९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

लापरवाहीले कर्मचारी नै जाेखिममा

काठमाडौं– विद्युत प्राधिकरणको हाइभोल्टेज लाइन चुँडिएर मंगलबार बुटवल उपमहानगरपालिका, सुखवानीका दुई बालकको ज्यान गयो । प्राधिकरणकै लापरबाहीले दुर्घटना भएको यो पहिलो घटना भने होइन ।

दुर्घटनाबाट घाइते भएर अस्पतालमा उपचार गराउनेको संख्या हेर्दा यस्तो जोखिममा सर्वसाधारण मात्र होइन, मर्मतमा खटिने कर्मचारीसमेत पर्ने गरेका छन् ।

धनुषा, कुम्भकर्णका ३७ वर्षीय रामसागर मण्डलले वर्षौंदेखि गरिरहेको काममा नै करेन्टले भेट्यो । चैतमा ट्रान्सफर्मर मर्मत गरिरहेको अवस्थामा करेन्टले भेट्दा टाउको र हातमा गहिरो चोट लाग्यो । राष्ट्रिय ट्रमा सेन्टरमा दुई महिना उपचारपछि उनको ज्यान त जोगियो तर हातका औंला जोगिएन ।

‘शनिबारका दिन गाउँको ट्रान्सफर्मर बिग्रेकाले बनाउनुपूर्व स्टेसनमा खबर गरेर बनाउँदै थिएँ, तर फेरि सम्पर्क नै नगरी छाडिदिएछन्,’ उनले भने ।

मर्मत गरेको हेरिरहेका गाउँलेले नजिकै रहेको बाँसले तानेर करेन्टबाट उनलाई छुटाएर वीर अस्पताल ल्याएका थिए । अस्पतालमा टाउको र  हातको शल्यक्रिया गरियो । ‘टाउकोमा हड्डी नै देखिएको रहेछ, औंला चुँडिए,’ मण्डलले भने ।

मण्डलका अनुसार उनीजस्तै मर्मतको काम गर्ने प्राधिकरणका कर्मचारीसमेत दुर्घटनामा परेका थुप्रै उदाहरण छन् । करेन्ट लागेका मात्र सात जना उपचारार्थ रहेको कीर्तिपुर अस्पतालले जनाएको छ । तीमध्ये एक वर्षभित्र दुई जना विद्युत प्राधिकरणकै कर्मचारी हुन् ।

बर्सेनि ४० जना करेन्ट लागेका घाइते आउने गरेको ट्रमा सेन्टर बर्न विभागको तथ्यांक छ । अस्पतालका अनुसार करेन्ट लागेर आउनेमा मर्मत तथा निर्माण गर्ने प्राधिकरणकै कर्मचारी, घरको छतमा नांगो तारले छोइएर, स्विचमै हाइभोल्टेज पावर आएर, हुकिङ गरी बिजुली चोरी गर्दा, हाइटेन्सनमा अड्किएको लुगा निकाल्नेहरु छन् ।

प्लास्टिक सर्जनका अनुसार प्राधिकरणकै सुरक्षा व्यवस्था कमजोर भएकाले करेन्टका घटना बढी हुने गरेको देखिन्छ ।

प्राकृतिक प्रकोप एवं कमजोर पूर्वाधारका कारण ठूला दुर्घटना हुने गरेका छन् । २०७१ मंसिरमा चट्याङ परेर हाइभोल्टेज चुँडिएर वितरण लाइनमा खसेर गाउँभर हाइभोल्टेज प्रवाह हुँदा तीनको मृत्यु र ११ घाइते भएका थिए । ०७१ जेठ १५ गते धादिङ, कल्लेरीमा पोल ढल्दा एक किशोरी र ०७० असोज ७ मा धादिङमै २ जनाको ज्यान गएको थियो ।

चिकित्सकका अनुभवमा अस्पतालमा उपचारका लागि आइपुगेका घाइतेमध्ये अधिकांशको दुर्घटना बस्तीनजिक तथा सडकमाथिका नांगा तार, जाली नलगाई खुलै राखिएका हाइटेन्सन, मुख्य लाइनबाट हुकिङजस्ता कारण भएका छन् । ट्रमा सेन्टरका प्लास्टिक सर्जन डा. पीयूष दाहालका अनुसार प्राधिकरणले सुरक्षामा लापरबाही गर्दा पनि यस्ता समस्या हुने गरेका छन् ।

