१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

लयमा फर्कदै वन्यजन्तुको पुस्तौंनी बाटो

मोहना–लालझाडी–शुक्लाफाँटाबाट ब्रह्मदेव करिडोरको बगर तथा तटीय क्षेत्रमा संरक्षणपश्चात् देखिएको हरियाली। तस्बिर: पुष्पराज/नागरिक<br>

नेसनल पार्कमै फर्कने हात्तीको पुस्तौंनी बाटो हो। यही बाटो भएर वर्षौंदेखि हात्ती नेपाल र भारततर्फबाट जंगलमा आउने गर्छन्, तर पछिल्ला वर्षहरूमा कञ्चनपुरको डोकेबजार, लालझाडीका केही स्थानका साथै ब्रह्मदेव करिडोर अतिक्रमण परेका कारण सो क्षेत्रमा हात्ती आतंक बढ्दो छ।

यस्तै भारतको दुधुवा नेसनल पार्कबाटै मोहना–लालझाडी–शुक्लाफाँटा हुँदै ब्रह्मदेवसम्म पाटे बाघको विचरण गर्न ओहोरदोहोर गर्ने पुस्तौंनी बाटो हो। वन्यजन्तु यही बाटो प्रयोग गर्दै नेपालको मोहना–लालझाडी–शुक्लाफाँटा–ब्रह्मदेव करिडोरसम्म पुग्छन्। लालझाडी पुरानो र घना बोटबिरुवा भएको ठूलो जंगल हो।

यहाँ वन्यजन्तु वासस्थानका लागि सुरक्षित मानिनुका साथै उनीहरूको आहारका लागि प्रशस्त सम्भावना (वन्यजन्तु तथा घाँसपात) पाइन्छ। यही भएर पनि भारतको दुधुवा नेसनल पार्कबाट वन्यजन्तु मोहना हुँदै लालझाडी आउजाउ गर्नुका साथै त्यहाँबाट शुक्लाफाँटा–ब्रह्मदेवसम्म पुग्ने गर्छन्।

केही वर्षदेखि हात्ती तथा बाघको हिँड्ने पुस्तौंनी बाटो अतिक्रमणको चपेटमा परेका कारण वन्यजन्तु र मानवबीच द्वन्द्व बढ्दै गएको छ। मानव र वन्यजन्तुको द्वन्द्वका कारण मानवीय क्षति हुनुका साथै वन्यजन्तुको सिकार हुने गरेको छ। तर पछिल्लो समयमा लोपोन्मुख वन्यजन्तु जोगाउनुका साथै संरक्षणका प्रयास पनि हुन थालेका छन्।

नेपालतर्फको सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा वन्यजन्तुलाई आवागमन सहज होस् भनेर करिडोर (अन्तर्राष्ट्रिय जैविक मार्ग) मा बसोबास गर्नेलाई जनचेतना जगाउनुका साथै अतिक्रमित जमिनमा वृक्षरोपण तथा संरक्षण गरेर हरियाली बनाइएको छ।

हात्ती तथा पाटेबाघ मोहना–लालझाडी–शुक्लाफाँटा हुँदै ब्रह्मदेव करिडोर जाने बाटोका रूपमा रहेको कञ्चनपुरको वेदकोट नगरपालिका-१, रडाहा गाउँमा पुस्तौंनी बाटो अतिक्रमणमा परेको थियो। बाटो अतिक्रमणमा परेपछि वर्षौंदेखि हात्तीले दुःख दिने गरेको बताउँदै चुरे संरक्षण सञ्जाल कञ्चनपुरका अध्यक्ष रवीन्द्रबहादुर कुँवरले भने, ‘यही बाटो भएर पुस्तौंदेखि हात्ती ओहोरदोहोर गरिरहन्थे। उनीहरूको बाटो मिचिएपछि बाटोमा पर्ने घर भत्काइदिने तथा अन्नपात नष्ट गर्दै आएका थिए।’

यो क्षेत्रमा मानव र हात्तीबीच द्वन्द्व मच्चिन थालेपछि स्थानीय राधा नदी किनारको ९ हेक्टर क्षेत्रफलको जमिन संरक्षण गरी हरियाली बनाइएको छ। ‘हात्ती तथा अन्य वन्यजन्तुलाई शुक्लाफाँटाबाट ब्रह्मदेव करिडोरमा आउजाउ गर्न सहजता होस् भनेरै राधा नदी किनारको जमिनमा संरक्षण गरेरै हरियाली बनाइएको छ’, उनले भने, ‘मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरण प्रयासका लागि तराई भू–परिधि कार्यक्रममार्फत सहयोग गरेको छ।’

