९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

पार्कको राजस्वमा हाकिमको रजाइँ

काठमाडौं–काठमाडौं महानगरपालिकाअन्तर्गत सञ्चालित शंखपार्कको आम्दानी पार्कका कार्यालय प्रमुखले आफूखुसी प्रयोग गर्ने गरेको पाइएको छ । पार्कबाट उठ्ने राजस्व बुझेकै दिन महानगरमा बुझाउनुपर्ने भए पनि कार्यालय प्रमुख महेश भण्डारीले लामो समय ब्याजमा लगाई फाइदा लिएर महिनौंपछि बुझाउने गरेका हुन् ।

कामपाले जनाएअनुसार रसिद काटेको २४ घन्टाभित्र महानगरको खातामा राजस्व जम्मा गर्नुपर्छ तर भण्डारीले भने ६ महिनाको राजस्व एकैपटक बुझाउने गरेको स्रोतको दाबी छ । ‘पार्कबाट हुने आम्दानी प्रत्येक महिना बुझ्ने गरेका छन्,’ स्रोतले नागरिकसँग भन्यो, ‘उनले आम्दानी समयमै नबुझाई ब्याजमा लगाएर खाने गरेको लामै समय भइसक्यो ।’

पार्कको मुख्य आम्दानी स्रोत सार्वजनिक शौचालय हो । २०६४ सालमा बनेको शौचालय मासिक ५५ सय रुपैयाँमा ठेक्का दिइएको छ । ठेकेदार कम्पनीले प्रत्येक महिना पार्क कार्यालयमा शुल्क बुझाइरहेकै छ । कार्यालय प्रमुखकै हस्ताक्षरमा बुझिएको उक्त राजस्व कामपामा भने महिनौंपछि पुग्ने गरेको हो । स्रोतले उपलब्ध गराएको कागजपत्रमा पछिल्लोचोटि भण्डारीले महानगरलाई जनवरी १४ मा  एकैपटक ३३ हजार बुझाएको देखिन्छ । उक्त रकम शौचालयबाट आउने आम्दानीको ६ महिनाबराबरको राजस्व हो ।महानगर राजस्व विभागले जनाएअनुसार उक्त शौचालय पार्कको नियमित आम्दानीको स्रोत हो । त्यसै गरी वनभोज तथा सुटिङबापत पनि पार्कले निश्चित शुल्क लिने गरेको छ ।

‘राजस्व अपचलन भएको कुरा कार्यालयमा पनि आएको छ तर अहिल्यै अपचलन भएको हो, होइन यकिन गर्न मिल्दैन,’ महानगर राजस्व विभागप्रमुख महेश काफ्लेले भने, ‘हामीले अनुसन्धान थालिसकेका छौं, सम्बन्धित व्यक्तिलाई शुक्रबारसम्म आवश्यक कागजपत्र ल्याउन भनेका छौं ।’ काफ्लेका अनुसार रसिद काटेर रकम लिइएको २४ घन्टामा नबुझाए राजस्व अपचलन भएको मानिन्छ । ‘राजस्व अपचलन भएको पाइए ब्याज भुक्तानीसहित आवश्यक कारबाही गरिनेछ,’ उनले भने ।

महानगरसँगको मिलेमतोमा कागजपत्र मिलाएर प्रकरण सामसुम पार्न सकिने सम्भावना पनि स्रोतले औंल्याएको छ ।  पार्क प्रमुख भण्डारी भने राजस्व अपचलन गरेको आरोप स्विकार्न तयार छैनन् । ‘मेरी आमा लामो समय बिरामी भएपछि केही अगाडि बित्नुभयो, म शोकमा परेँ,’ उनले भने, ‘शौचालयको आम्दानी नियमित नै बुझाएको छु तर बैंकबाट स्टेटमेन्ट लिन भने भुलेको रहेछु ।’ भण्डारीले महानगरले मागेअनुसार कागजपत्र तथा बैंकबाट स्टेटमेन्टसमेत ल्याएर बुझाइसकेको बताए । व्यक्तिगत रिसइबीका कारण आफूमाथि गम्भीर आरोप लगाइएको दाबी गर्दै उनले भने, ‘ब्याजमा लगाएर कमाउने मेरो नियति होइन ।’

स्रोत भने भण्डारीले शौचालयको आम्दानी मात्रै नभएर पार्कका अन्य विषयमा समेत आर्थिक हिनामिना गर्ने गरेको दाबी गर्छ । ‘पार्कमा आवश्यक बोटबिरुवा, तिनका लागि औषधि, भिटामिनलगायत सामग्री खरिदमा पनि हिनामिना हुन्छ,’ स्रोतले भन्यो, ‘घाँस काट्ने मेसिन एक हप्ताअगाडि मात्रै पार्क पुगेको छ तर मेसिनका लागि आवश्यक इन्धन भने महिनौंअघिदेखि हाकिमले बुझ्ने गरेका छन् ।’

 

प्रकाशित: १७ असार २०७३ ०२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App