५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

तालिम निर्देशिका पारित

काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणमा आवश्यक पर्ने जनशक्तिलाई तालिम दिन तालिम सञ्चालन तथा व्यवस्थापन निर्देशिका पारित गरेको छ।

भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण र पुनःस्थापना गर्न आवश्यक पर्ने जनशक्ति विकासका लागि तालिम सञ्चालन गर्न निर्देशिका पारित गरिएको प्राधिकरण प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए। प्राधिकरणका अनुसार उपक्षेत्रीय र जिल्लास्थित आयोजना कार्यान्वयन इकाइले उक्त निर्देशिकाको अधिनमा रहेर दीर्घकालीन, अल्पकालीन र मझौला खालका तालिम सञ्चालन गर्नेछन्। प्राधिकरणले केही दिनअघि सार्वजनिक गरेको तत्कालीन कार्यविधिअनुसार आगामी कात्तिकसम्म ३० हजार निर्माणकर्मीलाई निजी अवास निर्माणसम्बन्धी तालिम उपलव्ध गराउने उल्लेख छ।

निर्देशिकामा कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र निकायले आफ्नो स्रोतबाट पुनर्निर्माण वा पुनःस्थापना गर्न चाहेमा प्राधिकरण र माताहत कार्यालयबाट अनुमति लिनुपर्नेछ। तर, यसअघिनै प्राधिकरणसँग सम्झौता गरिसकेका संस्थाले भने अनुमति लिनुपर्ने छैन। तालिम दिने संघ–संस्थाको नियमित सुपरीवेक्षण, अनुगमन एवं मूल्यांकनको काम प्राधिकरण, उपक्षेत्रीय र जिल्ला आयोजना कार्यान्वयन इकाइले गर्नेछन्।

पुनर्निर्माणमा दक्ष जनशक्ति खटाउनका लागि तालिमसम्बन्धी कार्यविधि जारी गरिएको प्रवक्ता थपलियाले जानकारी दिए। उनका अनुसार पुनःस्थापनासम्बन्धी दक्ष व्यक्ति उत्पादन गर्ने खालको तालिम हुनुपर्ने र तालिम दिँदा एकल महिला, विपन्न र सीमान्तकृत वर्गलाई प्राथमिकता दिनुपर्नेछ। पुनर्निर्माणसम्बन्धी तालिम सञ्चालन गर्दा प्राधिकरणबाट स्वीकृत पाठ्यक्रमबमोजिम हुनुपर्ने थपलियाले जानकारी दिए। जसअनुसार पाठ्यक्रम निर्धारण र सिफारिस गर्न प्राधिकरणले एक समितिसमेत गठन गर्नेछ।

तालिम दिन अनुमति लिएका संघ–संस्थाले सम्झौताअनुसार काम नगरेको खण्डमा वा तोकिएको स्तर, मापदण्ड पूरा नगरी तालिम दिएमा अनुमति खारेज गर्नसक्ने व्यवस्था निर्देशिकामा छ।

प्रकाशित: २३ असार २०७३ ०२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App