१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बादी समुदायका युवतीहरुको पीडाः सरकारले शिक्षामा विभेद गर्दा यौन व्यवसाय अँगाल्न बाध्य छौँ

बादी समुदायका युवतीहरुले आफ्नो समुदायका लागि सरकारी तवरबाट छुट्टै कोटाको व्यवस्थापन गरिदिन आग्रह गरेका छन्।

सोमबार बादी समुदायका युवतीहरुले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै पिछडीएको वर्गले अर्को पिछडीएको वर्गसँग भिडिरहनुपरेको भन्दै बादी समुदायलाई छुट्टै कोटाको व्यवस्था सरकारले गरिदिनुपर्नेमा जोड दिएका हुन्।

उनीहरुले संविधानमा लेखिएका कुराहरु कागजमा मात्रै सिमित हुँदा बादी समुदायलाई झनै पीडा थपिएका महशुस आफूले गरेको बताए। बादी समुदायबाट पहिलो पटक उच्च शिक्षा हासिल गरेका बादी युवतीहरुले सरकारले बादी युवतीहरुको शिक्षामा विभेद गरेका कारण बादी युवतीहरु बाध्यात्मक यौन व्यवसाय अँगाल्न बाध्य भएको बताए। कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग बोल्दै बादी समुदायबाट पहिलो पटक व्यापारमा स्नातकोत्तर गरीरहेकी देवीसरा बादीले बादी समुदायलाई शिक्षामा विभेद गरिँदा बादी युवतीहरु बाध्यात्मक यौन व्यवसाय अँगाल्न बाध्य भएको बताइन्।

उनले पहिला अशिक्षाका कारण यौन व्यवसायमा लाग्ने गरेको भएपनि पछिल्लो समय सरकार सहयोगी नबन्दा यौन व्यवसायमा लागिरहेको बताइन्। उनले बादी समुदायका महिलाहरु घर खर्च धान्नका लागि भएपनि सानै उमेरबाट यौन व्यवसायमा लाग्ने गरेको बताइन्। उनले आमाको नाममा नागरीकता बन्ने कानून बनेपनि बुबाको पहिचान खोज्दा हजारांै बादी युवाहरुले दुःख व्यहोरिरहेको बताइन्। तीन तहकै सरकार बादी समुदायका समस्याप्रति उदासिन बनेका कारण बादी समुदायका समस्या जस्ताको तस्तै भएको उनको भनाइ छ। 

प्रकाशित: ४ पुस २०७९ १३:२२ सोमबार

बादी समुदाय