१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

तातोपानी क्षेत्रमा विद्युत् सेवा सुचारू

चौतारा– असार २१ गतेराति भोटेकोसी नदीमा अकस्मात आएको बाढीले ट्रान्सफर्मर र पोल बगाएपछि अवरुद्ध भएको सात गाविसमा विद्युत् सुचारु भएको छ।

डिभिजन सडक कार्यालयले सडक मर्मत गरेपछि तातोपानी गाविसस्थित निर्माणाधिन सुख्खा बन्दरगाहस्थलसम्म विद्युत् सुचारु गरिएको नेपाल विद्युत् प्राधिकरण सुनकोसी केन्द्रले जनाएको छ।

जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले जिल्ला विकास समितिसँग मौज्दात रहेको आवश्यक फलामे पोल दिने भन्ने निर्णय गरे पनि नपाएपछि कार्यालयमा रहेको मौज्दात पोलबाट लाइन तानेर विद्युत् सुचारु गरिएको प्राधिकरणका वितरण प्रमुख राजिव शर्माले बताए।

बाढी कटानले ट्रान्सफर्मर तथा पोल बगाएपछि सोही बेलादेखि बाह्रबिसेमाथि रहेका गाती, मार्मिङ, मानेश्वारा, घुम्थाङ, लिस्ती र तातोपानीसहित सात गाविसमा विद्युत् अवरुद्ध भएको थियो। यसबाट मोबाइल चार्ज गर्नसमेत नपाएर त्यस क्षेत्रका बासिन्दासँग सञ्चार सम्पर्क समेत विच्छेद भएको थियो।

अझै पनि लिस्ती र तातोपानी गाविसका केही भागमा विद्युत् पुग्न बाँकी भएकोले सो स्थानमा पनि पु¥याउने प्रयास भइरहेको प्रमुख शर्माले बताए।

चीनमा आएको बाढीले अकस्मात भोटेकोसी उर्लदा त्यस क्षेत्रमा ठूलो भौतिक क्षति भएको थियो । कोदारीस्थित सीमा प्रहरी कार्यालयका प्रहरी निरीक्षक खुमलाल भुषालका अनुसार तीन साताको अवधिमा तातोपानी गाविसमा एक विद्यालयसहित पक्की र टहरा गरी ९२ र बाह्रबिसेमा पाँचसहित ९७ घरटहरा बगाएको थियो।

हाल डिभिजन सडक कार्यालय दोलखाबाट पहिरो पन्छाएर सडक खुलाउने काम भइरहेको छ । गातीको जम्बुमा नदीले काटेको ५० मिटर सडकमा डाइभर्सन गरेर सुचारु गरिएको थियो । तर नदीले कटान पुनः गरी खोलाबाटै जाली गाह्रो उठाउनुपर्ने र त्यसो गर्न नदीको बहाव बढेको हुँदा सम्भव नभएको डिई अशोक तिवारीले बताए। रासस

 

प्रकाशित: २७ श्रावण २०७३ ०९:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App