बाँकेको क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ। खजुरास्थित कपास विकास समितिको हलमा बिहान साढें ८ बजेबाट मतगणना सुरु भएको हो। क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले महिले मतगणना जारी रहेको बताए। गणनाको सुरुवातमा बैजनाथ गाउँपालिका वडा नम्बर २ को मतपेटिका खोलिएको छ।
मतगणना स्थलमा सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधी, उम्मेदवार, सञ्चारकर्मी लगायतको बाक्लो उपस्थिती रहेको छ। उक्त क्षेत्रमा नेपाली काँग्रेसका केन्द्रिय सहमहामन्त्री किशोरसिंह राठौंर चुनाव लडेकाले निकै महत्वका साथ हेरिएको छ। यहाँ काँग्रेस नेता राठौंर र एमालेका किस्मतकुमार कक्षपतिबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
यस्तै क्षेत्र नम्बर २ मा मतगणनाका लागि भर्खरै सर्बदलिय बैठक सम्पन्न भएको छ। बैठक सम्पन्न भएसँगै मतगणना गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए। स्थानीय भेरी प्राविधिक शिक्षालयमा मत गणना स्थल राखिएको छ।
यसैगरी क्षेत्र नम्बर १ मा मत गणना गर्नका लागि अझै सर्बदलिय बैठक बसेको छैन। बैठक बस्ने तयारी भइरहेको निर्वाचन अधिकृत यामनारायण बासकोटाले जानकारी दिए। केहीबेरपछि सर्बदलिय बैठक डाकिएको उनले बताए। बाँकेको अगैयास्थित राप्ती सोनारी गाउँपालिका कार्यालयको सभाहलमा मतगणना गरिदैछ।
प्रकाशित: ५ मंसिर २०७९ ०५:०१ सोमबार