चिकित्सकको अनुभवमा प्राधिकरणले मर्मत कर्मचारीको सुरक्षा र तारको राम्रो व्यवस्थापन नगर्नाले नै बढी करेन्ट लागेको देखिन्छ । ‘जुन ठाउँमा नांगा तार छन्, त्यहाँ सुरक्षा अपनाइएको हुनुपर्छ,’ उनले भने ।
प्राधिकरणका अनुसार रुख ढलेर पोल भाँचिँदा, गाडीले ठक्कर दिएर पोल भाँचिँदा तथा अन्य कारण ट्रान्समिटर बिग्रन जानाले दैनिक धेरै संख्यामा मर्मतको काममा खटिने पर्ने गरेका छन् ।

जेठ ११ मा ट्रान्सफर्मरकै काम गरिरहेका बेला ४० वर्षीय हरिबहादुर बडुवाललाई करेन्ट लागेको थियो । धादिङ स्थायी घर भई प्राधिकरण, पाल्पामा कार्यरत बडुवाल स्थायी कर्मचारी हुन् । उनलाई पोलमा मर्मत गरिरहेकै बेला करेन्ट लागेको थियो । अहिले उनी कीर्तिपुर अस्पतालमा उपचार गराइरहेका छन् । गम्भीर चोट लागेकाले उनको दाहिने हात काटिएको र टाउकोमा शल्यक्रिया गरिएको उपचारमा संलग्न डा. विशाल कार्कीले बताए ।

काम गरिरहेका बेला मुख्य स्टेसनबाट एक्कासि लाइन छाडिएपछि बडुवाललाई करेन्ट लागेको पत्नी राधिकाले बताइन् । ‘पहिला लाइन बन्द थियो, काम नसकिँदै लाइन छाडिएछ,’ राधिकाले भनिन् ।
जेठ दोस्रो साता काभे्रका १७ वर्षीय विक्रम तामाङ पनि बिजुलीको नांगो तारमा परे । गत जेठमा राष्ट्रिय ट्रमा सेन्टरमै भर्ना भएका उनलाई ढलको पाइप बोकेको डोजरमाथि चढेर कार्यस्थलतिर जाँदै गर्दा माथिको नांगो तारले भेटेको थियो । ‘डोजर बिजुलीबजार पुग्दा करेन्ट लाग्यो र भुइँमा खसेछु,’ उनले भने । करेन्टले हात र घाँटी जलेको छ । उनी ढल मर्मतको काम गर्छन् ।

राष्ट्रिय ट्रमा सेन्टरका सर्जनले प्राधिकरणले आफ्नै कर्मचारीलाई राम्रो सुरक्षा व्यवस्था नदिएकाले कर्मचारी नै करेन्टको सिकार भएको ट्रमा सेन्टरका चिकित्सक डा. पीयूष दाहालको अनुभव छ ।
‘कर्मचारी नेतृत्वले मर्मत कर्मचारीलाई पटकपटक सचेत गराइरहेका भए सुरक्षा बलियो हुन्थ्यो,’ उनले भने । उनको अनुभवमा जोखिम क्षेत्रमा काम गर्ने कर्मचारीलाई सधैं सचेत बनाइराखे मात्र सुरक्षित हुन्छन् ।
क्षमताअनुसार सुरक्षा व्यवस्था अपनाइँदा पनि पर्याप्त हुन नसकेको प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराई स्विकार्छन् । सबै ठाउँलाई सुरक्षित बनाउन बढी केबल तार र अन्य सामग्री चाहिन्छ तर बजेटले नपुगेको भट्टराईले बताए । ‘सबैतिर केबुल तार राख्नुपर्छ, त्यसका लागि प्राधिकरणसँग बजेट छैन,’ उनले भने ।

मर्मत कर्मचारीका लागि प्राधिकरणले पन्जा, हेलमेटजस्ता सुरक्षा उपकरण व्यवस्था गरे पनि कतिपय अवस्थामा कर्मचारीकै लापरबाहीका कारण घटना हुने गरेको उनले दाबी गरे ।
‘कर्मचारी र उपभोक्ता आफैं पनि सचेत हुन आवश्यक छ,’ उनले भने ।

सुरक्षाका उपाय

– बिजुली मर्मतको काम गर्दा प्लास्टिक बुट र पन्जा लगाउनुपर्छ
– टाउकोमा हेल्मेट लगाउनुपर्छ ।
– आँखामा चस्माको व्यवस्था हुनुपर्छ ।
– सडकछेउ तथा हाइटेन्सन वरिपरि र तारमा प्लास्टिक जाली लगाइएको हुनुपर्छ ।  
–मर्मत गर्दा चिसो बाँसको प्रयोग गर्नुहुन्न ।

 

प्रकाशित: १ भाद्र २०७३ ०१:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App