५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

वृद्धालाई फकाउँदै, गरगहना र पैसा चोर्दै

वृद्धालाई ठगेको आरोपमा पक्राउ परेकी महिला। तस्बिरः कास्की प्रहरी

वृद्धा महिलालाई अनेक तरिकाले फकाएर घरका गरगहना र नगद चोरी गर्ने एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ। कास्की प्रहरीका अनुसार पर्वतको मोदी गाउँपालिका–६ घर भई हाल पोखरा महानगरपालिका–४ गणेशटोल बस्ने टीका श्रेष्ठ (३४) लाई प्रहरीले चोरीका सामान सहित पक्राउ गरेको हो।  

कास्की प्रहरीका सूचना अधिकारी प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काका अनुसार श्रेष्ठलाई गत बुधबार पक्राउ गरिएको हो। श्रेष्ठले पोखराका विभिन्न ठाउँमा वृद्धा महिलाको घरमा जाने र परिवारका अन्य सदस्य नभएको मौका पारी ललाईफकाई गरेर सुनका गहना र नगद चोरी गर्दै आएकी थिईन।  

‘वृद्धाहरुले घाँटी तथा कानमा लगाएको गहना र घर कोठामा राखेको गहना र नगद रुपैयाँ चोरि गर्दै आएको उजुरी पछि पक्राउ गरेका हौ,’ खड्काले भने, ‘अपरिचित ती महिलाले चोरी गर्ने क्रममा वृद्धाहरुलाई कुनै न कुनै बहानामा भुलाउने गरेकी रहिछन्।’ चोरी गर्ने क्रममा महिलाले कतिपयलाई नक्कली गहना लगाइदिएर सक्कली लिएर जाने गरेको पनि खुलेको छ। ‘घर सफा गरिदिने निहुँमा बहाना बनाएर चोरी गरेको खुलेको छ,’ उनले भने।  

प्रहरी निरिक्षक खड्काका अनुसार अहिलेसम्म वृद्धालाई फकाएर गरगहना र नगद चोरी भएको भन्दै नौजनाले प्रहरीमा उजुरी दिएका छन्। उजुरी दिने सबै वृद्धाले अपरिचित महिला घर आएको र बहाना बनाएर आफ्ना सामान चोेरेको बताएका छन्। प्रहरीमा उजुरी दिनेमा दुइजना बाहेक सबै महिला ७० वर्ष उमेर माथिका छन् । ९० वर्षसम्म उमेरका महिलाले पनि चोरी भएको भनेर प्रहरीमा उजुरी दिएका छन्।  

‘पाँचमहिना अवधिमा भएका चोरीका घटना हुन। यी घटना फरक प्रकृतिका र ठाउँका छन्। वृद्धाहरुलाई फकाएर कुनै न कुनै बहानामा उनीहरुको धनमाल चोरिएको रहेछ,’  खड्काले भने। ती महिलाले फरक फरक ठाउँमा वृद्धाहरुलाई छक्काएर घरभित्र पस्ने र भुलाएर चोर्ने गरेको उनले बताए। ‘घरमा अलि जान्ने बुझ्ने मान्छे भएमा नपस्ने, नत्र वृद्धवृद्धा मात्र भएमा कुनै न कुनै बहानामा नजिक भएर बस्ने, गफ गर्दै जाने र  उनीहरुका गरगहना र पैसा नै लिएर गएको देखिएको छ,’ उनले भने।

ती महिलाले सबैभन्दा बढी एकैजनाको आठलाख रुपैयाँ बराबरको धनमाल चोरी गरेकी थिईन। प्रहरीको पक्राउ परेकी श्रेष्ठको साथबाट चोरी भएको मध्येको सुनको पोते सहितको तिलहरी १ थान, औंठी १ थान र कानमा लगाउने फुली १ जोर फेला पारेको छ। त्यस्तै सुन जस्तो देखिने सिक्री, बाला, औंठी, मोबाईल लगायतको धातुका गहना पनि फेला पारेको छ। चोरी गर्दा लगाएको कपडा पनि प्रहरीले फेला पारेको छ।  

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको विशेष अनुसन्धान टोलीले श्रेष्ठलाई फक्राउ गरेको हो। श्रेष्ठलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँचदिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरीले बताएको छ।

प्रहरीले सोही प्रकृतिको चोरीका घटनाबाट अरु कोही ठगिएको भए प्रहरीमा जानकारी दिन पनि भनेको छ। यस किसिमको चोरी अपराध हुन नदिनको लागि आमसर्वसाधारण मानिसलाई समेत सचेत हुन प्रहरीको भनाई छ।  

प्रकाशित: १ पुस २०७९ ०८:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App