ललितपुर- ललितपुर, इमाडोलका आयुष भण्डारी नगरपालिकामा परिणत भएपछि आफ्नो गाउँको विकास हुनेमा ढुक्क थिए। तर नगरपालिका घोषणा भएको २ वर्ष बितिसक्दा पनि आफ्नो क्षेत्रमा विकास निर्माणका काममा सिन्को पनि नभाचिँदा उनी भन्छन्, 'सरकारले गाउँलाई नगरपालिका त बनायो तर विकास निर्र्माण भने केही भएन। करको दायरा र झन्झट मात्र थपिदिएको छ, सरकारले नगरपालिका बनाएर।'
सरकारी मापदण्ड अनुसार नगरपालिका बन्न कम्तीमा २० हजार जनसंख्या र न्यूनतम ५० लाख रुपैयाँ वार्षिक आय तथा विद्युत, सडक खानेपानी, सञ्चार र अन्य त्यस्तै न्यूनतम सुविधा भएको अर्धसहरी क्षेत्र हुनुपर्छ। तर पहाडी हिमाली क्षेत्रमा सडक सुविधा नभए पनि कम्तीमा १० हजार जनसंख्या र न्यूनतम पाँच लाख वार्षिक आय भए पुग्नेछ।
सरकारले ललितपुर जिल्लाका नगरपालिका घोषणा गर्दा ऐनले तोकेका मापदण्डको बेवास्ता गरेको पाइएको छ। घोषणाका बेला ती गाविसमा सेवा, सुविधा र विकसित देखाउने तर घोषणापछि विकास निर्माण पक्षमा सम्बन्धित निकायले चासो नदिँदा पछिल्लो समय बनेका नगरपालिकाका बासिन्दा दिक्क छन्। सरकारले विकट गाउँ नगरपालिका बनेको घोषणा गर्दा स्थानीय पनि आफ्नो टोल/गाउँको विकास हुने भयो भनेर रमाएका थिए।
तर घोषणापछि ललितपुुरका विकट नगरपालिकावासीको जीवनस्तर जहीँको तहीँ छ। उनीहरूले आफ्नो गाविस नगरपालिका भइसकेपछि कुनै सुखको अनुभूति गर्न नसकेको गुनासो गरे। सरकारले गाउँ विकास गर्ने नाममा नगरपालिका बनाए पनि ती क्षेत्रमा कुनै विकास निर्माणको लागि यथेष्ट मापदण्ड ल्याउन नसकेका कारण स्थानीयले गाविस नपा भएपपछि झनै सास्ती झेल्नुपरेको गुनासो गरे। नगरपालिकाले फोहर नउठाउनु, सडक विस्तार नगर्नु, कच्ची सडक कालोपत्रे नगर्नु, नगर क्षेत्रभित्र ढल निकासको व्यवस्था नगर्नु, फुटपाथ व्यवस्थित नगर्नुलगायत अनेकौं समस्या नगरवासीले बेहोर्दै आएका छन्।
सरकारले गतवर्ष घोषणा गरेको नगरपालिकाबाट बनेको ललितपुर, गोदावरी नगरपालिकाका स्थानीयलाई पनि आफ्नो गाउँ नगरपालिकामा मिसिएपछि गाउँ विकास हुन्छ भन्ने ठूलो आशा थियो। तर सरकारले नगरपालिका घोषणा मात्र गरेको र नगरपालिकाले गर्नुपर्ने काम गर्न नसकेको स्थानीयको गुनासो छ। आफ्नो गाउँ नगरपालिका हुँदा पनि परिवर्तनको महसुस नभएको गोदावरीका श्याम आचार्यले बताए। उनी भन्छन्, 'नगरपालिका बनेेको एक वर्ष बितिसक्दा पनि कर मात्र बढेको छ, विकास भने शुन्य छ।'
२६ हजार ६ सय ८३ हजार जनसंख्या भएको गोदावरी नगरपालिका पर्यटनको सम्भावना बोकेको स्थान हो। तर नगरपालिका भइसकेपछि पनि यस क्षेत्र जुर्मुराउन सकेको छैन। नगर क्षेत्रको विकासको लागि सम्बन्धित नगरपालिकाले कुनै चासो नदेखाएका कारण त्यसबारे स्थानीय असन्तुष्ट बनेका छन्। उक्त नगरपालिका घोषणा भएकोे एक वर्ष नाघिसक्दा पनि विकासका काम भने शून्य देखिएको छ। यस विषयमा गोदावरी नगरपालिकाका कार्यकारी अधिकृत रोमबहादुर महतले कर्मचारी अभावमा काम गर्न धौैधौ परेको बताए।
त्यस्तै, ललितपुरको महालक्ष्मी नगरपालिकावासी पनि नगरपालिकाको कामकारबाहीप्रति सन्तुष्ट छैनन्। महालक्ष्मी नगरपालिका इमाडोल घर भएकी कमला पौडेल पनि गाविसलाई नगरपालिका बनाएपछि सेवा सुविधामा कुनै परिवर्तन नभएको बताउँछिन्। उनी भन्छिन्, 'पहिला गाविस छँदा बरु यति सास्ती हुँदैनथ्यो जति अहिले नगरपालिका बन्दा सास्ती भएको छ।'
ललितपुरको ग्रामीण क्षेत्रमा पर्ने गाविस गाभिएर बनेका नगरपालिका हुन्, कार्यविनायक र बज्रबाराही नगरपालिका। यस क्षेत्रमा पनि नगरपालिका घोषणा भएपछि विकासले गति लिन सकेको छैन। स्थानीयलाई करको दायरा बढाउने र विकास नगर्ने सरकारको प्रवृत्तिले गर्दा त्यहाँका स्थानीय हैरान छन्। खासगरी स्थानीयको आयस्रोत बढाउनका लागि स्थानीयलाई विकासको बाटोे देखाउन नगरपालिकालेे नयाँ कार्ययोेजना बनाउन सकेको छैन। नगरपालिका घोषणा भइसकेपछि पनि अझै विकट अवस्थामै रहेका स्थान हुन्, विशंखुनारायण, बडिखेल, डुकुछाप र लामाटार। यी क्षेत्र पहिले गाविस थिए।
नगरपालिका घोषणाका लागि आवश्यक मापदण्ड पूरा भएपछि सरकारले यी क्षेत्रलाई करिब २ वर्ष अघिदेखि नगरपालिकामा परिणत गर्यो। तर यी क्षेत्रका स्थानीयले भने विकासको अनुभूति गर्न सकेका छैनन्। सेवाको हिसाबले हेर्ने हो भने उनीहरुलाई गाविस नगरपालिका भएपछि आफ्नोे गाउँठाउँको विकासको लागि पनि आफूहरुले नगरपालिकालाई पटकपटक गुहार्नुपर्ने गुनासो स्थानीयको छ।
विकासको काम पनि 'नःगर' भन्नाले ठाउँठाउँमा सडक बिग्रिएर स्थानीयलाई सास्ती हुँदासम्म पनि सम्बन्धित नगरपालिकाले समाधान गर्न सकेको छैन।
विकास गर्ने नाउँमा गाविसलाई टुक्राएर बनाएको नगरपालिकाले स्थानीयलाई सास्ती थपेको स्थानीयको गुनासो छ। उनीहरु नगरपालिका भएको क्षेत्रको विकास हुन नसकेको बताउँछन्। एउटा उपमहानगरपालिका र चार वटा नगरपालिका रहेको ललितपुर जिल्ला देशकै पछौटे जिल्लामा गनिन्छ।
प्रकाशित: १६ श्रावण २०७३ ०४:५७ आइतबार