६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

भारतीय पक्षको अाग्रहमा कोशी ब्यारेजमा सुरक्षा सतर्कता

पूर्व-पश्चिम राजमार्गको कोशी ब्यारेज। तस्विरः अमर खड्का

इटहरी—सप्तकोशी नदीको कोशी ब्यारेज मुस्लिम अतिवादी समूहको निसानामा परेको भन्दै भारतीय पक्षले पत्र पठाएपछि सो क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। लस्करे तोइबा सहितका मुस्लिम अतिवादी समूहहरुले पूर्व—पश्चिम राजमार्गको कोशी ब्यारेजलाई निसाना बनाएको लिखित जानकारी भारतको सुपौल जिल्लाका डिएमले सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारलाई गराएपछि सुरक्षा सतर्कता बढाइएको हो।

भारतीय सुरक्षा अधिकारीले पत्र लेखेरै मुस्लिम अतिवादी समूहले कोशी ब्यारेजलाई निसाना बनाएको जनाउ दिएका हुन्।

‘भारतीय सुरक्षा अधिकारीले मुस्लिम अतिवादी समूहले महत्वपूर्ण प्रतिष्ठानलाई निसाना गरेको संकेत पाएको जनाएर त्यसमा कोशी ब्यारेज पनि पर्न सक्ने हुँदा सुरक्षा सर्तकता अपनाउन अनुरोध गरेर पत्रचार गरेका थिए। अहिले २४ सै घण्टा उच्च सुरक्षा प्रदान गर्न थालिएको छ,’ सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चागागाइँले सोमबार साँझ नागरिकन्युजसँग भने। प्रहरीले साउन ५ गतेदेखि कोशी ब्यारेजमा सुरक्षा सतर्कता बढाएको हो।

भारतीय सुरक्षा अधिकारीले मुस्लिम अतिवादी समूहले महत्वपूर्ण प्रतिष्ठानलाई निसाना गरेको संकेत पाएको जनाएर त्यसमा कोशी ब्यारेज पनि पर्न सक्ने हुँदा सुरक्षा सर्तकता अपनाउन अनुरोध गरेर पत्रचार गरेका थिए। अहिले २४ सै घण्टा उच्च सुरक्षा प्रदान गर्न थालिएको छ

भारतको सुपौल जिल्लाका डिएम बैजनाथ यादवले सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई पठाएको पत्रमा भनिएको छ, ‘मूस्लिम अतिवादी समूहका लस्करे तोइबा, जयस ए महमद र पाकिस्तान मूल इन्डियन मुजाहिद्दिनले महत्वपूर्ण प्रतिष्ठानलाई लक्ष्यित गरी निसाना बनाएकाले कोशी ब्यारेजमा पनि सुरक्षा गर्न अनुरोध छ ।’

भारतीय सुरक्षा अधिकारीले पत्रचार गरेलगतै पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समिति र जिल्ला सुरक्षा समितिको बैठक बसेर कोशी ब्यारेजको सुरक्षाका लागि सशस्त्र र जनपथ प्रहरीलाई खटाइएको छ। कोशी ब्यारेजका सुरक्षा लागि सशस्त्र प्रहरीको हरिपुरमा पोष्ट बाहेक थप ११ जना प्रहरी खटाइएको छ। ब्यारेजको निगरानी गर्ने सशस्त्रको हरिपुर पोष्टमा रहेका ५० प्रहरी छन्। ‘कोशी ब्यारेजको सुरक्षाका लागि हरिपुर पोष्टमा भएका र पछिल्लो समय ११ थप गरिएको  छ। उनीहरुले कोशी ब्यारेजलाई सुरक्षा दिँदै आएका छन्,’ सशस्त्र एक प्रहरी अधिृकतले भने।

सशस्त्र प्रहरीको हरिपुर पोष्ट र कोशी ब्यारेज झन्डै दुई किलोमिटर दुरीमा पर्छ।

एक सातायता सप्तकोसी नदीमा पानीको बहाव निरन्तर बढ्दो छ। पानीको बहाव बढ्दा पूर्वी तटबन्ध क्षेत्रका बासिन्दा चिन्तित छन्। यहीबेला मूस्लिम अतिवादी समूहको निसानामा कोशी ब्यारेज परेको खबरले सर्वसाधारण त्रास छाएको छ।

कोशी व्यारेजमा नौ लाख ५० हजार क्युसेक पानी भारवहन क्षमता छ। व्यारेज  भन्दा माथिल्लो भागमा बालुवा थुप्रिएका कारण थोरै पानीको बहावमा पनि खतरा हुने गर्छ। यही बेला  मूस्लिम समूहको निसानाले गर्दा अहिले स्थानीय प्रशासनले कोशी ब्यारेज भएर आउजाउ गर्ने सवारी साधन चेकजाँचमा कडाई, कोशी ब्यारेज छेउछाउ माछा मार्न र दाउरा निकाल्न पूर्ण प्रतिबन्ध लगाएको छ।

२०६५ भदौ २ गते सप्तकोसी पूर्वी तटबन्ध भत्काँउदै धार परिवर्तन गरेकोेमा तीन महिनाको निरन्तर प्रयासपछि पुरानै धारमा फर्काइएको थियो। तत्कालिन समयमा पूर्वका मेची र कोशी अञ्चलको सम्पर्क देशका अरु भागसँग पुरै टुटेको थियो। पूर्व पश्चिम राजमार्ग अवरुद्ध बनेपछि यात्रुहरुले डुंगाको जोखिमपुर्ण यात्रा गर्नु परेको थियो। डुङ्गामा यात्रा गर्दा थुप्रैले ज्यान समेत गुमाउनुपरेको थियो।
 

प्रकाशित: १० श्रावण २०७३ १४:०२ सोमबार

भारतीय पक्षको अाग्रहमा कोशी ब्यारेजमा सुरक्षा सतर्कता