१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

कालिकोट बम विस्फोटबारे सरकारलाई इन्सेकको सुझाव: घटनाका पीडितलाई राहत उपलब्ध गराऊ

तिलागुफा नगरपालिका– १० स्थित रानावाडामा दुई बालिकाको ज्यान जाने गरी कात्तिक १२ मा भएको बम विस्फोट घटनाका पीडित परिवारलाई राहत र घाइतेलाई उपचार खर्च उपलब्ध गराउन इन्सेकले सरकारलाई सुझाव दिएको छ।

इन्सेक, मानवअधिकार रक्षक जिल्ला सञ्जाल कालिकोट र पत्रकारहरूको सहभागितामा मंगलबार जिल्ला सदरमुकाम मान्ममा आयोजित कार्यक्रममा प्रतिवेदन सार्वजनिक गरिएको हो। घटनाबारेमा कात्तिक २५ र २६ गते घाइतेहरूको अवस्थाका विषयमा इन्सेकले कात्तिक २५ र २६ गते स्थलगत अनुगमन गरी अभिभावकसँग भेटघाटसमेत गरेको थियो। संकलन टोलीको प्रतिवेदनमा स्थानीय प्रशासनले घाइते बालबालिकाको उचित उपचार, राहत, उच्च शिक्षा, रोजगार तथा क्षतिपूर्तिका लागि तत्काल यथोचित कदम चाल्न तीनै तहका सरकारलाई सुझाव दिएको छ।

प्रतिवेदनमा घटनामा मृत्यु भएकाको परिवारलाई राहत र घाइतेको उपचारका लागि जिल्ला सुरक्षा समितिले तत्काल कदम चाल्नुपर्ने सुझाव दिएको छ।

साथै कार्यालयले यस्ता घटना दोहोरिन सक्ने भएकाले प्रहरी प्रशासन, संघसंस्था, नागरिक समाज, स्थानीय सरकारले विस्फोटक पदार्थबाट हुने नोक्सानी, भेटिन सक्ने सम्भावित स्थलमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, घटनाका घाइते बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा उपलब्ध गराउनुपर्ने सुझाव छ।

नेपाल सरकारले द्वन्द्वकालीन समयमा बढी प्रयोग गरिएका स्थानमा बेवारिसे बम फेला पर्न सक्ने सम्भावना भएकाले देशव्यापीरूपमा खोजी अभियान पुनः सञ्चालन गर्नुपर्ने, बाल अधिकारसम्बन्धी महासन्धि १९८९, नेपालको संविधान, बालबालिकासम्बन्धी राष्ट्रिय नीति, २०६९ ले बालबालिकालाई प्रदान गरेका विशेष अधिकार र संरक्षणको जिम्मेवारी तीनै तहका सरकारले लिनुपर्नेसमेत प्रतिवेदनले सुझाव दिएको छ। माओवादी र सरकारबीच ०५२ फागुन १ बाट चलेको १० वर्ष लामो सशस्त्र द्वन्द्व अन्त्य भएको १६ वर्ष भइसक्दा पनि समयसमयमा विस्फोटका घटना हुनुलाई द्वन्द्वको अवशेषका रूपमा लिइएको छ।

सो घटनामा परी तीन वर्षीया झरना थापाको घटनास्थलमै मृत्यु भएको थियो भने पाँच वर्षीया सरस्वती रानाको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको थियो। घटनामा घाइते चारजनालाई उपचारका लागि हेलिकोप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पु¥याइएको थियो। घाइते आठ वर्षीय कमल थापा, तीन वर्षीया दर्शना राना र पाँच वर्षीय मुस्कान थापा प्रदेश अस्पतालमा उपचारपश्चात् मंसिर १३ मा डिस्चार्ज भएका छन्।

कात्तिक १२ गते बिहान ८ बजेको समयमा बेवारिसे अवस्थामा फालिएको बम केटाकेटीले खेलौना ठानी खेलाउँदा विस्फोट भएको थियो। घटनाको विस्तृत प्रतिवेदन इन्सेक कर्णाली प्रदेश कार्यालयले यसअघि मंसिर १६ मा कर्णाली प्रदेश कार्यालयले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको इन्सेक कालिकोट जिल्ला प्रतिनिधि कालीबहादुर मल्लले बताए।

बेवारिसे अवस्थामा राखिएका विस्फोटक पदार्थको प्रभावकारी रूपमा निष्क्रिय नहुँदा यस्ता घटना प्रत्येक वर्ष हुने गरेको इन्सेक कर्णाली प्रदेश कार्यालय संयोजक नारायण सुवेदीले बताए।

घाइतेको तत्कालीन उपचार खर्च तिलागुफा नगरपालिकाले व्यहोरेको भए पनि मृतकका परिवारले हालसम्म राहत तथा क्षतिपूर्ति नपाएको प्रतिवेदनमा उल्लेख छ। यसैगरी मृतक तथा घाइतेका परिवारको आर्थिक अवस्था कमजोर रहेकाले घाइते बालबालिकाको उपचारमा सरकारी तथा गैरसरकारी निकायबाट नियमित सहयोग गर्नुपर्ने अध्ययन प्रतिवेदनबाट देखिएको छ। राष्ट्रिय मानव अधिकार आयोगका प्रदेश प्रमुख लोकनाथ बास्तोलाले मृतक तथा घाइतेका परिवारको अवस्था कमजोर रहेकाले विभेद नहुने गरी राहत दिलाउन केन्द्र सरकारसँग पहल गर्नेसमेत प्रतिबद्धता जनाएका छन्।

प्रकाशित: २१ मंसिर २०७९ ०२:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App