९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

सरकारले विदेशी पाहुनालाई राख्न ‘स्विट’ भवन बनाउने

काठमाडौँ- नेपाल ट्रष्ट कार्यालयले नेपाल भ्रमण आउने अतिविशिष्ट पाहुनालाई राख्न भवन (स्विट) निर्माण गर्ने प्रस्ताव अघि सारेको छ।

नेपाली मौलिक कला र संस्कृतिअनुसार अत्याधुनिक सुविधा सम्पन्न २५ वटा भवन निर्माण गर्ने प्रस्ताव कार्यालयले सरकारसमक्ष राखेको छ । यस्ता भवन आफ्नै जग्गामा निर्माण गर्न सरकारसमक्ष प्रस्ताव अघि सारेको ट्रष्टका सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा असार ३१ गते शुक्रबार बसेको नेपाल ट्रष्ट सञ्चालक समितिको ३९ औं बोर्ड बैठकमा ट्रष्टले यस्तो प्रस्ताव अघि सारेको उनले जानकारी दिए।

समितिका अध्यक्ष उपप्रधानमन्त्री एवम् गृहमन्त्री भीम रावलको अध्यक्षतामा बसेको सो बैठकले ट्रष्टका नाममा आएका जग्गा, जमिन तथा भवन भाडामा लगाउने, नेपाल भ्रमण आउने अतिविशिष्ट पाहुना राख्न भवन (स्विट) निर्माणलगायतका एजेन्डालाई अनुमोदन गरेको थियो।

हाल ट्रष्टले पूर्व राजपरिवारका नाममा रहेका करिब २५ हजार ६०० रोपनी जग्गा आफ्नो नाममा ल्याएको छ। व्यापारिक उपयोग देखिएका जग्गालाई ट्रष्टले भाडामा दिन सुरुवात् गरिसकेको सचिव उपाध्यायले बताए।

सो अवसरमा प्रधानमन्त्री ओलीलाई सचिव उपाध्यायले आव २०७०/७१ र २०७१/७२ को ट्रष्टको वार्षिक प्रतिवेदन बुझाएका थिए।

ट्रष्टको ऐनअनुसार ट्रष्टले वार्षिक प्रतिवेदन प्रमसमक्ष बुझाउने र प्रमले संसद्समक्ष प्रस्तुत गर्ने प्रावधान रहेको छ। ट्रष्टको सञ्चालक समितिको ४०औँ बैठक यही साउन ३ गते बस्ने बताइएको छ। रासस

 

प्रकाशित: १ श्रावण २०७३ १२:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App