२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

पत्रकार नेपाल माथि गरिएको प्रतिबन्ध अपराध हो: अध्यक्ष पोख्रेल

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले महासंघका पूर्व अध्यक्ष किशोर नेपालले प्रयोग गर्दै आएका सबै सामाजिक सञ्जालका माध्यम तथा एनसेल मोबाइल बन्द गरिदिएर अभिव्यक्ति स्वतन्त्रतालाई संकुचनमा पारिएको बताएका छन्।

नागरिकसंग कुराकानी गर्दै पोख्रेलले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्नका लागि विभिन्न प्रविधिको प्रयोग हुँदै आएकोमा पूर्व अध्यक्ष नेपालको हकमा पनि उनको अभिव्यक्ति स्वतन्त्रता संकुचनमा पार्ने मनसायले यो कार्य भएको बताए। ‘अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्ने सन्दर्भमा विभिन्न प्रयोग पछिल्लो समय हुँदै आएको छ,’ उनले भने ‘किशोर दाईको हकमा गरिएको घटना निकै खेदजनक छ, उहाँको अभिव्यक्ति स्वतन्त्रता माथि गरिएको प्रतिवन्ध एक प्रकारको अपराध नै हो।’ 

यो अपराधलाई राज्यले रोक्न सक्नु पर्ने भन्दै अभिव्यक्ति स्वतन्त्रताको पक्षमा राज्यलाई गम्भीर बन्न उनले सुझाव दिए। ‘प्राविधिक त्रुटीका कारण समस्या भएको हुन सक्ने व्याख्या गर्न सकिएला तर सेवा प्रदायक निकायलाई पटक पटक आग्रह गर्दा समेत वास्ता नगरिनु/समस्या समाधान नहुनु यो पनि अपराधै हो,’ उनले भने ‘यदि प्राविधिक त्रुटि नै हो भने पनि यति लामो समय सम्म किन रह्यो भन्ने प्रश्न गम्भिर हो।’ उनले सेवा प्रदायक निकाय समक्ष गुनासो गर्दा समेत पनि समस्या समाधान हुन नसक्नुको पछाडी पनि आशंका रहेको भन्दै राज्यले यसको पनि छानविन गर्नुपर्ने बताए।

अध्यक्ष पोख्रेलले नेपालका सबै सामाजिक सञ्जालका माध्यम तथा एनसेल मोवाइल बन्द गरिनु उनका धारणाहरुबाट झस्केकाहरुको प्रपञ्च भएको आशंका गरे। ‘नेपालले जुन खालका खरो टिप्पणी, आलोचना गर्दै आउनु भयो, उहाँका यस्ता धारणाहरुबाट झस्केकाहरुले यस्तो प्रपञ्च गरेको हुन सक्ने नेपाल स्वयंले आशंका गर्नुभएको छ,’ पोख्रेलले भने ‘हामीलाई पनि उहाँले भनेजस्तै उहाँका खरो टिप्पणी तथा आलोचनाबाट झस्केकाहरुको प्रपञ्च हो भनेर आशंका गर्ने प्रशस्त ठाउँ मिलेको छ, हामीले यसलाई नकार्ने ठाउँ छैन।’

यसबारे गम्भीर छानविन गरेर नेपाललाई अभिव्यक्ति स्वतन्त्रताको सम्पूर्ण अधिकार प्रयोग गर्ने वातावरण बनाउन राज्य संग आग्रह गरे। साथै यस्ता खाले प्रयत्नहरु आगामी दिनमा हुन नदिन पनि राज्य गम्भिर बन्नु पर्ने उनको भनाइ छ। ‘नेपालको अभिव्यक्ति स्वतन्त्रताको सम्पूर्ण अधिकार प्रयोग गर्ने वातावरण राज्यले यथाशक्य चाँडो मिलाउनु पर्छ, र यस्ता खालका प्रवृत्तिहरु आगामी दिन हुन नदिन पनि राज्य गम्भीर बन्नु पर्छ,’ उनले भने ‘यसका साथै सेवा प्रदायक संस्थाहरु पनि हरेक उपभोक्ता प्रति इमान्दार  बन्नु पर्छ।’

यसैबीच नेपाल पत्रकार महासंघले पनि यो घटना प्रति आपत्ति जनाउँदै विज्ञप्ती जारी गरेको छ।

प्रकाशित: १४ मंसिर २०७९ १२:१२ बुधबार

विपुल पोख्रेल