९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

थामिएन बन्द विकृति

काठमाडौं- नेकपा माओवादी विप्लव समूहले सोमबार नेपाल बन्द आह्वान गर्‍यो। तर, यो बन्दका माग र कारणबारे कसैलाई थाहा भएन। नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले सामाजिक सञ्जालमा बन्दकर्ताको माग नै नबुझिएको उल्लेख गरे। भट्टराईले लेखेका छन्, 'राजनीतिक हडताल विद्यमान व्यवस्थाविरुद्ध जनअवज्ञा हो! त्यसको तात्कालिक ठोस माग हुने गर्छ! आजका बन्दकर्ताको माग के हो, बुझिएन है!'

विभिन्न बहानामा हुने बन्दहडताल रोक्नुपर्ने आवाज वर्षांैदेखि उठिरहे पनि सुनुवाइ हुन सकिरहेको छैन। सरकारले बन्दको विकृति रोक्न ठोस पहल नगर्दा सर्वसाधारणले असुविधा त भोग्नुपरेकै छ, देशले समेत ठूलो आर्थिक घाटा भोगिरहनुपरेको छ।

बन्दमा प्रहरीले देशभरबाट एकसय ३० नेता कार्यकर्ता नियन्त्रणमा लिए पनि एकाधबाहेक अन्यलाई साँझ रिहा गरेको छ। सोमबारको बन्दमा देशले विगत बन्दमा जस्तै करिब दुई अर्ब राजस्व घाटा बेहोर्नुका साथै चार निजी सवारीसाधन आगजनी र आधा दर्जनजतिमा तोडफोड भएको छ।

विप्लव समूहले नै जेठ २७ गते आह्वान गरेको बन्द र त्यसका मागका विषयबारे पनि अहिलेजस्तै अन्योल नै थियो। आफ्ना झापा जिल्ला सचिव बाबुराम राईविरुद्ध प्रहरीले थालेको कारबाहीविरुद्ध उसले जेठ १७ गतेदेखि क्रमिक आन्दोलन गर्दै आएको थियो। जेठ १७, जेठ २० र जेठ २१ सम्म जिल्ला र क्षेत्रमा बन्द–हडताल जारी राखेको समूहले जेठ २७ गते नेपाल बन्द गरेको हो। बन्दमा करिब ५ करोड रुपैयाँ बराबर भौतिक क्षति, दुई अर्बको राजस्व घाटा हुनुका साथै लाखौं सर्वसाधारणले अनाहकमा दुःख पाए। यस वर्ष मात्र विप्लव समूहले पाँच दिन बन्द गरिसकेको छ।

बन्दका पछिल्ला पाँच कार्यक्रममध्ये दुईवटामा गृह मन्त्रालयले देशभरका घटनाक्रमको फेहरिस्त पठाउँदै पुरानै शैली दोहोर्‍याउँदै आएको छ। अघिल्लो बन्दमा प्रवक्ता सहसचिव यादवप्रसाद कोइराला र यस बन्दमा सहप्रवक्ता झंकनाथ ढकालको हस्ताक्षरसहितको विज्ञप्ति आएको छ।

विरोधको कठोरस्वरूप मानिने बन्द पछिल्लो समय राजनीतिक दलबाहेकका व्यक्ति, परिवार, क्लब, संगठन र समूहका लागि समेत सजिलो हतियार भएको छ। यस वर्ष वैश्ााखयता मात्र २३ वटा बन्द र तीनवटा चक्काजामका घटना भएका छन्। गत वर्ष देशका विभिन्न स्थान र सिंगो नेपाल गरी २ सय ५७ वटा बन्द भएका थिए।

कुनै जिल्ला, मुख्य राजमार्ग र नाका बन्द गर्दा त्यसको प्रभाव केन्द्रदेखि स्थानीय बजारसम्म पर्ने गर्छ। त्यसको मूल्य राज्य र सर्वसाधारणले चुकाउनुपर्छ। बजारमा खाद्यान्न, तरकारी, फलफूल अभावसँगै महँगी बढ्नु बन्दको सबैभन्दा ठूलो असर हो।

विप्लव समूहका प्रचार विभाग सदस्य प्रज्वल श्रेष्ठ सरकारले माग सम्बोधनमा बेवास्ता गरेपछि पार्टीले प्रतिक्रियास्वरूप बन्द आह्वान गरेको बताउँछन्। उनले जेठ २७ को बन्द प्रहरी हिरासतमा रहेका कार्यकर्ताको रिहाइ र सोमबारको बन्द सुकुम्बासी समस्या समाधानका विषयमा केन्द्रित रहेको जानकारी दिए। 'प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थियौं, नसुनेपछि बन्द गर्‍यौं, माग सुनुवाइ नहुँदासम्म पार्टीले प्रतिक्रिया जनाइरहनेछ,' उनले भने।

प्रहरीले बन्दकर्तालाई बन्द सुरु हुनुअगावै पक्राउ गर्ने र बन्द सकिएपछि छाड्ने गरेको छ। प्रहरीले बन्दकर्ताविरुद्ध कारबाही अघि बढाउनेभन्दा पनि नियन्त्रणमा लिने मात्रै व्यवहार दोहोर्‍याउँदै आएको छ। नेपाल प्रहरीका प्रवक्ता डिआइजी माधव जोशी प्रहरीले घटना हुन नदिन पूर्वयोजनाअनुसार बन्द आयोजकलाई नियन्त्रणमा लिँदै आएको  बताए। उनले घटनामा संलग्नलाई प्रहरीले कडा कारबाही गरेको दाबीसमेत गरे। 'हामीले घटना रोकथाम पहिलो प्राथमिकतामा राखेका छौं, आगजनी र तोडफोडमा संलग्नलाई किन कारबाही नहुनु, गरेका छौं,' डिआइजी जोशीले भने।

प्रकाशित: ११ श्रावण २०७३ ०३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App