत्या वा अंगभंगका लागि जोधाले ३० लाख रुपैयाँ दिने बाचा गरेको आक्रमणमा संलग्नले प्रहरीमा बयान दिएका छन्।

प्रहरी अनुसन्धानमा जोधाले समूहका प्रजापतिलाई ३ महिनापहिला भारतको सिलगुडीमा बोलाई आक्रमणको योजना बनाई तत्काल पेस्कीस्वरुप ५० हजार भारतीय रुपैयाँ दिएको खुल्न खुलेको छ। दोस्रो पटक करिब तीन सातापहिला भारतबाट निज जोधा भन्ने रत्नबहादुर लामा नेपाल आई प्रजापतिको घरमा गई थापालाई आक्रमणका लागि ३० हजार रुपैयाँ दिएको र काम भएपछि ३० लाख दिने र भविष्यमा समेत सहयोग गर्ने प्रलोभन दिएको अनुसन्धानबाट खुलेको हो।

महाशाखाकै कारबाहीमा २०७१ साउन २१ मा मारिएका दिनेश अधिकारी चरीको हत्यापछि उनको समूह तितरबितर भएको थियो। समूहका सदस्यले खुलेरै रोजले प्रहरी अधिकारीसँग मिलेर चरीको मुठभेड गराएको आरोप लगाउँदै आएको छ।

रोजलाई अज्ञात समूहले सोमबार खुकुरी प्रहार गरी घाइते बनाएको थियो। काठमाडौं रत्नराज्य स्कुलअगाडि रहेको मध्यबानेश्वर क्याफेमा प्युठान कांग्रेसका कार्यकर्तासँग रहेका राणाउपर दुईवटा मोटरसाइकलमा आएका चारजना अज्ञात युवाले खुकुरी प्रहार गरेका थिए। आपराधिक पृष्ठभूमि भएका रोज पहिला मुठभेडमै मारिएका कुमार श्रेष्ठ घैंटेको समूहमा र पछि चरीको समूहमा थिए। चलचित्र निर्माण, डान्सबार र रेस्टुरेन्टदेखि अन्य व्यवसायमा चरी समूहको रकम लगानी गर्दै आएका रोज आफू भने नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन्। राणा प्युठान कांग्रेसका क्षेत्रीय सभापति हुन्।

महाशाखाबाट खटिएको टोलीले दुवै आक्रमणकारीलाई नयाँबजारबाट पक्रेको हो। उनीहरुलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा पठाइएको महाशाखाले जनाएको छ।

प्रकाशित: २ भाद्र २०७३ ०२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App