वेदकोट नगरपालिकाको रडाहादेखि ब्रह्मदेवसम्मका चुरे क्षेत्रसँग जोडिएका २३ वटा सामुदायिक वनमा आफूहरूले काम गरिरहेको बताउँदै चुरे संरक्षण सञ्जालका अध्यक्ष कुँवरले भने, ‘हामीले शुक्लाफाँटादेखि ब्रह्मदेवसम्मको करिडोरमा पर्ने सामुदायिक वनमा वन्जयन्तुको पुस्तौंनी बाटोलाई संरक्षण गर्नुका साथै उनीहरूलाई सहजै पानी पिउनका लागि वन क्षेत्रभित्र पानीका मुहान संरक्षण तथा तलाउ निर्माण पनि गरेका छौं।’

वन्यजन्तु हिँड्ने बाटोलाई खोलाले बगर बनाएपछि त्यही बगरलाई स्थानीय प्रयासले जंगलका रूपमा परिणत भएको छ। वेदकोट– ६, मुसेपानीस्थित भम्केश्वर सामुदायिक वन समूहले बगर संरक्षण गरेर हरियाली बनाएको हो। ‘शुक्लाफाँटा–ब्रह्मदेव करिडोरको सहायक मार्गका रूपमा रहेको मुसेपानीस्थित खोला किनारलाई संरक्षण गरेर पुनरुत्पादन गरिएको छ’, भम्केश्वर सामुदायिक वन उपभोक्ता समूहका सचिव डम्मरसिंह साउदले भने, ‘तटीय क्षेत्र तथा खाली जमिनलाई संरक्षण गरेर हरियाली भएपश्चात् अहिले यो क्षेत्र भएर ब्रह्मदेव करिडोरमा पाटेबाघ, चितुवा, चित्तल, मृग, निलगाई, बँदेल आउजाउ गर्न थालेका छन्।’

अन्तर्राष्ट्रिय जैविक मार्गमा वन्यजन्तुलाई नेपाल–भारत आउजाउ गर्न सहज होस् र मानव तथा वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न डोकेबजारस्थित अमर गोकुल सामुदायिक वनले उपभोक्तालाई जडीबुटी खेतीतर्फ आकर्षित गरेको छ। ‘वन्यजन्तुको हिँडडुल गर्ने बाटोमै रहेको बस्तीमा किसानलाई सास्ती नहोस् र मानव तथा वन्यजन्तुबीचको द्वन्द्व कम होस् भनेरै हामी किसानले जडीबुटी खेती गर्दै आएका छौं’, जडीबुटी कृषि सहकारीका अध्यक्ष मानबहादुर चौधरीले भने, ‘हामीले वन्यजन्तुलाई सहजता होस् भनेरै उपभोक्ता खेतीपाती छाडेर जडीबुटीमा गनिने क्यामोमाइल, मेन्था र लेमन ग्रास खेती गर्न हौस्याएका छौं।’

यी जडीबुटीमा वन्यजन्तुले क्षति नगर्ने भएकाले मानव र वन्यजन्तुबीचको द्वन्द्व कम भई स्थानीय वन्यजन्तु संरक्षणमा लागेको उनले बताए। ‘हामीले वन्यजन्तुलाई आवतजावतमा सहजता होस् भनेरै जडीबुटीमा आकर्षण बढाएका छौं’, उनले भने।

यस्तै लालझाडी जंगलमा पर्ने सिद्धबाबा सामुदायिक वन उपभोक्ता समूहले बाह्रै महिना वन्यजन्तुलाई पानी पिउनका लागि स्रोत व्यवस्थापन भन्दै माकुरी ताल संरक्षण गरेका छन्। अहिले माकुरी तालमा बाह्रै महिना पानी रहन्छ भने दुधुवा नेसनल पार्क–लालझाडी–शुक्लाफाँटा ओहोरदोहोर गर्दा त्यही माकुरी तालमा वन्यजन्तु पानी पिउने गर्छन्।

प्रदेश वन निर्देशनालय धनगढीका प्रमुख कृष्णदत्त भट्टले अन्तर्राष्ट्रिय करिडोरका रूपमा रहेको मोहना–लालझाडी–शुक्लाफाँटा–ब्रह्मदेव क्षेत्रमा सामुदायिक वन, राष्ट्रिय वनमा डिभिजन वन कार्यालयका साथै प्रकृति संरक्षणमा संलग्न संघसंस्थाले संरक्षणका प्रयास गरिरहेको बताए। उनले भने, ‘उजाड भएको ठाउँ तथा तटीय क्षेत्रमा हराभरा जंगल बनाइएको छ।’

प्रकाशित: ७ पुस २०७९ ०३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App