६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

महन्त जगन्नाथलाई थुनामा राख्न आदेश

विभिन्न मठमन्दिरका जग्गा आफ्नो स्वामित्वमा ल्याएर बेचेका महोत्तरीको लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्त जगन्नाथ दास वैष्णवलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। रूपन्देही जिल्ला अदालतका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले जगन्नाथलाई थुनामा राख्ने आदेश दिएको हो।

जिल्ला प्रशासन कार्यालयले रोक्का राखेको ७१ लाख रूपैयाँ किर्ते गरी झिकेको आरोपमा महन्तलाई महोत्तरीको लक्ष्मीनारायण मठबाट पुसको पहिलो साता पक्राउ गरेर अदालतमा मुद्दा दायर गरिएको थियो। जगन्नाथले मेगा बैंक रूपन्देहीमा रोक्का रहेको रकम निकाल्न जिल्ला प्रशासन कार्यालय रूपन्देहीको नक्कली लेटप्याड, छाप, फेक चलानी नम्बर र सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर पनि नक्कली प्रयोग गरेपछि किर्तेविरुद्धमा मुद्दा परेको थियो।

महन्थले रूपन्देही जिल्ला अवस्थित मेगा बैंक शाखाबाट किर्ते गरेर रकम निकालेको पाइएपछि प्रहरीले पक्राउ गरेको थियो। जगन्नाथले रूपन्देहीको सिद्धार्थ नगरपालिका–६ मा रहेको मठको जमिन बिक्री गरेका थिए। महन्तले उक्त जमिन सिद्धार्थनगर–१० का उदयमान पाण्डे र सञ्जयप्रसाद पाण्डेलाई बिक्री गरेका थिए। जिल्ला प्रशासन कार्यालय रूपन्देहीले गठन गरेको छानबिन समितिले सिद्धार्थनगर–६, भैयाटोलमा रहेको लक्ष्मीनारायण मठको कित्ता नम्बर १६५ को तीन कठ्ठा पाँच धुर बिक्री गरेको सबुद प्रमाण भेटिएपछि महन्तको नाममा रहेको प्रशासनले खाता रोक्का गरेको थियो।

मन्दिरको जग्गाजमिन र पैसा हिनामिना गरे पछि रोक्का राखेको रकम नक्कली सरकारी कागजात प्रयोग गरेर निकालेको पाइएपछि मुद्दा चलाएको जिल्ला प्रशासन कार्यालय रूपन्देहीले जनाएको छ।

सरकारी कागजात दुरूपयोग र नक्कली हस्ताक्षर गरेकाले मुद्दा दायर गरेको प्रशासलने जनाएको छ। महन्तमाथि मन्दिरको नाममा रहेको जग्गा बेच्ने गरेको समेत उजुरी छ। जगन्नाथले सरकारी जग्गा बिक्री गरेर दुरूपयोग गरेको आरोप लाग्दै आएको थियो। महन्तले जग्गा बिक्री गरेको आरोपमा बर्खास्त गरेको भए पनि अदालतले पुनर्वहाली गरेको भए पनि अन्तिम फैसला भएको छैन। रूपन्देही र धनुषा जिल्लामा लक्ष्मीनारायण, रामजानकीलगायत मन्दिरको जमिन बिक्री गरेर हिनामिना गरेको आरोप जगन्नाथमाथि छ। जगन्नाथले सिद्धार्थनगरको एक कित्ता र रूपन्देहीकै सियारी गाउँपालिका– ३ (साबिक हर्नैया गाविस–९) को १० कित्ता गरी ११ कित्ता जमिन बिक्री गरेको आरोप छ। त्यसैगरी, जनकपुर उपमहानगरपालिका–८ धनुषामा रहेको रामजानकी मन्दिरको करिब पाँच बिघा जग्गा पनि विभिन्न व्यक्तिलाई बिक्री गरेको आरोप लाग्दै आएको छ।

महन्तले जग्गा बिक्री गरेको थाहा पाए पछि गुठी संस्थानले १० जिल्लाका मालपोत तथा भूमि सुधार कार्यालयलाई पत्राचार गरी महन्त जगन्नाथका नाममा रहेको जमिन बिक्री गर्न रोक लगाएको थियो। लक्ष्मीनारायण मठमटिहानीअन्तर्गत महोत्तरी, धनुषा, रूपन्देही, सिरहा, बारा, पर्सा, रौतहट, सर्लाही, नवलपरासीमा रहेको जमिन बिक्री गर्न रोक लगाएको थियो।

पदीय आचरणविपरीत मठ–मन्दिरको जग्गा बिक्री गरेको छानबिनबाट प्रमाणित भएपछि गुठी संस्थानले महन्तलाई पदबाट बर्खास्त गरेको थियो। जगन्नाथ २०५४ सालमा लक्ष्मीनारायण मठ मटिहानीको महन्त नियुक्त भएका थिए। उनलाई रूपन्देही, महोत्तरी, धनुषा, सर्लाही, सिरहा, पर्साका मठ–मन्दिरको रेखदेख र व्यवस्थापन गर्ने जिम्मेवारी पनि दिइएको थियो। उनी रामानुज सम्प्रदायबाट महन्त भएका हुन्। मान महन्त मठ–मन्दिरको शीर्षस्थ व्यक्ति हो। महन्तले मठ–मन्दिरको जमिन संरक्षण गर्ने दायित्व भए पनि धार्मिक परम्परा र मान्यताविपरीत उनी जग्गा अनियमिततामा संलग्न हुँदै आएका छन्। मन्दिरका तत्कालीन गुरु कौशल किशोरको निधनपछि उनका चेला जगन्नाथलाई महन्त बनाइएको थियो।

जगन्नाथले मठमन्दिरका नामको जमिन आफ्ना नाममा बनाउन गुरु कौशलकिशोर दास वैष्णवलाई बाबु बनाएर नागरिकता समेत निकालेका थिए। बाबुको मृत्युपछि जग्गाजमिन स्वतः छोराका नाममा जाने भएकाले जगन्नाथले कौशलकिशोरलाई बाबु बनाएर नागरिकता बनाएका हुन्। नागरिकताअनुसार जगन्नाथको जन्मस्थान गोनपुरा गाविस वडा नं. २ र स्थानीय वासस्थान मटिहानी गाविस वडा नं. ६ उल्लेख छ। उनका बाबुको नाम देवनारायण झा भए पनि मठमन्दिरको जग्गा आफ्नो स्वामित्वमा ल्याउन जगन्नाथले नागरिकतामा बाबुको नाममा कौशलकिशोर दास वैष्णव लेखाएका छन्।  

मटिहानीको परम्पराअनुसार गुरुको मृत्युपछि उनका नामको सम्पत्ति स्वतः उत्तराधिकारी (चेला) को नाममा जान्छ। रामानु सम्प्रदायमा गृहस्थी त्यागेपछि जन्मस्थलसँगको नाता तोड्ने परम्परा भए पनि जगन्नाथले आफ्ना बाबु देवनारायण, दाजुभाइ र भतिजहरूलाई पनि गुठीको जमिन दिएको स्रोतको दाबी छ। मटिहानी मन्दिरको परम्पराअनुसार गुरुको नाममा भएको जग्गाजमिन भोगचलन गर्न पाए पनि बिक्री गर्न नपाइने गुठी संस्थानले जनाएको छ।

प्रकाशित: १ माघ २०७९ ००:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App